Edukhabar
विहीबार, ०८ असोज २०८३
गतिविधि

पठनपाठन निरन्तर राख्न अस्थायी सिकाइ केन्द्र स्थापना

पहिले विद्यालय भएकै ठाउँमा सिकाइ केन्द्र स्थापना गर्न कठिन, सुरक्षित स्थान खोजी गर्नका लागि स्थानीय तह र विद्यालयलाई अनुरोध

विहीबार, ०८ असोज २०८३

भक्तपुर - रसुवामा आएको हिमाली सुनामीका कारण क्षती पुगेका नुवाकोट र धादिङका विद्यालयमा ५२ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएका छन् । बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन यस्ता केन्द्रहरु निर्माण गरिएको नेपाल शिक्षा समूहले जनाएको छ । 

विपद्का बेला द्रुत एवं एकिकृत रुपमा काम गर्न शिक्षा विभागको नेतृत्वमा रहेको समूहमा शिक्षा क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु आवद्ध छन् । यीनै संस्थाहरु मध्ये सह संयोजकका रुपमा रहेको यूनिसेफले नुवाकोट र धादिङमा ४८ वटा र सेभ दि चिल्ड्रेनले नुवाकोटमा चार वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेका हुन् ।  पहिले विद्यालय भएकै ठाउँमा यस्ता केन्द्रहरु स्थापना गर्न कठिन भएको भन्दै समूहले सुरक्षित स्थान खोजी गर्नका लागि स्थानीय तह र विद्यालयलाई अनुरोध गरेको जनाएको छ । 

बाढीका कारण बन्द भएका छ वटा विद्यालयहरु सञ्चालनमा आईसकेको र नुवाकोटको त्रिभुवन त्रिशुली मावि गत सोमबार देखि अस्थायी संरचनामा शुरु भएको छ । बाढीले पुरेका विद्यालयहरुबाट भग्नावशेष हटाउने क्रम जारी रहेको छ । नुवाकोटको रणभुवनेश्वरी मावि, क्षेत्रपाल आधारभूत विद्यालय, सुलक्षणा माविका १३ वटा कक्षा कोठा, भैरुम माविका ९ वटा कक्षा कोठा र त्रिशुली आविमा सरसफाई एवं किटाणुशोधन गरिएको समूहले जनाएको छ । धादिङ्का चार सय तीन, नुवाकोटका एक सय १८ र रसुवाका ३० बालबालिकलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग उपलब्ध गराईएको छ । धादिङको गल्छी गाउँपालिकाका १० विद्यालयका ३० शिक्षकलाई पुर्नलाभ तथा द्रुत सिकाइ तालिम पनि उपलब्ध गराईएको छ ।  

बालबालिका, शिक्षक र विद्यालयहरुलाई दुई हजार छ सय ९८ वटा प्रारम्भिक बालविकास तथा शिक्षा किट उपलब्ध गराईएको समूहले जनाएको छ । विद्यालयहरुमा शौचालय निर्माण, स्वास्थ्य सामग्री वितरणका कामहरु पनि जारी रहेको समूहले जनाएको छ । 

उक्त बाढीका कारण तीन जिल्लाका ५० सामुदायिक, ११ निजी र दुई धार्मिक विद्यालय प्रभावित भएका थिए । यी विद्यालयमा अध्ययन गर्ने १४ हजार चार सय ५५ विद्यार्थी छन् । बाढीका कारण तीन जिल्लाका २३ विद्यालयमा भौतिक क्षती पुगेको छ । जस मध्ये धादिङका आठ, नुवाकोटका ११ र रसुवाका चार विद्यालय छन् । यी मध्ये पनि १२ विद्यालय पूर्ण रुपमा क्षती भएका छन् भने ११ विद्यालयमा आँशिक क्षती पुगेको छ । यी दुबै वर्गका विद्यालयहरुमा सात हजार दुई सय ४० विद्यार्थी अध्ययनरत थिए ।  

फोटोमा समेटिएको बाढी : एआई

प्रतिक्रिया