Edukhabar
शनिबार, २७ भदौ २०८३
गतिविधि

एउटा विद्यालयबाट शुरु छलफललाई मेयरको साथ, पालिकाको अपनत्व

बालबालिकाको पठनपाठनका लागि छात्रवृत्ति कोष खडा गर्ने र त्यसमा नगरपालिकाले २५ लाख रुपैंया राख्ने निर्णय, नगर प्रमुखकै अध्यक्षतामा समिति गठन

शनिबार, २७ भदौ २०८३

काठमाडौ - रसुवामा आएको ‘हिमाली सुनामी’बाट आहत नागरिकलाई देशैभरीबाट राहत संकलन शुरु भईरहेको थियो ।  मानिसहरु आआफ्नो गच्छे अनुसार राहत संकलन र वितरणमा जुटिरहेका थिए । नगद दिन चाहने व्यक्ति र संस्थाहरुले सरकारद्वारा सार्वजनिक गरिएको छुट्टै क्यूआर कोड मार्फत् रकम प्रदान गर्ने क्रम शुरु भईरहेको थियो । 

बाढीको कहरका त्रासदीपूर्ण समाचार आईरहेका थिए । कागेश्वरी मनोहरा नगरपालिका – १, गागलफेदीमा रहेको सिद्धि गणेश माध्यमिक विद्यालय परिवार पनि केही सहयोग गर्न सकिन्छ की भनेर अनौपचारिक छलफलमा जुटिरहेको थियो । 

तत्कालका लागि आवश्यक खाद्यान्न र लत्ता कपडाको सहयोग जुटिरहेको देखिएकै थियो । यो तत्कालको राहत भन्दा जटिल विषयमा विद्यालय परिवारको ध्यान गयो । 

बाढीबाट अभिभावक नै गुमाएर एक्लो परेका कलिला बालबालिकाको अबको पढाईका बारेमा कसले सोच्छ ? 

कसरी हुन्छ उनीहरुको पढाई ? 

उनीहरुको गास, बास र कपासको जोहो सहित पढाई निरन्तर राख्ने उपाय के होला ? 

नसुल्झिएका यस्तै यस्तै प्रश्नहरु सहित व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापाले सार्वजनिक शिक्षा क्षेत्रमा कृयाशिल एवं आफू निकटका केही व्यक्तिहरुसँग छुट्टा छुट्टै छलफल गरे । बाढीबाट अभिभावक नै गुमाएर अनाथ भएका बालबालिकाको शिक्षामा सहयोग त गर्ने, तर कसरी ? 

विभिन्न व्यक्तिसँगको छलफल पछि एउटा निचोड निस्कियोः बाढीबाट अभिभावक गुमाएका कमसेकम ६ जना बालबालिकालाई खाना, आवास र शैक्षिक सामग्री सहित सम्पूर्ण खर्चको जिम्मा लिएर कक्षा १२ सम्म पढाउने जिम्मा विद्यालयले नै लिने । 

केही न केही नयाँ अभ्यास गर्दै विद्यालयलाई अब्बल बनाएका थापाको जाँगर देखेकाहरुले उनलाई हौस्याई दिएः सामुदायिक विद्यालय भनेकै समुदायसँग प्रत्यक्ष जोडिने संस्था हो, गजप आईडिया ! 

यत्तिको हौसला बोकेर विद्यालय छिरेका थापाले सबै भन्दा पहिला यो परिकल्पना प्रधानाध्यापक रोशन अधिकारीलाई सुनाए । विद्यालयमा तत्काल उपस्थित केही शिक्षकहरु र व्यवस्थापन समितिका केही सदस्यलाई पनि सुनाए । 

एक महिना हैन, एक बर्ष हैन लगातार कक्षा १२ सम्म कसरी पढाउन सकिन्छ ? 

आफ्नै छोराछोरीले त नटेरेर हैरान बनाउँछन् अर्कै परिवेशमा हुर्केका, अर्कैका सन्तानलाई कसरी पाल्न सकिएला ? 

खर्चको जोहो कसरी गर्ने ?

यो त पढाउने मात्रै हैन, बर्षौ सम्म पाल्ने कुरो पो हो त !

खान, बस्न, कापी किताब, औषधी उपचार, एक जना बच्चालाई महिनाको कति खर्च लाग्छ ? 

स्वभाविक हो, संशय र प्रश्नहरु सँगसंगै थिए । 

व्यवस्थापन समिति र शिक्षकहरु सहित अलिक फराकिलो घेरामा छलफल गर्ने तय भयो । यस बिचमा थापाले खर्चको एकसरो हिसाब निकाले ।

छ जना बालबालिकालाई यो तरिकाले राख्दा एक जनाका लागि महिनाको न्यूनतम ५५ हजार रुपैंया लाग्ने देखियो । चार जनालाई मात्रै राख्दा एक जनाको लागि महिनाको न्यूनतम ४० हजार रुपैंयाको जोहो गर्नु पर्ने देखियो । 

हिसाब किताबको फेरहिस्त सहित बाढीको १० दिन पछि गत भदौ २० गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो । 

siddhi_ganesh_meeting
भदौ २० गते विद्यालयमा बसेको बैठक

विभिन्न विकास निर्माणका लागि आएको बजेटमा मितव्ययिता अपनाउँदै जोगाएको, दाता एवं अभिभावकहरुले दिएका सहयोग जस्ता विभिन्न शिर्षकबाट गरी विद्यालयको खातामा रहेको २० लाख रुपैंयाको कोष खडा गर्ने बैठकले माईन्युटको मस्यौदा तयार पार्यो

परेको बेलामा खर्च नगर्ने सम्पत्तीको के काम ? यही रकमले अध्यक्ष थापा र प्रधानाध्यापक अधिकारीलाई अलिकती आँट दिईरहेको थियो । 

सोही बैठकमा सहभागी सल्लाहकार समितिका सदस्य विश्वराज श्रेष्ठ र कृष्णप्रसाद आर्यालले आफूहरुले एक एक जना विद्यार्थीका लागि लाग्ने खर्चको जिम्मा लिने प्रतिवद्धता जनाए ! यसले झन् उर्जा थप्यो । सहायक प्रधानाध्यापक सरोज धिताल र प्रधानाध्यापक अधिकारीले पनि गच्छे अनुसारको सहयोग गर्ने बचन दिए । बैठकमा उपस्थितहरुबाट एक एक गर्दै बोल कबोल नै शुरु भए पछि हौसला थप बढ्यो । 

समाजका लब्ध प्रतिष्ठित व्यक्ति, व्यापारी, शिक्षा क्षेत्रका कृयाशिल व्यक्ति र संस्था सबैसँग आग्रह गर्दा थप श्रोत जुट्ने सम्भावना बलियो देखियो ।  श्रोतको एकसरो जोगाड भए पछि छात्रवृत्ति कोष सञ्चालन र बालबालिकाको रेखदेख एवं व्यवस्थापन गर्न एउटा समिति बनाउने तय भयो । उक्त समिति गठन र सञ्चालनका लागि कार्यविधि बनाउने पनि बैठकले तय गर्यो । 

विद्यालयको बहाल रहेको वि.व्य.स, शिक्षक अभिभावक संघ का पदाधिकारीहरु र विद्यालयका शिक्षक तथा कर्मचारी बाहेकका व्यक्तिहरु मध्येबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष रहने गरी १० सदस्यीय समिति बनाउने निर्णयको मस्यौदा तयार भयो । विद्यालयको प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको व्यक्ति सदस्य सचिव राख्ने पनि तय भयो । वि.व्य.स.अध्यक्ष वा निजले तोकेको तीन जना पदेन सदस्य हुने, आवश्यकताको आधारमा सरोकारवाला तथा विज्ञहरुलाई आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न सकिने निर्णय पनि माईन्युटमा लेखियो ।  उक्त बैठकले समितिमा स्थानीय तहको शिक्षा शाखा प्रमुख वा निजले तोकेको व्यक्ति र महिला तथा बालबालिका शाखा प्रमुख वा निजले तोकेको व्यक्ति पदेन सदस्य हुने तय गर्यो । 

उक्त समितिमा नगरपालिकाको प्रतिनिधि पनि राख्ने र कोषमा केही रकम राख्न नगरपालिकालाई पनि अनुरोध गर्ने विषयमा छलफल भए पछि  बल्ल थापा झल्याँस्स भए ! 

हो त, यत्रो कामको परिकल्पना गर्ने, तर स्थानीय सरकारका जनप्रतिनिधिलाई थाहै नदिनु त ठिक भएन ! 

विद्यालयले गरेका हरेक राम्रा काममा साथ दिदैं आएका नगर प्रमुख उपेन्द्र कार्कीलाई उनले बैठक चलिरहँदा बाहिर निस्केर फोन गरे ।

विद्यालयको परिकल्पना सुनाए । आफूहरुले गर्न लागेको निर्णयका बारेमा अवगत गराए । 

सार्वजनिक शिक्षा र सामुदायिक विद्यालयले गरेको सफल अभ्यास प्रति सँधै सकारात्मक कार्कीले फोनमै भनिदिए : ज्यादै राम्रो परिकल्पना गर्नु भएछ, आजै औपचारिक निर्णय नगर्नुस्, नगरपालिका पनि यसमा साथ छ । सँगै बसेर निर्णय गरौंला । 

मेयरकै साथ र स्थानीय सरकारले नै अपनत्व लिने भए पछि यो परिकल्पना अझै बृहत्तर दायरामा स्थापित हुने देखियो । मेयर कार्कीकै सुझाव अनुसार तयार माईन्युट यसै थन्क्याईयो, कसैले हस्ताक्षर गरेनन्, अर्थात् त्यो दिन कुनै औपचारिक निर्णय भएन ।  

त्यस यताका झण्डै एक साता मेयर कार्कीले घनिभूत छलफल गरे । पालिका, विद्यालय र सरोकारवालाहरु बिच विभिन्न चरणका छलफल भए । सरोकारवालाहरु सहितको छलफल पछि शुक्रबार नगरपालिकाले एउटा निर्णय गर्यो : रसुवा बाढीमा अभिभावक गुमाएका वा आश्रय नभएका बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाले आवास सहितको निःशुल्क शिक्षा प्रदान गर्ने । शुक्रबार बसेको नगरपालिकाको बैठकले कम्तिमा १२ कक्षा सम्मको पठनपाठनको जिम्मेवारी लिने निर्णय गरेको नगरप्रमुख कार्कीले एडुखबरलाई जानकारी दिए । पालिका भित्र रहेका विभिन्न बालआश्रम र अनाथालयहरुमा आवासको प्रवन्ध गर्ने र पठनपाठनको जिम्मेवारी सिद्धि गणेश लगायतका पालिका भित्रका विभिन्न विद्यालयलाई दिने गरी छलफल भएको उनले बताए । पालिका भित्र रहेका दुई दर्जन मध्ये व्यवस्थित रुपमा सञ्चालनमा रहेका ७ – ८ वटा जति बालआश्रममा तत्कालै बालबालिका राख्न सकिने अवस्था देखिएको उनले बताए । 

‘यहीँ बसेर पढ्न चाहन्छन् भने यहीँ ल्याएर खाना बस्नको प्रवन्ध गरेरै  पढाउने, कतै आफ्ना संरक्षकहरुसँग बसेर पढ्न चाहन्छन् तर आर्थिक श्रोतको कमी भयो भने पनि सहयोग गर्ने गरी कार्यविधि बनाउँदै छौं’ कार्कीले भने ‘बाढीका कारण अनाथ भएका बालबालिकाहरुलाई प्राथमिकता दिएर सहयोग गर्ने नगरपालिकाको योजना हो ।’  

बालबालिकाको पठनपाठनका लागि एउटा छात्रवृत्ति कोष खडा गर्ने र त्यसमा नगरपालिकाले पहिलो चरणमा २५ लाख रुपैंया राख्ने निर्णय भएको नगर प्रमुख उपेन्द्र कार्कीले बताए ।

त्यस्ता बालबालिकाहरुलाई सहयोग गर्न नगर प्रमुख कार्कीको अध्यक्षतामा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सेवेदी, शिक्षा र महिला तथा बालबालिका शाखाका प्रतिनिधि, दुई जना वडाध्यक्ष, बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका सात जना प्रतिनिधि, निजी विद्यालयका संगठनहरुका प्रतिनिधि र नगर शिक्षा समितिबाट सिद्धि गणेश मावि व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा सहितको समिति निर्माण गरिएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी महिला तथा बालबालिका शाखालाई तोकिएको छ । 

उक्त समितिले तयार पार्ने कार्यविधिको मस्यौदा माथि आउँदो बुधबार बस्ने बैठकले थप छलफल गरेर पारित गर्ने त्यस बिचमा बालबालिका छनोटका लागि सम्बन्धित स्थानीय सरकारहरुसँग आवश्यक पत्राचारको औपचारिकता पुरा गर्ने योजना रहेको कार्कीले बताए । 

‘सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा नै बालबालिका छनोट गर्ने हो’ उनले भने ‘यस प्रकृयाका लागि नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयहरुसँग पनि समन्वय गरेर बालबालिका छनोट गरिने छ ।’  

बालबालिकाको पठनपाठनका लागि एउटा छात्रवृत्ति कोष खडा गर्ने र त्यसमा नगरपालिकाले पहिलो चरणमा २५ लाख रुपैंया राख्ने निर्णय भएको कार्कीले बताए । कोषमा सहयोग गर्न चाहने व्यक्ति, शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था, नागरिक समाजलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो अभियानको परिकल्पना गरेको सिद्धि गणेशले पनि आफूसँग भएको रकम मध्ये केही रकम नगरपालिकाले खडा गर्ने यही कोषमा राख्ने सोच बनाएको थापाले बताए । 

प्रतिक्रिया