काठमाडौ - सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ सुधारमा अपनाईने दक्षता र क्षमताको आधारमा हरेक बर्ष हुने शिक्षकको प्रतिष्पर्धामा यस बर्ष मधेस प्रदेशको प्रतिनिधित्व भएन । पी पी प्रसाईं फाउण्डेशनले हरेक बर्ष गर्दै आएको उत्कृष्ट शिक्षक छनोटको प्रतिष्पर्धामा मधेसबाट पर्याप्त आवेदन नपरेकाले प्रतिनिधित्व नभएको फाउण्डेशनले जनाएको छ ।
विज्ञहरु मार्फत् तयार पारिएको विभिन्न सूचकाङ्क सहितको आवेदन फारम भरेर शिक्षकहरुलाई प्रतिष्पर्धामा भाग लिन सार्वजनिक आह्वान गरिएको थियो । तर, तोकिएको अवधिमा मधेसबाट जम्मा चार वटा आवेदन प्राप्त भएको थियो ।
'यस वर्ष मधेस प्रदेशबाट उल्लेख्य रूपमा आवेदन नपरेकाले शिक्षक छनोट स्थगित गरिएको छ' फाउण्डेशनले भनेको छ ।
'म योग्य शिक्षक हुँ, पुरस्कारका लागि योग्य छु भन्ने आत्म मूल्याँकनको कमीले पुरस्कारको प्रतिस्पर्धामा भाग लिने आत्मविश्वास पो नभएको हो की !'
प्राप्त आवेदनहरुले सूचकाङ्ले तोकेको न्यूनतम स्तर समेत पार गर्न नसक्दा मधेसबाट प्रतिनिधित्व नभएको छनोट समितिका संयोजक धनञ्जय शर्माले बताए । सार्वजनिक सूचनाबाट मात्रै नभई शिक्षामा काम गर्ने विभिन्न संघ संस्था एवं व्यक्तिगत चिनजानका माध्यमबाट समेत शिक्षकहरुलाई प्रतिष्पर्धामा भाग लिन आग्रह गरिए पनि मधेसका शिक्षकहरुले चासो नदेखाएको उनले बताए ।
'तीन बर्ष अघि पनि मधेसबाट प्रतिनिधित्व भएको थिएन, यस बर्ष फेरी सोही अवस्था भयो' उनले भने 'म योग्य शिक्षक हुँ, पुरस्कारका लागि योग्य छु भन्ने आत्म मूल्याँकनको कमीले पुरस्कारको प्रतिस्पर्धामा भाग लिने आत्मविश्वास पो नभएको हो की !'
विद्यार्थीको सिकाइ, शिक्षकले कक्षा कोठामा प्रर्दशन गर्ने दक्षता, समुदाय प्रतिको जिम्मेवारी वोध, कमजोर सिकाइ भएका विद्यार्थीको सिकाइ सुधार गर्न शिक्षकले अपनाउने उपाय, सिकाइमा सूचना प्रविधिको उपयोग, तालिममा प्राप्त सीपको कक्षा कोठामा प्रयोग जस्ता विभिन्न सूचकाङ्कको प्रश्नावली सहित तोकिएको फारम भरेर शिक्षकले प्रतिष्पर्धामा भाग लिन सक्छन् । यस बर्ष कूल ९२ आवेदन परेको थियो ।
शिक्षकले बुझाएको फारमलाई विज्ञहरु सम्मिलित टोलीले मूल्याँकन गरी अँक दिन्छन् । सय अँकमा उक्त फारमलाई मार्किङ् गरिन्छ । त्यसका आधारमा औसत अँक निकालिन्छ । औसतमा अगाडि भएका शिक्षकहरुको अन्तर्वार्ता लिएर अन्तिम सूची प्रकाशन गरिन्छ । अन्तर्वार्ताको २५ अँक निर्धारण गरिएको शर्माले बताए । कूल एक सय २५ पूर्णाङ्कका आधारमा बढि अँक प्राप्त गर्ने शिक्षक उत्कृष्ट छनोट हुन्छन् ।
शर्मा संयोजकत्वको छनोट समितिमा शिक्षाकर्मी टीका भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी स्वस्तिका श्रेष्ठ र शिक्षा पत्रकार रोश्ना सुब्बा सदस्य थिए ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा कृयाशिल शिक्षकलाई प्रोत्साहन गर्न विगत १३ बर्ष देखि फाउण्डेशनले पुरस्कार प्रदान गर्दै आएको छ ।
यस बर्ष कोशी प्रदेशबाट ईलामको चुलाचुली गाउँपालिका स्थित जनता माविका शिक्षक खगेन्द्र निरौला, बागमतीबाट काभ्रेको नमोवुद्ध नगरपालिकाको जनक माध्यमिक विद्यालयका* शिक्षक युवराज भट्टराई, गण्डकीको नवलपरासी पुर्व, गैंडाकोट नगरपालिका स्थित जनक मोडल माध्यमिक विद्यालयका शिक्षक मनोज विक्रम विष्ट र लुम्बिनीको बर्दिया स्थित बारबर्दिया नगरपालिकाको युवक माविका शिक्षक नरेश कुमार चौधरी उत्कृष्ट भएका छन् । यस्तै कर्णालीको सुर्खेत स्थित त्रिपुरेश्वर माविका शिक्षक लोकेन्द्र चन्द र सुदुर पश्चिमको कञ्चनपुर स्थित सिद्धनाथ अमर माविका शिक्षक अञ्जुकुमारी उपाध्याय उत्कृष्ट भएका छन् ।
उनीहरुले प्रमाणपत्र सहित जनही ५० हजार रुपैंया प्राप्त गरेका छन् ।
यस्तै, सुधारमा प्रयत्नशील विद्यालयहरुलाई प्रोत्साहन हुने गरी प्रदान गरिने पुरस्कारबाट यस बर्ष बैतडीको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन आधारभूत विद्यालयलाई एक लाख रुपैंया नगद सहित पुरस्कृत गरिएको छ । कूल एक सय ६४ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा एक सय ३९ जना दलित समूदायका बालबालिका अध्ययन गर्छन् । शनिबार आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले विद्यालयका प्रधानाध्यापक सुरेश राम सार्किलाई उक्त पुरस्कार प्रदान गरे ।
'पहिला विद्यालयहरु समुदायले जिम्मा लिएर चलाउँथ्यो, तर, पछि विद्यालयहरु राज्यले चलाउन थाले पछि सामुदायिक विद्यालयको स्तर खस्कियो'
शिक्षक तथा विद्यालयहरुलाई पुरस्कार प्रदान गरे पछि कार्यक्रमलाई सम्बोधन गर्दै यादवले पुरस्कारको प्रतिष्पर्धामा मधेसबाट सहभागिता नभएकोमा चिन्ता व्यक्त गरे । कुनै समय देशभरका विद्यालयका गणित र विज्ञानका शिक्षक मधेसकै हुने अवस्था स्मरण गर्दै उनले अहिले मधेसका शिक्षक प्रतिष्पर्धामै नआउनु चिन्ताजनक रहेको बताए ।
'पहिला विद्यालयहरु समुदायले जिम्मा लिएर चलाउँथ्यो, तर, पछि विद्यालयहरु राज्यले चलाउन थाले पछि सामुदायिक विद्यालयको स्तर खस्कियो' उनले भने ।
पुरस्कृत शिक्षकले अध्यापन गराउने विद्यालयलाई फाउण्डेशनले १० हजार रुपैंया बराबरको शैक्षिक सामग्री समेत प्रदान गरेको छ ।
प्रख्यात पर्यटन व्यवसायी तथा नटराज टुर्स एण्ड ट्राभल्सका संस्थापक प्रजापति प्रसाईको स्मरणमा उनको परिवारद्वारा फाउण्डेनको स्थापना गरिएको हो । २०५६ भदौ २० गते पोखराबाट काठमाडौँ फर्कने क्रममा भएको नेकोन एयरको विमान दुर्घटनामा परी प्रसाईंको निधन भएको थियो । समाजमा उनले दिएको योगदानलाई चिरस्थायी राख्न परिवारद्वारा स्थापना गरिएको फाउण्डेशनले उत्कृष्ट शिक्षक, विद्यालय र पर्यटन क्षेत्रका व्यक्तित्वहरूलाई वार्षिक रूपमा पुरस्कृत गर्दै आएको छ । यस बर्ष पर्यटनतर्फ थाम सेर्कु ट्रेकिङका संस्थापक तथा अध्यक्ष लाक्पा सोनाम शेर्पालाई पी पी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो ।
थामसेर्कु नेपालको पुरानो पदयात्रा तथा पर्वतारोहण एजेन्सी हो । जसले लामो समयदेखि विदेशी तथा स्वदेशी पर्यटकहरूलाई हिमाली पदयात्रा र एक्सपिडिसन सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईंले सामुदायिक विद्यालयका शिक्षकलाई प्रोत्साहन गर्दा बालबालिकाको सिकाइमा योगदान हुने अपेक्षा सहित कार्यक्रम गर्दै आएको बताए । अहिले सम्म ७० बढि शिक्षक, तीन विद्यालय र नौ जना पर्यटन व्यवसायीलाई फाउण्डेशनले पुरस्कृत एवं सम्मान गरेको छ । २०८० सालबाट शिक्षकको क्षमता वृद्धि गर्न शुरु तालिमबाट दुई सय शिक्षक लाभान्वित भएको पनि उनले बताए । यो कामलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने फाउण्डेसनको योजना रहेको उनले बताए ।
कार्यक्रम शुरु गर्नु अघि, गत भदौ १० गते भएको भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली सहित शोक व्यक्त गरिएको थियो । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
* सच्याईएको - सं.
प्रतिक्रिया