भक्तपुर - विद्यार्थी संख्याको विवरणमा हुँदै आएको 'भद्रगोल' व्यवस्थित गर्न शिक्षा विभागले विद्यार्थीको सत्यापन गर्ने भएको छ । विद्यालय तहका विद्यार्थीको यकिन विवरण राख्न झण्डै तीन दशक अघि शुरु गरिएको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईमिस) मै 'भद्रगोल' भए पछि विभागले व्यवस्थित गर्न लागेको हो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको यकिन विवरण राख्न विभिन्न दातृ संस्थाहरुको सहयोगमा झण्डै तीन दशक अघि सरकारले यो प्रणाली शुरु गरेको थियो ।
तर, प्रणालीमा नै 'भद्रगोल' देखिए पछि विभागले विद्यार्थीको सत्यापन गर्न सबै सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ । शुक्रबार गरिएको परिपत्रमा विभिन्न सञ्चार माध्यम तथा अन्य माध्यमबाट गुनासा र उजुरीहरु प्राप्त भएको उल्लेख गर्दै विभागले विद्यालयका वास्तविक विद्यार्थीको विवरण असोज मसान्त सम्ममा अद्यावधिक गर्न भनेको छ ।
विद्यालयको कक्षा कोठामा उपस्थित विद्यार्थी र ईमिसमा भएको कक्षागत विद्यार्थी विवरण फरक रहेमा विद्यालयमा नियमित अध्यपनरत विद्यार्थीको मात्र विवरण कायम राखी अन्य विद्यार्थीलाई विद्यालयमा नभएको उल्लेख गर्न भनिएको छ । यसैगरी विद्यालयमा नियमित उपस्थित रहेका विद्यार्थीको अभिलेख ईमिसमा नरहेको भए त्यस्ता विद्यार्थीको अभिलेख अद्यावधिक गर्न पनि परिपत्रमा भनिएको छ ।
यही प्रणालीमा प्रविष्ट भएका विद्यार्थी संख्याका आधारमा सरकारले छात्रवृत्ति, पोशाक, पाठ्यपुस्तक, खाजा लगायतको प्रति विद्यार्थी लागत अनुदान खर्च उपलब्ध गराउँदै आएको छ । ईमिस डाटा भेरिफिकेशन गर्ने भनेर विभागले विशेष कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । तर, यो प्रणालीमा धेरै नै त्रुटि रहेको विभिन्न अध्ययनले देखाएको छ ।
गत बर्ष एडुखबरले गरेको अध्ययनले विद्यालयहरुको ईमिस प्रणालीमा गम्भिर त्रुटि फेला परेको थियो । उक्त अध्ययनको तथ्याङ्क विश्लेषण गर्दा पहाडी क्षेत्रको तुलनामा मधेसका विद्यालयमा ईमिस प्रणालीमा दोब्बर त्रुटि रहेको तथ्य फेला परेको थियो ।
ईमिस प्रणालीमा देखिएका सामान्य त्रुटिलाई मात्रै सच्याउने हो भने पनि कूल शिक्षा बजेटको १० देखि १२ प्रतिशत सम्म रकम तत्काल जोगिने उक्त अध्ययनले देखाएको छ ।
उक्त अध्ययनका क्रममा ईमिस प्रणालीका विषयलाई विभिन्न ८ उपशिर्षकमा केन्द्रित गरिएको थियो ।

उक्त अध्ययनमा फेला परेको तथ्य अनुसार २० प्रतिशत विद्यार्थीको नाम ईमिसमा दोहोरिएको छ । ईमिसमा नाम भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थी सबै भन्दा धेरै २६ प्रतिशत रहेको उक्त अध्ययनले फेला पारेको थियो ।
विद्यालयमा विद्यार्थी भए पनि ईमिसमा नाम प्रविष्ट नगरेका १३ प्रतिशत र हाजिरी कापीमा नाम भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थी चार प्रतिशत फेला परेका थिए । यसैगरी ईमिसमा नाम नभएका तर, हाजिरी कापीमा नाम लेखिएका भए पनि त्यस्ता विद्यार्थी अरु नै विद्यालय वा टाढाका जिल्लामा गएको विद्यालयले दावी गरेको पनि उक्त अध्ययनले फेला पारेको थियो । यस्ता विद्यार्थीको संख्या छ प्रतिशत छ । एउटा कक्षामा उपस्थित भएका विद्यार्थीको अर्कै कक्षाको ईमिस भरिएको पनि फेला परेको थियो । यस्ता विद्यार्थी सात प्रतिशत देखिएको छ । यसैगरी २० प्रतिशत विद्यार्थीको ईमिसमा नाम दोहोरिएको फेला परेको थियो । यो ईमिसमा नाम भएर पनि विद्यालयमा अनुपस्थित हुने विद्यार्थी संख्या पछि दोश्रो सबैभन्दा धरै त्रुटि भएको उपशिर्षक हो । हाजिरी कापीमा उपस्थित देखिएका विद्यार्थी विद्यालयमै नआउने गरेको पनि फेला परेको थियो । यस्ता विद्यार्थी नौ प्रतिशत रहेको अध्ययनले फेला पारेको थियो ।
ईमिसमा विद्यार्थीको विवरण भर्ने मुख्य दायित्व विद्यालयका प्रधानाध्यापकको हो । तर कतिपय विद्यालयका प्रधानाध्यापकहरुले उक्त जिम्मेवारी आफूले निर्वाह नगरी तेश्रो व्यक्तिलाई दिने गरेको समेत अध्ययनले फेला पारेको थियो ।
पढ्नुहोस् उक्त अध्ययनको विस्तृत विवरण
विद्यार्थी विवरण गलत राखिनु कानुनी रुपमा समेत दण्डनीय रहेको तथा यसका लागि प्रधानाध्यापक, फोकल पर्सन र लेखा सम्बन्धी काम गर्ने व्यक्ति जिम्मेवार हुने परिपत्रमा स्मरण गराईएको छ ।
यसै गरी विभागले ईमिस प्रणाली व्यवस्थित गर्न निजी विद्यालयहरुलाई पनि परिपत्र गरेको छ । विद्यार्थी संख्याका आधारमा निजी विद्यालयहरुले दिने छात्रवृत्तिलाई व्यवस्थित गर्न उक्त परिपत्र गरिएको हो ।
पाँच सय जना सम्म विद्यार्थी भएका निजी विद्यालयले १० प्रतिशत, पाँच सय देखि आठ सय सम्म विद्यार्थी भएकाले १२ र आठ सय भन्दा धेरै विद्यार्थी भएकाले १५ प्रतिशत सम्म छात्रवृत्ति दिनु पर्ने व्यवस्था छ । उक्त व्यवस्था स्मरण गराउँदै विभागले विद्यार्थी विवरण सत्यापन गर्न निजी विद्यालयहरुलाई पनि परिपत्र गरेको हो ।
प्रतिक्रिया