पढाइ महत्त्वपूर्ण छ, यसकारण पढ ।
प्रत्येक कुराको सिकाइ भनेको जीवनको तयारी हो ।
त्यसैले सिक ।
सिक्न तयार हौ ।
सीप सिके जागिर पाइन्छ ।
जागिरले पैसा दिन्छ ।
पैसाले जीवनको व्यवस्थितीकरण गर्छ ।
यसकारण पढ कि उसले पढेको थियो र राम्रो जागिर पायो । जस्तै उदाहरणका लागि मलाई हेर, मैले पढेको छु र जागिर पाएको छु । पढेपछि राम्राराम्रा, ठूलाठूला कामहरू गर्न सकिन्छ र एक असल व्यक्ति बन्न सकिन्छ । यसकारण पढ्नुपर्छ नानीबाबुहरू !
यी र यस्ता उपदेशहरूलाई के बालबालिकाले महत्त्व दिएका हुन्छन् ?
विद्यार्थी पढ्दैनन् किन भने उनीहरूलाई हामीले ठानेका आधारभूत कुराहरू नै आउँदैन । ती आधारभूत भनेका कुराहरू पनि पुराना भइसके । जोड गर, घटाउ गर, भाग गर, निबन्ध लेख, सगरमाथाको उचाई भन तर बालकलाई थाहा छ यो मोबाइलबाटै हिसाब हुन्छ, गुगलले भन्छ भने आफैँले किन गर्नुपर्छ र भन्नुपर्ने । लेख्नु पर्दैन बोल्दा नै टाइप हुन्छ भन्ने उसलाई थाहा छ त किन लेख्ने समयको बर्बादी ? शिक्षकले भनेकै मोबाइलले पनि भन्छ उसलाई राम्ररी थाहा छ । डिभाइसको एब्सेन्समा सिकाइ गर्नु धेरै नै मूल्यवान् हुन्छ क्षमता विकासका लागि । जस्तो कि पढ्न, लेख्न, सुन्न, हिसाब गर्न । यसकारण उनीहरू पढ्दैनन् त्यसैले उनीहरूलाई आउँदैन । विद्यार्थीलाई पढ्न मन लाग्दैन, मन नलागेकोले उनीहरू पढ्दैनन्, नपढेकोले उनीहरूलाई आउँदैन र नआएकोले पढ्न मन लाग्दैन ।
यो मनोवैज्ञानिक र भावनात्मक पक्षलाई नेपाली समाजले, सरोकारवालाले बुझ्न र महसुस गर्न अझै निकै समय लाग्ने देखिन्छ । त्यतिबेलासम्म उनीहरूलाई पढ्न मन लाग्ने छैन र पढ्ने छैनन् । यस्तै चक्रमा उनीहरू फसेका छन् । अनि किन र कसरी लिऊन् त गुरुका ज्ञान, सिकाइ र अनुभवका कुराहरू ?
बालबालिकाहरू कसरी सोच्छन्, कसरी कल्पना गर्छन् ? विषयवस्तु र घटनाहरूलाई कसरी हेर्छन् ? उपदेशहरू, नियमहरू र अनुशासनहरूलाई उनीहरूले कसरी बुझेका हुन्छन् ? उनीहरूले आफ्नो स्वतन्त्रतालाई खतम गर्न थोपारिएको भद्दा निर्देशनका रूपमा बुझे भने के हुन्छ ? पुस्तकमा लेखिएका कुराहरूलाई उनीहरू विश्वास गर्छन् कि अविश्वास गर्छन् ? प्रयोग गरेर हेर्न चाहन्छन् कि वेवास्ता गर्छन् ? यसमा कसले विचार पुर्याउने ?
एउटा चर्चित सन्दर्भको कुरा गरौँ - अमेरिकाको एउटा कक्षामा एउटा शिक्षकले विद्यार्थी पढ्दैनन् भनी अभिव्यक्ति दिँदा उक्त विद्यार्थीले पढ्ने चाहिँ कसले हो भनी हाइकोर्टमा मुद्दा दायर गर्दा उक्त शिक्षकले मुद्दा हारेर जागिर चट् भएको थियो ।
तर, म गम्भीरताका साथ फेरि पनि विद्यार्थी किन पढ्दैनन् भनिरहेको छु । अथवा हामीले पनि अब विद्यार्थीलाई किन लामो कपाल पाल्यौ, नङहरू किन काटेनौ अर्थात् विद्यालय ड्रेस किन लगाएनौ अथवा तिमी किन अनुशासनमा बस्दैनौ अर्थात् किन हल्ला मात्र गर्छौ पढ्दैनौ ? भन्न सक्ने अवस्था रहेन । किनकि शिक्षा नियमावलीको दशौँ संशोधनमा त्यसो भन्न नपाइने व्यवस्था आएपछि मलाई शिक्षकले गालि ग¥यो र त्यसले मेरो सार्वजनिक बेइज्जती भयो भनी सम्बन्धित निकायमा उजुर गर्नेछ र त्यो शिक्षकलाई कारबाही हुनेछ । ठ्याक्कै हामी पनि अब अमेरिकी शैक्षिक मोडलको अभ्यास गर्दैछौँ ।
अहिले प्रायः विद्यार्थीलाई गुगल गर, Chat GPT मा हेर, जेमिनाई, डिपसिक वा AI लाई सोध र हेर भनिन्छ । डिजिटल प्लेट फर्ममा शिक्षकले देखाइदिएर वा भनिदिएर मात्र बालकले हेरेर पढ्छ वा सिक्छ त ?
पुस्तक हेर, पढ र सिक किनकि तिमीले सिक्नैपर्छ भन्दै सिकाइका सामग्री र भौतिक पूर्वाधारहरू उपलब्ध गराइदिँदा के बालबालिका स्वतः सिक्न थाल्छन् त ? अचेल शैक्षिक तयारी, योजनाबद्ध शिक्षण, व्यवस्थितीकरण, भौतिक, आर्थिक तथा प्रशासनिक व्यवस्थापनहरू व्यापक भइरहेका छन् । तर, के बालबालिकाको वास्तविक सिकाइमा यी कुराहरूले सकारात्मक प्रभाव पारे त ? तथ्याङ्कहरूले त बालबालिका पढाइ र सिकाइबाट अझ बढी विचलित (डिस्ट्र्याक्ट) हुँदै गएको देखाउँछन् । यस्तो हुनुको पछाडिको कारण बालबालिकाको धैर्य, आत्मविश्वास र सिकाइ प्रतिको मूल्यको गिरावट हो र त्यो दिन प्रतिदिन किन घट्दैछ भन्ने कुरा हामीले बुझ्नुपर्दैन ? सिकाउनु वा पढाउनु भन्दा यसप्रति चाहिँ ध्यान र समय दिनुपर्दैन ?
भौतिक, शैक्षिक, आर्थिक, सामाजिक व्यवस्थापन बढाउँदैमा सिकाइ बढ्छ भन्ने निष्कर्ष निकाल्नु भ्रम मात्र हो ।
के उनीहरूको समयमा उनीहरूले सोच्ने तरिका र भोगाइ, र हाम्रो समयमा हामीले सोच्ने तरिका र भोगाइ एउटै थियो ? तपाईँलाई यो प्रश्न गम्भीर लाग्दैन ? आकाशबाट स्याउ किन खस्यो भनेर न्यूटनले सोचे । गुडिरहेको बसमा यात्रा गर्दा रुखबिरुवा र डाँडाहरू पनि कुदिरहेको देखेर आइन्स्टाइनले प्रश्न गरे । के अहिलेका बच्चाहरूले पनि यिनै प्रश्न गरून् या कुनै नयाँ प्रश्न गरून् ? के छ त्यहाँ स्पेस अर्थात् अवसर—त्यो पाठ्यक्रममा, पुस्तकमा, शिक्षकमा अर्थात् विद्यालय तथा स्थानीय सरकारहरूसँग ?
अल्बर्ट आइन्स्टाइन भन्छन्, 'यदि मलाई कुनै समस्या समाधान गर्न एक घण्टा समय दिइयो भने, म ५५ मिनेट समस्या बुझ्नमा र ५ मिनेट समाधान गर्नमा लगाउँथेँ।'
हो, हामीले पनि पढाउनु र सिकाउनु भन्दा पहिला बालबालिकालाई पढ्न र बुझ्न पर्याप्त समय लगाउनु पर्दैन ? प्रायः हामी सबै जसो – पुस्तक पल्टाऊ, होमवर्क ल्याऊ, यो कक्षाकार्य गर, लु अब ध्यान देऊ म पढाउँछु, हल्ला नगरबाट कक्षाको सुरुवात गर्छौँ, होइन ? कुरा मेल खायो त अनि विद्यार्थीलाई पढ्न मन लाग्छ त यो पाराले ?
शिक्षकले पाठ्यक्रम र पाठ्यपुस्तक भन्दा बाहिर गएर, कक्षाकोठा भन्दा बाहिर गएर इन्स्ट्यान्ट्ली (तत्कालै) के–के गर्न र गराउन सक्छन् ? त्यो सरोकारवाला र माइण्डसेटेड संरचनात्मक अवधारणा र औपचारिक शिक्षाले देला, दिन्छ ?
तपाईँ हामीले जस्तै पेशा गरून् या अरू कुनै नौलो कुरा र कामका लागि उनीहरू तयार होउन् । त्यो हामी उनीहरूलाई दिइरहेका छौँ ? के पाठ्यक्रम र पाठ्यपुस्तकमा त्यो देख्न पाइन्छ ? के आगामी पाँच वर्षपछि कति कुराहरू परिवर्तन हुन्छन् र के हुन्छ, यकिन गर्न सकिन्छ ? विगत र बनिबनाउ वर्तमानको अध्ययन, अध्यापन, सोच, कल्पना र यथार्थले विद्यार्थीलाई पुग्छ ? आजको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ र पठनले भोलिको उसको जीवनका लागि तयार गरिदिन सक्छ ? यसकारण ऊ पढोस् र यसकारण ऊ सुनोस् ।
उसको घरमा कोलाहल छ, झगडा छ, अशान्ति छ, सन्नाटा छ, अथवा कोही छैन । खाद्यान्नको अभाव छ, आर्थिक सङ्कट छ, महँगी छ, चिन्ता र तनावहरू छन् । यसका बाबजुद पनि ऊ विद्यालयमा तपाईँ–हामीले दिएको कुरामा ध्यान दियोस् ?
उच्च शिक्षा पढेका आफ्ना दाइ, दिदी, भाउजु, भिनाजुको अवस्था देखिरहेको उसलाई हामीले ’पढ पढ’ भनिरहन्छौँ । त्यति मात्र होइन, पढेर पनि काम नपाएर विदेश गएका दाजु र छिमेकीहरू देखि देखि के उसले यस्तै हालतमा मन लगाएर र ध्यान दिएर पढ्छ या यतिकै पढोस् ?
विद्यार्थी त्यो कुन तत्त्वले प्रेरित होस् र सारा साथीहरू हल्ला गरिरहँदा पढाइमा ध्यानमग्न होस् ? यति धेरै अधैर्यता देखिरहेको, भोगिरहेको उसमा के तत्त्व भरियोस् र विद्यालयमा धैर्य बनिरहोस् ? ब्रह्माण्डको सिद्धान्त होस् या प्रकृति–प्रत्यय होस् अर्थात् नाफा–नोक्सानका ठुलाठुला हिसाबहरू नै किन नहोऊन्, कुन आधारले पढोस् ? उमेरै पनि कति नै भएको हुन्छ र ? मनको स्थिति पनि के नै हुन्छ र ! हिँडिरहने, दौडिरहने, खेलिरहने, चलिरहने बालकलाई कतै बसाएर कुरा बुझाइरहँदा, सिकाइरहँदा, पढाइरहँदा कति धेरै बोर, अल्छी र अधैर्यता उत्पन्न हुन्छ होला, त्यो एउटा वयस्कले के अनुमान गर्न सक्छ ?
सिक्ने–सिकाउने, पढ्ने–पढाउने, लेख्ने–लेखाउने र बुझ्ने–बुझाउने जस्ता प्रक्रियाहरू के बाहिरबाट प्रक्षेपित (प्रोजेक्टेड) वा जबर्जस्ती थोपरिएका (इन्जेक्टेड) कुरा होइनन् र ?
बालकले त वातावरण र आफ्नो जन्मजात गुण (जीन) को मिश्रणबाट, आफैँ स्वतन्त्र र स्वचालित हिसाबले अर्थात् 'आकस्मिक व्यवस्थितीकरण' द्वारा सिकाइ हासिल गर्छ होइन र ? समाजमा देखेको भोगेको र आफ्नो सोचबाट नयाँ ज्ञानको निर्माण गर्छ होइन र ? के भन्छन् भिगोस्की आफ्नो निर्माणवादी सिद्धान्तमा ?
त्यसो भए हाम्रा विद्यमान अभ्यासहरू के हुन् त ? यी केवल प्रक्रिया हुन्, परिणाममुखी माध्यम होइनन् । बालबालिकाले अहिले पढ्न नखोज्नुको कारण उसमा रुचि, धैर्य र पढाइप्रतिको मूल्य र आधार बाँकी नभएर हो ।
होस् पनि कसरी, जब विद्यालय तथा विश्वविद्यालयले उसलाई जीवनको गहिराइ छुन, महशुस गर्न र अनुभव गर्नबाटै वञ्चित गरिदिन्छन् ! सिकाइ सतही वा टुक्रा–टुक्रा हुँदैन; यो त गहन, भित्री, अर्थपूर्ण र सम्पूर्ण हुन्छ । तर बालबालिकालाई यहाँ जीवनको समग्रता बुझाउनुको साटो अंश–अंशमा बाँडेर पढ्न प्रेरित गरिन्छ । २०–३० वर्षपछिको दूरगामी परिणामका लागि व्यक्तिलाई अहिल्यैदेखि तयार गर्न, धैर्य र सक्षमता विकास गराउन के हाम्रा पाठ्यक्रम, सोच, शैली र प्रणालीहरू उपयुक्त, भरपर्दा र वैध छन् त ? के यिनीहरूलाई बालमैत्री, प्रकृतिमैत्री र मानवीय दृष्टिकोणबाट परीक्षण, परिमार्जन र परिवर्तन गर्नुपर्दैन ? बालबालिकालाई उसको आफ्नो पाठ्यक्रम उसैलाई लेख्न दिँदा के हुन्छ ? किन हस्तक्षेप गर्नु ?
अहिले हामीकहाँ प्रेरणा, बालमनोविज्ञान, खेल, खोज, प्रयोग, जिज्ञासा आदि सिकाइ र पढाइका आधारहरू र निर्धारकहरू बनिसकेका छन् । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक कति जीवन्त छन् ? के जीवित र हरदम परिवर्तनशील पाठ्यक्रम बनाउन सकिन्न
शिक्षकले पाठ्यक्रम र पाठ्यपुस्तक भन्दा बाहिर गएर, कक्षाकोठा भन्दा बाहिर गएर इन्स्ट्यान्ट्ली (तत्कालै) के–के गर्न र गराउन सक्छन् ? त्यो सरोकारवाला र माइण्डसेटेड संरचनात्मक अवधारणा र औपचारिक शिक्षाले देला, दिन्छ ? तपाईँलाई थाहै होला, गिजुभाइले ’दिवास्वप्न’ मा कस्तो कठिनाइको सामना गरे र सफलता हासिल गरे । हामी को–को तयार छौँ गिजुभाइ बन्न र दिवास्वप्न देख्न ?
फिल्ममा, भिडियो गेममा, खेलमा कति धेरै बालबालिका रमाउँछन्, कति धेरै त्यस्तो चाहना गर्छन् । के हाम्रा कण्टेण्टहरू, सिकाइहरू फिल्म, भिडियो गेम र खेल बन्न सक्दैनन् ? तपाईंलाई लाग्दैन - खेल्दाखेल्दै सबै सिकाइ हासिल गरोस् । या खेल्दाखेल्दै हाँस्दाहाँस्दै सिकोस् जोड, घटाउ, गुणा, भाग, भाषा र व्याकरण तथा विज्ञानको अवधारणा । त्यसको असली भोक्ता के हाम्रो बालबालिका आफैँ हुन सक्दैनन् ? हामीले कुनै न कुनै हिसाबले के उसमा विषयवस्तुहरू इन्जेक्ट वा प्रोजेक्ट नै गर्नुपर्ने हो ? त्यो स्वतन्त्र, शान्त र आकस्मिक नियमितताबाट पुरा हुन सक्दैन ?
पाण्डे, सुनपुकुवा मावि उर्लावारी -२, मोरङका शिक्षक हुन् ।
प्रतिक्रिया