Edukhabar
विहीबार, ०७ साउन २०८३
विचार / विमर्श

नम्बर छोड : सोँच !

शिक्षकलाई कसरी बाँध्न सकिन्छ ? भनेर घोत्लिरहेका छौँ हामी आज पनि !  शिक्षकलाई धेरैले खुल्ला छोडिसके ।

बुधबार, ०६ साउन २०८३

गान्धीलाई केही मान्छेले मिथक बनाए, उखानै बनाएः पढाईमा अब्बल हुन सकेन कि गान्धी मार्का ! 

तर, कालान्तरमा तीनै गान्धी अहिंसाका पर्याय भए । 

नेपालका काले राई : १८ बर्षमा कखरा पढेका । कालान्तरमा स्वामी प्रपन्नाचार्य भए । 

रविन्द्रनाथ टैगोर नोबेल पुरस्कार बिजेता । कलेज छोडेर भागेका बिलगेट्स माईक्रोसफ्टका मालिक भए । त्यसरी भाग्ने उनी एक्ला थिएनन् एप्पलका सहसँस्थापक स्टिभ जब्सको कथा पनि उस्तै छ । उनी भन्थेः म पैसाको पछि दौडेँ । डेल कम्प्युटरका मालिक माईकल डेल । मिक्कि माउसका मालिक वाल्ट डिस्ने । जुगरवर्ग, म्याडोना, खोजे अरु पनि छन् । धेरै । नियम तोड्नेहरु । 

भनिन्छः नियम तोड्नैका लागि बनाईएको हुन्छ । बलवानले मात्र तोड्छ । तोड्न सक्छ । बल भनेको मसल मात्र हैन । मन, बुद्धि, आचरण, तपस्या, धेरै कुरा हो । हामीले संकुचित पढायौँ ।

खप्तड बाबा भन्थे : 'नम्बर छोडः सोँच । तिमी सोँचे जस्तो बन्छौ ।'

हरेक बर्ष कक्षा १० को अन्तिम परीक्षाको रडाको चल्छ । सामाजिक सञ्जाल नम्बरले नै भरिन्छ ।  त्यसलाई जति साधारण बनायो, त्यति राम्रो । नोवेल पुरस्कारै पाए जसरी फुक्र्याए पछि हैसियत न भै बिज्ञानमा भर्ना हुन्छ ! त्यहाँ हार्छ । नर्भस हुन्छ । पछि कहिँ न कहीँको हुन्छ । उसलाई आफ्नो ईच्छा के छ ? पनि थाहा छैन, हौस्याए पछि फस्दैन ? सोँच्न देउ न ।

हामीले सबै बालबालिकालाई सबै विषयमा पारङ्गत बनाउन तिर लाग्यौ । त्यँही गल्ती भो । सोँच्ने बनाएनौँ । मैले गणित र विज्ञानका धेरै फर्मुला घोकेँ । कति त आजपर्यन्त पनि कण्ठै छन् । तर मलाई ती कहाँ प्रयोग हुन्छन् ? सोँच भनिएन । अझ भनौँ । सोँच्नै दिईएन । छिटो पढ् । छिटो कण्ठ गर मात्र भनियो । मानौँ, त्यसो नगरे रेल छुट्छ ! त्यहि गरियो । बाहिर निस्कनै दिईएन । गुम्स्याईयो । आज सोँचेको छु । त्यो फर्मुला कहाँ प्रयोग हुन्छ ? मेरो जीवनमा ! मेसो पाउन्न । त्यस्तो किन पढाईयो ? त्यसरी किन पढाईयो ?

शिक्षकलाई कसरी बाँध्न सकिन्छ ? भनेर घोत्लिरहेका छौँ हामी आज पनि !  शिक्षकलाई धेरैले खुल्ला छोडिसके । केरा र छोरा फुटाए पछि मौलाउँछन् भन्थे बुढापाका । त्यसको बृहद अर्थ थियो । आफ्नो लागि आफै सोँच्न देऊ । तब मौलाउँछ । फक्रन्छ । अनपढ थिए । तर थिए ज्ञानी । बाँधेर ज्ञानी हुने भए फोटो कपिवाला पिएचडि यहाँ यत्रतत्र सर्वत्र छन् । खोई तिनको नाम ? कहाँ छन् ति ? यता नलागौँ ।

हार्बडको जग राख्ने जोन पिएचडि थिएनन् । तर थिए आफैँलाई खोज्ने ।

स्थानीयको कार्यक्रम सिँहदरवारमा नबनाउ । उनैलाइ सोँच्न देउ ।

जादु टुना हैन शिक्षा, हकिकत हो । अबेर नहुँदै सोँच । शुरु गर्नु भन्दा पहिला । त्यसको अन्त्यको हिसाब गर ।

हार्वडले बिलगेट्सलाई मानार्थ डिग्री दिएर गाउन लगाई दियो । आधा पढेर छोडेकालाई पुरै सर्टिफिकेट दियो । दराजमा धरै सर्टिफिकेट हुनेहरु पनि सिँहदरवारमा आगो लगाउन गए, बहादुरी देखाए ! त्यस्तो सर्टिफिकेट किन चाहियो ? आत्म मुल्याङकन गर्न नसक्ने, लहडी, बेसुरी, बुद्दु ! बरु सक्दैनौ अनपढ छोड । कम्तिमा त्यसले सके राम्रो गर्छ । नसके बिगार्दैन । सके सपार, नसके नबिगार । गलत नपढाउ । अनपढले सिँहदरवार बनाए । पढेर धेरै नम्बर ल्याउनेले जलाए, गोर्खालीहरु बुद्दु छन् र त बहादुर छन् ! 

नेपालका गान्धीमार्का थिए मदनकृष्ण र हरिवँश । स्कुल, कलेजमा । आज मह जस्ताछन् । माष्टर सेफ सन्तोष साह । एसएलसी फेल । संसारलाई आधिकारिक नेपाली भान्सा पस्कन्छन् । पाल्पाली ढाकाटोपीलाई राष्ट्रिय अन्तराष्ट्रिय पहिचान दिने गणेशमान सुरुमा अरुका धान कुटि दिन्थे । ढिकिमा । डिग्रि त कता हो कता !

फिजिक्समा ब्याक लागेर पुनःपरीक्षामा पास भएका डा. राम प्रसाद रेग्मी टियुको नारेलमा अनुसन्धान विज्ञ छन् । एकदिन विहानै दाइ म कहाँ आए भनेः लक्ष्मण भाइ म फिजिक्सको प्रोफेसर हुने भएँ नि !

म अचम्म परेँ । अन्दाज गरेँ । दाई फिजिक्समा गुल्टे कि क्याहो ! आईएससीको रिजल्ट निस्क्यो र दाई ? सोधेँ ।

निस्क्यो ।

रिजल्ट के भो त ?

के हुनु ? फिजिक्समा ब्याक लाग्यो !

ब्याक लागेपछि कसरी प्रोफेसर भईन्छ त दाई ? जोक पनि अली मिलाएर गर्नु के दाइ ! भनेँ । 

हेर, अब मलाई अरु विषय पढ्न पर्दैन । बिहानै फिजिक्स । बेलुकै फिजिक्स । हुन्न त म फिजिक्सको प्रोफेसर !

नभन्दै आज दाई नेपालका गिनेचुनेका व्यक्तिमा पर्छन् । फिजिक्समा । जापानमा सबै सुविधा छोडेर देश भित्र केही गर्ने हुटहुटि लागेर आएका । सबै सुख सुविधा छोडेका । राज्यले सम्मान चाकडी गर्नेलाई गर्छ ! तर उनी थाक्नेवालामा पर्दैनन् । आफु खोज्ने शिक्षाका अव्वल उदाहरण हुन् डा. रेग्मी । सलाम् छ दाइ । अरु त्यस्ता धेरै होलान् । खोज्नु पर्छ।

अनुत्तीर्ण हुनेलाई तन्नम बनाउने चलन छ, यहाँ । त्यो नै गलत हो । उसको विषय के हो ? सोँच्न देऊ । त्यही विषयमा जान देऊ । सबै विषयमा पारङ्गत हुने कुरा छोड । प्राविधिक मात्र हैन । सैद्धान्तिक पढाईका लागि पनि जान सक्ने वातावरण बनाऊ । बाटो बन्द नगर ।

पुर्खाका पालामा देश आत्मनिर्भर थियो, पराईका अघि । शीर उचा थियो । स्वाभिमान थियो । त्यहाँ नम्बर थिएन । चरित्र थियो । आचरण थियो । स्वाभिमान थियो । आज जान्ने भै टोपले पछि तिमी कहाँ छौ ? सँसारलाई मजदुर सप्लाई गर्ने देश ! अरुका भाँडा माझ्ने देश ! अरुका गोडा मोल्ने देश ! अरुका गाडी पुछ्ने देश ! 

हैट ! ! ! 

आफ्नो व्यक्तित्व खोई ? पठाउने नै हो भने पनि मध्यम स्तरको त पठाऊ, ज्यामी नपठाऊ । यस्तो नपठाऊ । हेपिने तलैको त हो ! यसो गर्दा व्यक्ति त हेपिया हेपियो देशै पनि पो हेपियो !

दुनियाँले खोजेको कुरामा हराउने हैन । आफै खोज्ने बनाऊ । आफु खोज्ने । आफ्नो देश खोज्ने । भाषा खोज्ने । सँस्कृति खोज्ने । घोत्लने बनाऊ । बाँकि उसैले गर्छ । 

जादु टुना हैन शिक्षा, हकिकत हो । अबेर नहुँदै सोँच । शुरु गर्नु भन्दा पहिला । त्यसको अन्त्यको हिसाब गर । डिजिटलको पछि आँखा चिम्लेर लाग्नु भन्दा पहिला, त्यसको उपलव्धि मापन गर । घोत्ल । अरुले किन विचार गर्दैछन् ? आफु बाँच्न आफ्नोपन बाँच्नु पर्छ । अरुलाई जित्नु पर्दैन । आफैलाई जित । अरुको एआई पढेर वैज्ञानिक भईंदैन । बनाउनेवालाको दास भईने हो ।  आज सामाजिक सञ्जालले बनाए जस्तो । दास !

अरुले जे पस्कन्छन् आँखा चिम्लेर शिरोपर नगर । त्यसको नियमन गर । प्रभाव पार्ने सही गलत यकिन गर । हाम्रो समाजको चरित्रसँग नमिल्ने कुरा नियन्त्रण गर । आफु अनुकुल भए मात्र निययमको परिधि बनाएर स्वीकार गर । तिमी ठुलो हुन तिम्रो आफ्नै चरित्र हुनुपर्छ । खोज । पहिला आफु पढ्ने बनाऊ । सोँच्ने बनाऊ । नम्बरले जिउ पाल्दैन । सोँचले हो पाल्ने । त्यसैले नम्बर छोडः सोँच ।

प्रतिक्रिया