सम्भवतः बालबालिकाहरु प्राचिनकालदेखि नै यातना र प्रताडनाका शिकार थिए । रोगभोकले गाँज्ने कुरा त छँदै थियो । त्यही पनि बालबालिका यस्ता प्रताडनाबाट आफ्ना खुशीका समय निकाल्थेः रमाइलो गर्न, नयाँ परीक्षणहरु गर्न । आविष्कार उनीहरुको प्रकृतिमा नै थियो । तर, त्यस्ता गतिविधि समाजले प्रमाणित गरिसकेको र प्रौढहरुले आवश्यक नठानेको भए स्वीकार्य हुने थिएन । अस्वीकृतिको एउटा रुप थियो दण्ड सजाय । तुलनात्मक रुपमा पिता वा प्रौढ पुरुषहरु दण्डका अधिकारी थिए । शायद निजी सम्पतिको अवधारणा मजबूत हुँदै गयो । प्राकृतिक रुपमा खासगरी बालकहरु यौन प्रतिस्पर्धी हुने भएर पनि पुरुषहरु ईर्ष्याका दृष्टिले पनि बढि असहिष्णु हुन्थे होला । अहिले पनि आदिवासीहरुमा अघिल्लो किसिमको स्वतन्त्रता र सभ्य भनिने समूहरुमा पछिल्लो किसिमको अनुभूति देख्न सकिन्छ ।
संस्कृतमा स्पष्ट शब्दमा 'दश वर्षाणि ताडयेत्' अर्थात पहिलो पाँच वर्ष माया गरेपछि अर्को दश वर्ष बेसरि कुट भनिएको छ । केटाकेटीलाई अङ्ग्रेजीमा हाल सम्म पनि माइनर भनिन्छ, खास गरि कानुनी शब्दवलीमा । जसको कानुनी अर्थ उमेर नपुगेको भन्ने लाग्ने भन्ने भए पनि शब्दार्थले अपूर्ण वा कम महत्वको भन्ने बुझिन्छ । विश्वमा समय अगाडि बढेसँगै जब बहुसंख्यक मानिसहरु दैनिक गुजाराको सङ्घर्षबाट बाहिरिँदै गए तब मानिसले बालबालिकामा दण्डका नकारात्मक प्रभावहरु महशुस गर्दै गयो । सबै सभ्यताहरुमा हालसाल सम्म पनि बालबालिकाहरुक परवरिस कै एक भाग थियो । मेरा बडाबा भन्नुहुन्थ्यो : 'जसले घरमा कुटाई खाएको छैन, अरुको कुटाई खाने हुन्छ ।'
लट्ठी, गुरु वा शिक्षकको पहिचान नै रहेको थियो । बाबुआमालाई 'दण्डाधिकारी' मानिन्थ्यो र शिक्षकलाई सो सरहको हक प्राप्त थियो ।
विद्यालयमा विद्यार्थी अनुशासित राख्न वा गल्तिको सजाय दिन दण्ड आम बात रहेको छ (गुरुकुलदेखि अहिले सम्म, जिमदेखि बेतसम्म) लट्ठी, गुरु वा शिक्षकको पहिचान नै रहेको थियो । बाबुआमालाई 'दण्डाधिकारी' मानिन्थ्यो र शिक्षकलाई सो सरहको हक प्राप्त थियो । भारतीय शास्त्र प्रणालीमा दण्ड कै सन्दर्भमा उल्लेख नगरिए पनि शिष्यलाई सन्तानकै सरह व्यवहार गरिन्थ्यो अर्थात्, ती गुरुका सेवक थिए । अहिले पनि व्यापक रुपमा बालबालिकाहरुलाई हाम्रा जस्ता देशमा सजाय दिइन्छ यद्यपि पश्चिमी प्रभावले त्यो क्रम घटाउने सङ्घर्ष चलिरहेको छ । युरोपमै पनि सन् १९८० को दशक सम्म लट्ठी लगाउने काम वैध नै थियो । बेलायतमा झण्डै ९० को दशकमा मात्र लट्ठी लगाउने काम अवैध बनाइएको थियो । नेपालमा बालबालिका सम्बन्धि ऐन २०७५ पछि कानुनी रुपमा विद्यालयमा दण्ड निषेध गरिएको हो यद्यपि यस बारे छलफल र आक्रोश पहिलेदेखि चलि रहेको हो ।
दण्डले बाल बालिकामा खासगरी तीन किसिमका समस्या देखिने गर्दछः पहिलो सज्ञानात्मक । सजाय पाएर हुर्केका बालबालिकाहरु पछि राम्ररी सिक्न, सम्झन नसक्ने हुन्छन् । उनीहरुको ध्यान कम हुन्छ मष्तिकको संरचना समेत बदलिन सक्छ । दोश्रो, बानी व्यवहोरा सम्बन्धित । दण्ड पाएर हुर्केकाहरु आक्रामक र अरुलाई प्राताडित गर्ने किसिमका हुन सक्छन् । उनीहरु यथार्थ सामना गर्न डराउने र तोडफोड गर्ने, एक्लिने र मादकपदार्थको शरणमा जाने पनि हुन सक्छन् । तेस्रो हो मनोवैज्ञानिक असर । यस्ता केटाकेटीहरु बेचैन, उदास र एक्ला, उपचार छाड्ने खालका हुन सक्छन् ।
उनीहरुमा निरन्तर आत्मविश्वासहीन अवस्था, मानिससँग सामना गर्न मन नलाग्ने र आफूमा प्रयोजनहीन भावना जाग्छ । आफ्नो निराशा र रिस नियन्त्रण गर्न गाह्रो लाग्छ, सरसाथी र परिवारसँग घनिष्टता रहँदैन ।
आफू दण्डको भागी रहेर हुर्केका अभिभावक वा शिक्षकहरुलाई अझै दण्ड आवश्यकता लाग्छ ।
घर दण्डहीन नभइ सकेको र त्यहाँ कानुनको पहुँच दुर्गम भएकाले दण्डका दृष्टिले नेपाल सङ्क्रमणकालमा छ । आफू दण्डको भागी रहेर हुर्केका अभिभावक वा शिक्षकहरुलाई अझै दण्ड आवश्यकता लाग्छ । बेलाबेलामा दण्ड रहित शिक्षणको कारणले विद्यालयमा नतिजा राम्रो नभएका दाबि पनि बाहिर आउँछन् । विद्यार्थी र शिक्षक दुबै अझ अभिभावक पनि दण्डबिना प्रभावकारी सिकाइ र त्यसको वातावरण बनाउने धारणा र सिप दुवैमा अभ्यस्त छैनन् । तर खासगरि शहर बजारको एक तप्का भने भौतिक दण्ड सजायबाट मुक्त छ । एक तहको अङ्कको स्वीकार्य उपलब्धि पनि छ तर पनि उनीहरुमा दण्ड पाएर ती उपलब्धि हासिल गरेकाको जस्तो खुशी र उन्नतिको उत्साह देखिन्न । प्रश्न छ, तब भयो के ?
हामीले कुटेनौ, हकारेनो, तर्साएनौं तर पनि मानसिक रुपमा अस्वस्थ युवाहरु बढिरहेका छन् । जनमानसमा निराशा व्याप्त छ । युवाहरु असन्तुष्ट छन् किन होला ? विचारणीय पक्ष छ । यसका अनेक कारण हुन सक्छन् । दण्डहीन अवस्था मात्र उन्नति (प्रगतिको सूचक होइन कि) एउटा कारण त हाम्रो जस्तो देशका युवाले प्रविधि र पूँजी सम्पन्न देशहरुको अवस्थासँग आफ्नो अवस्था तुलना गर्नु हो । अहिले सञ्चार माध्यमले झन् सजिलोसँग ती देशका जनसमुदायको जीवन शैली चित्रित गर्छ ।
तर, नेपाली युवाले जान खोजेकै देशमा पनि युवा सन्तुष्ट छैनन् । किन होला त ? दण्डहीनता मात्र मानसिक अस्वस्थताको कारण होईन, एउटा तर्क हो । अर्को दृष्टिकोणले के भन्छ भने दण्ड भौतिक अझ जैविक हो । तर किन दण्ड नदिने भन्ने कारण चाँहि त्यति जैविक वा भौतिक भन्दा कानुनी मात्र छ । अर्थात किन दण्ड दिनु आवश्यक वा उपयुक्त छैन भन्ने कुरा महशुस नगरि गर्न छोड्नु परेको छ । यस अर्थमा शिक्षकहरु अहिले असमञ्जसमा छन् स्दण्ड दिनु हुँदैन भन्ने हावा नै चलेको छ, कानुन छ तर विद्यार्थी ध्यान दिएर सिकिरहेका छैनन् । जहाँ विद्यार्थी दण्डविहिन अवस्थामा उच्च अङ्क ल्याइरहेका छन् । तिनीहरु झन आत्मविश्वास विहीन, उत्साह विहीन र अवसाद (डिप्रेसन) मा छन् ।
पक्कै पनि प्रश्न गर्नुपर्ने विषय हो कि दण्ड नदिएर मात्र हुँदैन यस लेखकका साथी रहेका शिक्षा ईतिहास विषयका प्राध्यापक मार्क देपापा (प्रकाशन २०१२ मा, कक्षामा भनेका २००९ मा) का अनुसार उहिलेदेखि अहिलेसम्म दण्ड तथावत् छ । फरक के हो भने दण्ड कानुनले निषेध गरेको छ र अहिले यसको स्वरुप परिवर्तन भएको छ । पहिले (या अहिले पनि) त्यो दण्ड शारीरिक थियो र छ । अहिले त्यसको मनोवैज्ञानिकीकरण भएको छ । अहिले विद्यार्थीलाई उच्च अङ्क ल्याउने दबाब धेरै छः सानै देखि स्माईली धेरै चाहियो, प्राप्ताङ्क (जीपी, प्रतिशत, अक्षराङ्कन जेहोस्) धेरै आउनै पर्यो । बा आमाले सरसाथी वा आफन्तसँग भन्छन् ‘मेरोले त यति ल्यायो, मेरोले त यो विषय पढ्न पायो’ । अझ हाम्रो देशमा त ‘विदेशी कलेजमा भर्ना भयो’ आदि । यसले गर्दा बालबालिकाहरुमा धेरै सामाजिक दबाब पर्न जान्छ । यसबाट थाहा हुन्छ कि भौतिक दण्डबाट टाढा राखिँदैमा बालबालिकाहरुमा यस्तो दण्डबाट हुने प्रत्यक्ष हानि बाहेका अरु दबाबहरु नपर्ने होईनन् । अझ हामी उनीहरुलाई साथी वा आफन्तका समकक्षी समवयी सन्तानसँग तुलना गरिदिन्छौँः ‘हेर त फलाना ले यति ल्यायो, यस्यो गर्यो, उसो गर्यो, तैँले खै के गरिस् ?’
शायद यस्तो तुलना विद्यालयमा प्रत्यक्ष र अलि सतही हुन्छ तर घर समाजमा अझ गहीरो तहमा हुन्छ । हामीले यति ठूलो आतङ्क मच्चाएका छौं कि एक पटक असफल हुनु भनेको मानौ मृत्यु जस्तै हो ।
हामीले खासगरि अमेरिकामा विद्यालयमा गोलि चल्ने गरेको र त्यसमा धेरै जसो त्यसै विद्यालयका पूर्वविद्यार्थी हुने गरेको सुन्ने गरेका छौं । मेरी एक सहपाठी अनुसन्धाता आना प्यालोनिएमिले सन् २००९ मा गरेको एक अध्यनमा त्यसको एक महत्वपूर्ण कारण विद्यालयमा रहँदा ती विद्यार्थीले गरेको नराम्रो अनुभव हो भन्ने पत्ता लगाईन् । अमेरिकामा भौतिक दण्ड सजाय नदिईएको धैरै दशक भईसक्दा पनि यस्तो हुनुलाई दण्डको मनोवैज्ञानिकीकरण भएको भन्न सकिन्छ ।
नेपालीमा एउटा भनाई छः बालिनाली अर्काको राम्रो, केटाकेटी आफ्ना राम्रा । उपलब्धिको होडमा यो भनाई फिका हुँदैछ । पहिला पहिला त्यस्तो ऊखान भए पनि केही तुलना नहुने होईन । केही जातीय एवं वर्गीय फरक पनि होलान् तर अहिले योग्यता अङ्कमा मापन गरिने र त्यो अभिभावकको लगानीसँग सकारात्मक रुपले सम्बन्धित हुनाले बढी टड्कारो देखिन्छ । यस्तो दबाब आफ्ना क्षमता भन्दा बढी खर्च गर्ने घरपरिवारमा अझ धेरै हुन्छ । सम्भवतः धेरै शुल्क तिर्नुपर्ने विद्यालयहरुमा अध्ययन गर्ने विधार्थीमा यसको दबाब धेरै होला । आखिरमा कुरा के हो भने मनोवैज्ञानिक दबाब भन्दा शारीरिक यातना केही ठिकै हुन्छ भन्न खोजिएको हैन । शारीरिक दण्डका पर्याप्त विकल्पहरु खोजी गरिनु पर्छ । तर त्यो मात्र बालबालिकाहरुमा हुने संज्ञानात्मक, व्यवहारिक वा मनोवैज्ञानिक क्षतिको पूर्ति होइन । जति शारीरिक दण्डमा संवेदनशीलता छ त्यतिकै संवेदनशीलता दण्डको मनोवैज्ञानिककीकरणमा पनि राख्नु जरूरी छ । यो शिक्षक र अभिभावक दुबैले व्यवहारबाट र अभिभावकले आफ्नो गच्छे भन्दा धेरै लगानी नगरेर गर्नु पर्ने हुन्छ । आफ्ना बालबालिकाबाट अपेक्षा उच्च राख्ने र तिनलाई दबाबको तहमा नपुर्याउने काम बिचको सन्तुलन आवश्यक छ ।
प्रतिक्रिया