भनिन्छ, शिक्षा सर्वाङ्गीण विकासको आधार हो । व्यक्तिलाई सभ्य, सुसंस्कृत, व्यवसायी, सिर्जनशील तथा मिजासमैत्री बनाउने काममा शिक्षाले दीयोरुपी काम गर्दछ । त्यसो त शिक्षाको कार्य व्यापक छ । शिक्षाले सम्बोधन गर्न नसक्ने कुनै पनि क्षेत्र छैन, भनिन्छ । शिक्षाले शिक्षितहरुलाई सचेत, जागरुक, जिम्मेवार, नैतिकवान तथा उर्जाशील बनाउन सशक्त भूमिका खेल्दछ । सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक, वैज्ञानिक लगायतका क्षेत्रमा शिक्षाको कार्य गहन छ । मानसपटलमा उत्पन्न हुने खराब विचारलाई फिल्टर गरेर असल विचारहरुलाई मार्ग निर्देशित गराउने कार्यमा शिक्षाले प्रशिक्षकको काम गर्दछ । यसको साथै व्यक्तिमा रहेका असल गुणहरु बाहिर ल्याउने काममा शिक्षाले औषधीरुपी काम गर्दछ ।
फ्रान्सेली प्रसिद्ध समाजशास्त्री दुर्खिमका अनुसार ‘समाज शिक्षाबाट अलग र शिक्षा समाजबाट अलग हुन सक्दैन ।’
उनको भनाईलाइ आधार मानेर हेर्दा शिक्षा र समाजको सम्बन्ध गहिरो हुन्छ भन्ने अर्थ लाग्दछ । अथवा समाजका हरेक पक्षसंग शिक्षाको सम्बन्ध गाँसिएको हुन्छ, भन्ने हो । परन्तु समाजका हरेक क्षेत्रमा अब्बल स्तरका शिक्षित जनशक्ति उत्पादन गर्न तदनुरुपको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइ आवश्यक ठानिन्छ ।
हाम्रो शिक्षा रोजगारमैत्री, व्यवसायी तथा जीवन उपयोगी हुन नसकेको लोक गुनासो व्याप्त छ । शिक्षाले शिक्षितहरुमा विदेशी रोजगारीलाई सफलताको मापदण्ड बनाउने मानसिकताको विकास गराएको छ । शिक्षालयहरुबाट उत्पादित शिक्षित युवाहरुमा देशप्रतिको माया र जिम्मेवारीको बोध कमजोर रहेको देखिन्छ । शिक्षाले नागरिकमा देश पे्रम र राष्ट्रिय चेतना जगाउन नसकेको अवस्था छ ।
अहिले भईरहेको ब्रेनड्रेको अवस्थाले निकट भविष्यमा नै देशले आवश्यक क्षेत्रमा दक्ष जनशक्ति पाउन नसक्ने अवस्थाको संकेत गर्दछ । देशभित्र नै भविष्यको खोजीगर्ने शिक्षित जनशक्ति उत्पादन गर्न राज्य कहाँ चुक्यो ? विश्व इतिहासको शैक्षिक विकासको अध्ययन गर्दा शिक्षित नागरिकमा स्वदेशीपनको आत्मानुभूति गराउन सफल व्यक्ति एवं व्यक्तित्वहरुमा भारतमा महात्मा गान्धी, मिश्रमा अब्दुल नासिर, युगोस्लोभियामा मार्सल टिटो र ताञ्जानीयामा जुलीयस नेरेर र चीनमा माओत्सेतुङको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।
शिक्षा मूलतः चेतना, कर्तव्य र समाजप्रतिको उत्तरदायित्व विकास गर्ने माध्यम हो । देश प्रेम भावनात्मक कुरामा मात्र होइन, जिम्मेवारीको उच्च चेतना हो । शिक्षित जनशक्तिले केवल देशको आलोचना मात्र गर्ने होइन, सुधारको अभियानमा समाजसँग होस्टेमा हैंसे गरेर हिंड्न सक्नु पर्दछ । यस सन्दर्भमा हाम्रो शिक्षाले वालकृष्ण समको कवितामा भनिए जस्तो ‘देश भक्ति त मर्दैन चुत्थै देश भए पनि’ को भाव शिक्षित जनशक्तिमा चरितार्थ भएको पाईंदैन । देशले लगानी गरेर उत्पादन गरेको जनशक्ति विकसित देशहरुमा तीव्र पलायन भईरहेको छ ।
शिक्षा खोज, अनुसन्धान र नवप्रबर्तनको आधार हो । वैज्ञानिक शिक्षाको अभावमा देशमा अथाह रुपमा रहेका प्राकृतिक स्रोत र साधनको सदुपयोग हुन सकेको छैन । कृषि शिक्षाको अभावमा आप्mना गैरीखेतहरु बँझाएर शिक्षित युवाहरु रोमानिया, इजरायल, कोरिया लगायतका देशहरुमा कृषि क्षेत्रमा कामगर्न पुतली बत्तिमा होमिए झैं आकर्षित भएका छन् । के देशका शिक्षालयहरु अन्तराष्ट्रिय बजारका लागि श्रमिक उत्पादन गर्न स्थापना गरिएको हो ? राज्यले शिक्षामा गरेको ठुलो लगानीको विकसित देशका श्रम बजारका लागि हो त ? होइन । तर अहिले यस्तै भईरहेको छ ।
देशको सामाजिक चेतना, आर्थिक प्रगति र साँस्कृतिक स्तर शिक्षाले निर्धारण गर्दछ । शिक्षा कक्षा कोठा भित्र किताबका ठेलीहरु कण्ठस्त गराउने बिषय मात्र होइन, यो त व्यक्ति समाज र राष्ट्रलाई आत्मनिर्भर बनाउने आधार हो । विद्यमान शिक्षा प्रणालीले उल्लेखित आधार निर्माण गर्न सकेको छैन । अहिलेको शिक्षित युवा पुस्ताले देशको माटोमा पसिना पोख्न चाहँदैन । पढेलेखेको युवा पुस्तामा विदेश पलायनको रहर गहिरो देखिन्छ । यस कोणबाट हेर्दा हाम्रो शिक्षामा स्वदेशीपनको अभाव प्रष्ट रुपमा झल्कन्छ ।
राज्यले असल, कर्मशील, इमानदार, नैतिकवान, साँस्कारिक, सहिष्णु, सिर्जनशील, कर्मशील तथा उद्यमशील नागरिक उत्पादन गर्नु पर्दछ । शिक्षामा व्यवहारिक सीप तथा नैतिकता महत्वपूर्ण पक्ष हुन् । हाम्रो देशका शिक्षालयहरुबाट उत्पादित शिक्षितहरुमा माथि उल्लेख गरे जस्ता गुणहरुको अभाव देखिन्छ । राज्यले शिक्षामा ठूलो धनराशी खर्च गरिरहेको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकहरु पनि संशोधन, परिमार्जन तथा परिवर्तन भइरहेको छ । तथापि शिक्षित व्यक्तिले आफूले अध्ययन गरेको शिक्षाबाट कामकाजी बन्न सकेको छैन ।
हाम्रो शिक्षा रोजगारीसँग जोडिएको छैन । प्राकृतिक स्रोत र साधनको पहिचान, खोज, अनुसन्धान, उत्खनन् तथा नवप्रबर्तनसँग शिक्षाको साइनो देखिँंदैन । यस अर्थमा हाम्रो शिक्षा प्रतिकात्मक रुपमा चिया बगानमा कफीको खोजी भईरहेको अवस्थामा छ । कफी प्राप्त गर्न कफीकै खेति गर्नु पर्दछ भने झैँ शिक्षत जनशक्ति अनुशासित, कर्तव्यनिष्ठ, सिर्जनशील, देशभक्ति तथा उद्यमशील हुन तदनुरुपको शिक्षा प्रणाली आवश्यक ठानिन्छ ।
देशले माटो र श्रमलाई सम्मान गर्ने, आत्मनिर्भर बन्न सक्ने शिक्षा खोजी रहेको छ । भन्दा, पढ्दा र सुन्दा नमिठो लागेता पनि देशका शैक्षिक संस्थाहरुले अन्तराष्ट्रिय श्रम बजारमा काम गर्ने श्रमिकहरु उत्पादन गरिरहेका छन् । ब्रेनड्रेन देशको ठुलो समस्याको रुपमा देखिएको छ । हाम्रो पाठ्यक्रम तथा शिक्षण सिकाइ पद्दति शास्त्र, शुत्र, जीवनी तथा सूचनाहरुलाई रटान गरी प्रमाणपत्र आर्जन गर्ने मोडेलमा आधारित छ । अहिलेको शिक्षा प्रणालीमा तहगत पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइबाट उत्पादित जनशक्तिमा मौलिक सिर्जना भन्दा बढि आयातित सोच हावी भएको देखिन्छ ।
देशमा शिक्षाको रुपान्तरणको बिषय बहसमा छ । शिक्षामा कुनै एउटा पक्षमा मात्र सुधार गरेर समय सापेक्ष बनाउन सक्ने देखिँदैन । एकातिर शिक्षामा राष्ट्रिय चेतनाको जागरण, नागरिक शिक्षा बिषयबस्तु तथा मानव मूल्यको अध्ययन आवश्यक देखिन्छ भने अर्कोतिर विज्ञान, प्रविधि, नवप्रबर्तनको क्षेत्रमा व्यापक रुपमा सुधारको खाँचो छ । शिक्षित जनशक्तिमा देशको माया, राष्ट्रियता र देशभक्तिको भावना कमजोर हुँदा लाखौंको संख्यामा शिक्षित युवाहरु विदेशिएका छन् । राज्यले शिक्षा क्षेत्रमा देखिएका उल्लेखित लगायतका समस्याहरुको समाधान गर्न ढिला गर्नु हुँदैन ।
अन्त्यमा, शिक्षा केवल औपचारिक रुपमा प्रमाणपत्र आर्जन गर्ने माध्यम मात्र होइन, यो त व्यक्तिको सर्वाङ्गीण विकासको आधार हो । देश विकासको पूर्वाधार हो । पर्याप्त सीप र आत्मविश्वास विहिन शिक्षाले व्यक्ति, समाज र राष्ट्रको आवश्यकतालाई परिपूर्ति गर्न सक्दैन । त्यसैले देशको माटो, संस्कृति, उत्पादन र नवप्रर्बतनमा आधारित शिक्षा समयको माग मात्र होइन, अनिवार्य सर्त हो । यो सर्त पूरा गर्न राज्यले नतिजामुखी कार्य गर्नु पर्दछ । गर्न सकोस् ।
प्रतिक्रिया