एउटै कोठामा ५ वटा कक्षा, त्यही पनि खाली !


रौतहट - विद्यालयको रेकर्डमा १ सय २८ जना विद्यार्थी छन्, तर गत शुक्रबार विहान साढे १० बजे राजदेवी नगरपालिका वडा नम्बर ६ कटरवन स्थित श्री प्राथमिक विद्यालय पुग्दा एक जना पनि विद्यार्थी भेटिएनन् ! विद्यालय शुरु हुने समय विहान १० बजे हो, दुई कोठे भवनको एउटा कोठामा गुटखा चपाउँदै एक्लै बसिरहेका हेडसर विरेन्द्र यादव पूर्व तिरबाट ठूलो स्वरमा घन्केको माईकको आवाज तिर कान सोझ्याउन आग्रह गर्दै भन्छन् – सुन्नुस् त, आज गाउँमा मेला छ, त्यस माथि धान काट्ने सीजन शुरु भयो त्यसैले विद्यार्थी आएनन् !

विद्यालय वरिपरीका स्थानीय भन्छन् – शुक्रबार मात्रै हैन प्रायः सँधै जसो विद्यार्थी आउँदैनन् !

५ वटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने भनिएको कक्षामा १० वटा डेक्स बेञ्च छन् ! तर, आज विद्यार्थी शुन्य ! त्यही विद्यार्थी नभएको खाली कक्षामा प्लास्टिकको कुर्चिमा बसेका हेडसरसँग प्रश्न सहितको बनिबनाउ उत्तर छ – नजिकै ३ वटा बोर्डिङ् स्कुल छन्, विद्यार्थी सबै त्यतै जान्छन् सरकारी स्कुलमा को आउने ?

विद्यालय वरीपरी बाक्लो बस्ति छ, जिल्ला सदरमुकाम गौरबाट विद्यालय पुग्ने मुख्य सडक छेउमा सानो छाप्रामा सञ्चालित निजी विद्यालयमा खचाखच विद्यार्थी छन् । तर, नागरिकको करबाट राज्यले शिक्षकका लागि तलब सुविधाको व्यवस्था गरेको, सुविधा सम्पन्न पक्कि भवन भएको, विद्यँर्थीका लागि खाजाको प्रवन्ध भएको र खाजा बनाउन नगरपालिकाले भान्सा कोठा समेत बनाईदिएको विद्यालयमा किन विद्यार्थी आउन छाडे ?

हेडसरसँग अर्को उस्तै बनिवनाउ उत्तर छ – हुनेखाने धनिले छोराछोरी काठमाडौं पढाउँछन्, गाउँमै रहेकाहरुले पनि बोर्डिङ् हाल्छन्, यहाँ त चमार, पासवान, मण्डल जस्ता दलित र मुसलमानका छोराछोरीको मात्रै नाम लेखाएका छन् ।

तिनै नाम लेखाएका विद्यार्थी पनि किन आउँदैनन् ? विद्यालयमा विद्यार्थी नआउनुका कारण खोज्ने र निवारण गरी पठन पाठन गर्ने दायित्व शिक्षकको हैन र ?

मुसुक्क हाँस्दै हेडसर भन्छन् – कहाँ तपाईले भने जस्तो सजिलो छ, विद्यार्थी नै नआए पछि कसरी हुन्छ ?

विद्यार्थी नआउनुको कारण, अभिभावकलाई चित्त बुझाउने शैक्षिणिक वातावरण निर्माणका लागि शिक्षकले गर्न सक्ने उपाय लगायतका प्रश्नको उत्तर हेडसरले पर्गेल्न सकेनन् !

उस्तै आवाजमा उनको एउटै रटान छ – विद्यार्थी नै आउँदैनन् त के गर्ने ?

विद्यालयमा रहेका भनिएका विद्यार्थीको विवरण कति छ त ? विद्यार्थी संख्याको विवरण राख्ने हेडसरको काईदा पनि गजवकै छ !

हत्त न पत्त सर्टको खल्तीमा हात हालेर एउटा चिर्कटो निकाल्छन् ! त्यसमै छ विद्यार्थी सँख्याको विवरण !

२०५३ साल देखि यही विद्यालयमा जागिर खाईरहेका यादव सरसँग कुराकानी गरेको झण्डै आधा घण्टा पछि आईपुगे २०६६ साल देखि यही विद्यालयमा जागिर खाईरहेका शिक्षक चन्द्रिका प्रसाद यादव ।

आफ्नो विद्यालयमा विद्यार्थी उपस्थितिको अवस्थाले मन पोल्दैन ?

चन्द्रिका सरको कुरा पनि हेडसरकै फोटोकपी छ !

१५ मिनेट जति उनका उस्तै कुरा सुन्दै गर्दा आईपुगे २०६६ साल देखि जागिर खाईरहेका अर्का शिक्षक हरेन्द्र यादव !

खाली डेक्स बेञ्च, पछिल्तिर राखिएको विभिन्न संस्थाले दिएको शैक्षिक सामग्रीको बन्द बाकस र त्यस माथि राखिएका प्रारम्भिक बाल कक्षाका बालबालिकाका लागि बनाईएको मैला चकटीको थुप्रोले गिज्याईरहेझैं लाग्यो हरेन्द्र सर सँग धेरै कुरा गर्न मनै लागेन ।

कक्षा कोठामा बसेर विद्यार्थीलाई सिकाउनु पर्ने समयमा कार्यालय सहयोगीका साथमा हेडसर विग्रेको ट्युवेल बनाउन लागे । उनी काममा जुटेपछि शिक्षकहरु पनि सघाउन जुटे ।
यत्तिकैमा आईपुगिन बाल विकास कार्यकर्ता अञ्जु कुमारी यादव । बाल विकास कक्षाको हालत पनि उस्तै ! विद्यालय शुरु हुने समय भन्दा झण्डै डेढ घण्टा ढिलो आएकी यादवको कुरा पनि उस्तै !
...
जिल्ला सदरमुकाम गौरबाट झण्डै ४ किलोमिटर जति पूर्व तर्फ लागे पछि पुगिन्छ – राजदेवी नगरपालिकाको कार्यालय । कार्यालयको दक्षिण तर्फको बाटो सँगै जोडिएको छ २००७ सालमा स्थापना भएको उक्त विद्यालय । शुरुमा स्थापना भएको ठाउँमा बाग्मती नदीले कटान गरे पछि २०५५ सालमा कटरवनमा विद्यालय सारिएको थियो । त्यति खेरको कुरो बेग्लै थियो विद्यार्थी खचाखच थिए । क्रमशः विद्यालयबाट विद्यार्थी सँख्या घट्न थाल्यो । अभिभावकले किन आफूलाई पत्याएनन् खोज्न तिर शिक्षक लागेनन्, बोर्डिङ्का कारण घटेको निष्कर्शमा बसिरहे ।  

अहिले त अर्को हैरानी भोग्दै छ विद्यालय । ५ वटा कोठा सहितको भवनमा नगरपालिकाको विभिन्न शाखा राखिएका छन् । स्थानीय सरकार गठन भएसँगै विद्यालयका ४ कोठामा नगरपालिकाको शाखा राखिएका हुन् । एउटा कोठामा विद्यालयका मसलन्द सामान राख्न दिईएको छ । विद्यार्थी पढ्ने अरु कक्षामा हाकिम सावहरुका कुर्चि टेवुल भरिएका छन् !

संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राख्दै, विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा त्यसलाई कार्यान्वयन गरी सार्वजनिक शिक्षा सुधार्ने तर्फ जनप्रतिनिधिको चासो देखिदैंन । उनीहरुसँग पनि शिक्षकका जस्तै बनिबनाउ उत्तर छन् – विद्यार्थी नआएर विद्यालयनै खाली भए पछि के गर्ने त ? खाली राख्नु भन्दा नगरपालिकाको कार्यालय राख्दा राम्रो ठानेर निर्णय गरियो ।  

२० वटा सामुदायिक विद्यालय रहेको नगरपालिकाको वडा नम्बर  ६ मा ३ वटा विद्यालय छन् । अरुमा समस्या नभए पनि यो विद्यालयमा विद्यार्थी नआउनुको कारण शिक्षकहरुको जस्तै तर्क छ वडाध्यक्ष अच्छे लाल राउत कुर्मीको ।

'जब विद्यार्थी नै आउँदैनन् भने के गर्ने त ?' झर्को मानेको स्वरमा उनी भन्छन् 'हामी भन्दा अनुभवी त शिक्षकहरु हुन् उनीहरुलाई सुधारका काम गर्न भनेकै छौं, तपैंहरुकै जिम्मेवारी हो भनिरहेछौं हुँदैन त के गर्ने ?'

सार्वजनिक शिक्षा सुधार विना समाजको विकास असम्भव हुने आजका विश्वका विकसित भनिएका देशका उदाहरण र संविधानले ग्यारेण्टि गरेको नि:शुल्क शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकार कार्यान्वयन गर्ने स्थानीय सरकारको जिम्मेवारीका बारेमा उनीसँग कुरा सुन्ने धैर्यता रहेन शायद, उठेरै हिँडे !

विद्यार्थी भएनन् भन्ने वहानामा विद्यालय भवन नै भोगचलन गरेर ५ वटा कक्षा एउटै कोठामा खुम्च्याएको स्थानीय सरकारलाई विद्यालय वरीपरिका बालबालिकालाई पहुँचमै रहेको विद्यालयमा पढ्ने वातावरण बनाउनु पर्छ भन्ने चेत नआउनु विडम्बना देखिन्छ । संविधानले नै विद्यालय तहको व्यवस्थापन गर्ने जिम्मा दिएको निकायका प्रमुख अर्थात् नगरपालिकाका प्रमुख धिरेन्द्र कुमार सिंह संघीय सरकारलाई देखाएर पन्छिन्छन् ।

'आवश्यक ऐन नियम निर्माणमा संघीय सरकारले ढिलाई गरिदियो अनी हामीले शिक्षा सुधारमा सोचे जस्तो काम गर्न सकेनौं' उनी भन्छन्, 'हामी त काम गर्ने भनेर निर्वाचित भएको हो, तर संघीय सरकारले कानून नबनाईदिएका कारण प्रदेश कानून आएन र प्रदेश कानून नभए पछि स्थानीयले कानून बनाउन सक्दैन भनेर कर्मचारीहरुले भनिदिए हामी त त्यसै अलमलमा पर्यौं ।'