Edukhabar
मंगलबार, १५ बैशाख २०८३
गतिविधि

सांसदले माफी मागेको तीन दिन पछि विद्यालयले सांसदसँग माग्यो माफी !

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले माफी माग्दै जारी गरिएको विज्ञप्तिमा ‘माननीयका अभिव्यक्ति प्रति प्रअले मनन गरी क्षमायाचना’ गरेको उल्लेख

मंगलबार, १५ बैशाख २०८३

काठमाडौ - प्रधानाध्यापकलाई थर्काएको घटनामा आलोचना भएपछि सांसदले माफी मागेको तीन दिन पछि विद्यालयले पनि सांसदसँग माफी मागेको छ । गत बिहीबार ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको घटनाको तीन दिन पछि सांसद विश्वराज पोखरेलले माफी मागेका थिए । त्यसको तीन दिन पछि विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका हुन् । 

उक्त घटनाले सांसद पोखरेलको मानमर्यादामा पर्न गएको आघात प्रति पुनः क्षमायाचना माग्दै विद्यालयले विज्ञप्ति निकालेको छ । सांसद पोखरेल विद्यालय आउँदा प्रअ मगर विद्यालयका मागपत्र तयार गर्न व्यस्त रहेको भन्दै विज्ञप्तिमा घटनाले माननीयज्यूलाई मानमर्यादमा पर्न गएको आघातप्रति क्षमा याचाना गरिएको छ । 

सांसद पोखरेल पूर्व कार्यक्रम अनुसार नै विद्यालयको समस्या तथा शैक्षिक गतिविधिको जानकारी लिन विद्यालयमा आएको उल्लेख गर्दै विज्ञप्तिमा प्रअ मगर विद्यालयका समस्या तथा आवश्यक मागहरू तयार गर्ने क्रममा व्यस्त हुँदा सांसद आएकोे जानकारी समयमै थाह नभएको उल्लेख गरिएको छ । 

'केहिबेरपछि मागपत्र सहित स्वागत सत्कार गर्न कार्यालयबाट बाहिर निस्कँदा माननीयज्यू विद्यालयबाट छोटो समयमा नै बाहिर निस्किसक्नु भएको रहेछ’ विज्ञप्तिमा भनिएको छ ‘हतारिँदै विद्यालयको मागपत्र सहित माननीयलाई बाहिरी गेटमा भेट तथा स्वागत गर्ने क्रममा माननीयका अभिव्यक्ति प्रति प्रअले मनन गरी क्षमा याचना सहित मागपत्र पेस गरी विद्यालयको कार्यालयमा गई विविध पक्षमा छलफल भई सौहार्दपूर्ण वातावरणमा उहाँको टिमसँग बिदा भएको अवस्थामा यस घटनाले माननीयज्यूलाई मानमर्यादमा पर्न गएको आघातप्रति विद्यालय परिवार पुनः क्षमा याचाना गर्दछ ।’

आफू आउँदा विद्यालयले स्वागत नगरेको निउँमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफू 'माननीय' भएको र 'माननीय' आउँदा हेडसरले स्वागत नगरेको भन्दै पोखरेलले प्रधानाध्यापक सन्तबहादुर मगरको उछित्तो काडेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । सांसदको तिब्र आलोचना भए पछि उनले पनि शनिबार विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । 

पढ्नुहोस् : प्रधानाध्यापकलाई थर्काउँदै सांसद, चौतर्फी आलोचना पछि माफी

प्रतिक्रिया