काठमाडौ - आफ्नो स्वागत नगरेको निउँमा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका सांसदले अन्ततः माफी मागेका छन् । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित ओखलढुङ्गाका सांसद विश्वराज पोखरेलले गत बुधबार खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि उनको तिब्र आलोचना भएको थियो ।
आफू 'माननीय भएको' र 'माननीय' आउँदा हेडसरले स्वागत नगरेको भन्दै पोखरेलले उछित्तो काडेको भिडियो सार्वजनिक भएको थियो । विद्यालयका शिक्षक माथि गरिएको उक्त व्यवहार सांसदको पदीय मर्यादा अनुकुल नभएको र शिक्षकलाई हेपिएको भन्दै पार्टि कै नेता कार्यकर्ता सहित चौतर्फि आलोचना भएपछि पोखरेल माफी माग्न वाध्य भएका हुन् । उक्त घटनाको तीन दिन पछि शनिबार पोखरेलले विज्ञप्ति जारी गर्दै आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने कुरा स्वीकारेका छन् । परिस्थितिजन्य दबाबका बाबजुद आफूले थप धैर्य र मर्यादा राख्नुपर्ने पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘यस घटनाका कारण पार्टी, शुभेच्छुक, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम जनसमुदायलाई ठेस पुगेकोमा म विनम्रतापूर्वक क्षमा चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ ।
यद्यपी सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओले घटनाको पूर्ण सन्दर्भ नबुझाई केही अंश मात्र काटेर प्रस्तुत गरेको उनको दावी छ । तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत हुँदा विवाद सिर्जना भएको भन्दै उनले खेद प्रकट गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट र समस्या बुझ्ने भन्दै उनी जिल्ला पुगेका थिए । त्यही क्रममा उनी विद्यालय पुगेका थिए । सांसद विद्यालय आउने भएपछि आफू सहित अन्य शिक्षक कर्मचारी बिहान ७ बजे नै विद्यालय पुगिसकेको मगरको दावी छ । विद्यालयका समस्याहरू लिखित रूपमै बुझाउने योजना सहित औपचारिक पत्र तयारीमा लाग्दा बाहिर निस्कन ढिलो हुन गएको प्रअ मगरले स्पष्टिकरण दिएका छन् ।
'हाम्रा ठाउँको अभिभावक आउँदा खाली हात के भेट्नु भनेर माग पत्र तयार गर्दै थियौं त्यही बेला पटक पटक बत्ति गयो, त्यसैले त्यो काम सक्न तिर ध्यान दिदाँ सांसद आउनु भएको थाहै पाईन' उनले भनेका छन् ।
पूर्व अतिरिक्त महानिरीक्षक समेत रहेका सांसद पोखरेलले प्रधानाध्यापकलाई अर्कै पार्टिको भएकोले हेपेको भन्दै आफ्नो विगतको पदीय हैसियतको समेत 'धाक' दिदैं उनले हप्काएको भिडियोमा सुनिन्छ । आफू नेपाल प्रहरीको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त व्यक्ति भएको र हाल जनताको मत जितेर आएको ‘माननीय’ भएको भन्दै उनले पटक पटक आफ्नो सम्मानमा कमी भएको गुनासो गरेका थिए । आक्रोशित पोखरेलले विद्यालयका शिक्षकहरूलाई बैठक बसेर ‘खेद प्रस्ताव’ पारित गर्न समेत दवाव दिएका थिए । उनको शैली प्रति समाजका विभिन्न तह र तप्काबाट तिब्र आलोचना भए पछि अन्नतः उनी आफैंले माफी मागेका छन् ।
उनको उक्त कृत्यका विरुद्ध शिक्षकका विभिन्न पेशागत संगठनहरुले पनि आपत्ति जनाएका थिए ।
प्रतिक्रिया