Edukhabar
मंगलबार, १५ बैशाख २०८३
गतिविधि

स्थानीय सरकार मातहतको शिक्षा अधिकार खारेजीको माग

शिक्षामा दलगत राजनीतिक प्रभाव निस्तेज पार्ने नीतिलाई ट्रेड यूनियन अधिकार हननका रुपमा ब्याख्या गर्दै आपत्ति

मंगलबार, १५ बैशाख २०८३

काठमाडौ - शिक्षक र कर्मचारी आवद्ध चार संगठनले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको प्रावधान खारेजीको माग गरेका छन् । विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको अनुसूची ८ नै खारेज गर्न ती संगठनहरुले माग गरेका हुन् । 

नयाँ संविधान जारी भए देखि नै नेपाल शिक्षक महासंघ उक्त व्यवस्था प्रति असन्तुष्ट हुँदै आएको थियो । महासंघमै आवद्ध विभिन्न दल निकट घटकहरु मध्ये एजुकेसन इण्टरनेसनलमा आवद्ध चार संगठनले संविधानको उक्त प्रावधान खारेजीको माग गरेका हुन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद् इण्टरनेसनलमा आवद्ध छन् । यीनै चार संगठनले शिक्षा बजेटका सन्दर्भमा गरेको कार्यक्रम पछि  सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा संविधानको अनुसूची खारेजीको माग उल्लेख छ । 

कार्यक्रम पछि जारी गरिएको विज्ञप्तिमा उल्लेख १४ बुँदे मागको अन्तिम बुँदामा उनीहरुले संविधानको अनुसूची ८ लाई खारेज गरी अनुसूची ९ लाई पूर्ण कार्यन्वयन गर्ने विषय समेटेका छन् ।

संघीयताको मर्म अनुसार तल्लो तह सम्म राज्यको पहुँच विस्तार गर्ने मान्यतामा संविधानमा विद्यालय तह सम्म सञ्चालन र नियमनको अधिकार स्थानीय सरकार मातहत राखिएको हो । ‘आधारभूत र माध्यमिक तह’ सम्मको शिक्षाको अधिकार स्थानीय तहको हुने संविधानको उक्त व्यवस्थालाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले थप स्पष्ट पारेको छ । शिक्षा सम्बन्धी २३ ओटा कार्यहरु स्थानीय सरकारले गर्नुपर्ने उक्त ऐनमा व्यवस्था छ । तर, उक्त अधिकार स्थानीय सरकार मातहत हुन नहुने भन्दै शिक्षकका नेताहरुले उक्त अधिकार कटौतीको माग गर्दै आएका थिए । 

शिक्षाको अधिकार स्थानीय सरकार मातहत भयो भने नजिकको सरकारबाट हुने नियमन र अनुगमन 'छल्न' नसकिने ठहरले शिक्षक नेताहरु शुरु देखि नै उक्त व्यवस्थाको विरुद्धमा उत्रिदैं आएका छन् । 

पढ्नुहोस् : स्थानीय सरकारका नीति नियम नमान्ने शिक्षक महासंघको 'धम्की'

शिक्षक महासंघको दम्भी सोच

शिक्षक नेताहरुले स्थानीय सरकारलाई ल्याप्चेको संज्ञा समेत दिदैं आएका छन् । 

पढ्नुहोस् : शिक्षक नेताका कुण्ठा : ल्याप्चे लाउनेका कुरा मान्नु पर्ने ?

महासंघ मार्फत् उक्त व्यवस्था उल्ट्याउन लागिपरेका शिक्षक नेताहरुको मागलाई तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलले २०७८ फागुन १० गते सहमती जनाईदिएका थिए । ५१ बुँदे उक्त सहमतीले संविधानले व्यवस्था गरेको शिक्षा अधिकार कार्यान्वयनको विषयलाई अनावश्यक गिजोलिदिएको  थियो । 

पढ्नुहोस् : स्थानीय सरकारको अधिकार संकुचनमा शिक्षा मन्त्रीको सहमति

शिक्षा मन्त्रीको 'प्रतिगामी' दस्तखत

यही सहमती देखाउँदै दलगत आवद्धताका शिक्षक नेताहरुले सरकारसँग वार्गेनिङ् गर्दै आएका छन् । मंगलबार जारी गरिएको विज्ञप्तिमा उक्त सहमती कार्यान्वयनको माग समेत समेटिएको छ । 

जेन जी बिद्रोहको जगमा भएको निर्वाचनको म्याण्डेड अनुसार गठित झण्डै दुई तिहाईको सरकारले शैक्षिक क्षेत्रमा जारी दलगत राजनीतिक प्रभावलाई निस्तेज पार्ने नीति अख्तियार गरेको छ । शिक्षा क्षेत्रमा लामो समय देखि जरो गाडेर बसेको दलगत राजनीतिक प्रभावका विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको छ । यो सन्दर्भलाई शिक्षक संगठनहरुले ट्रेड यूनियन अधिकार हनन्का रुपमा ब्याख्या गर्दै आपत्ति जनाएका छन् । उक्त मागको बुँदा नम्बर पाँचमा ट्रेड युनियन अधिकार नखोस्न भनिएको छ । 

परिषद्का अध्यक्ष गंगाराम तिवारी, युनियनका अध्यक्ष होमकुमार थापा, संगठनका अध्यक्ष हंसबहादुर शाही  र संघका अध्यक्ष सोमनाथ गिरी गरी चार संगठनका अध्यक्षहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख १४ बुँदे माग यस्ता छन् :

EI_teacher_banner
चार संगठनले जारी गरेको विज्ञप्ति

 

प्रतिक्रिया