अनलाइन कक्षा त छ भन्दा छ मात्रै ! शिक्षक जुटे विकल्पमा


भक्तपुर - गाउँघरमा पो गाह्रो, शहरी क्षेत्रमा त ईण्टरनेटको पहुँच सहज छ, बालबालिकाले सजिलै पढि हाल्छन् नी !

शहर बजारका केही निजी विद्यालयले अनलाईन कक्षा शुरु गरिसकेको हल्ला चल्दै थियो ।

हामी पनि किन पछि पर्ने ? यालाछें स्थित शारदा माध्यमिक विद्यालयका सबै २४ जना शिक्षकहरु अनलाईन पढाउन जुटे ।

उनीहरुले कम्मर कसे – केही गर्ने हो, गरेर देखाउने हो !

विद्यालयमा भएको भौतिक, प्राविधिक स्रोत, साधन र शिक्षकको मेहनेतले अनलाइन कक्षा सञ्चालन शुरु भयो ।

विद्यालयका प्रधानाध्यापक रोशनराज तुईंतुईंको टिम उत्साहका साथ जुट्यो, शुरुमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी कक्षा शुरु भयो ।

दुर दराज हो र ? देशको संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका तीन मध्ये एक जिल्ला भक्तपुरका विद्यालय र विद्यार्थी पो त !

अनलाईनबाट पढाई गर्नु के अनौठो भयो र ?

तपाई पनि यही सोच्दै हुनुहुन्छ हैन ?

त्यसो हो भने तपाई पुरापुर गलत हुनहुन्छ । भक्तपुरका सामुदायिक विद्यालयले आफ्ना बालबालिकाको ईण्टरनेट पहुँचका बारेमा तयार पारेको तथ्याङ्क हेर्दा यो कुरा पुष्टि हुन्छ  ।

शारदा माध्यमिक विद्यालयका विद्यार्थी मध्ये ईण्टरनेटमा पहुँच हुने विद्यार्थीका संख्या जम्मा १२ प्रतिशत मात्रै छ । सूर्यविनायक नगरपालिकाका ३४ सामुदायिक विद्यालयमा गरिएको प्रारम्भिक सर्वेक्षणले १८ देखि १९ प्रतिशत विद्यार्थी मात्र ईण्टरनेटको पहुँचमा छन् । मध्यपुर थिमी नगरपालिकामा रहेका १८ सामुदायिक विद्यालयहरुमा ४ हजार ५ सय विद्यार्थी पढिरहेका छन् । तिनीहरु मध्ये २४ प्रतिशत जतिमा मात्र ईण्टरनेटको पहुँच रहेको नगर शिक्षा शाखाको प्रारम्भिक तथ्यांक छ ।

चाँगुनारायण नगरपालिकामा रहेका ३५ विद्यालयका कति बालबालिका ईण्टरनेटको पहुँच बाहिर छन् भन्ने कुरा अहिले सम्म यकिन गरिएको छैन । तर, अवस्था र जीवनशैली हेर्दा माथि उल्लेखित पालिकाहरुको भन्दा फरक हुनु पर्ने कुनै बलियो आधार देखिदैँन ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भक्तपुर नगरको बसोबास र सामुदायिक विद्यालयमा जाने बालबालिकाको अवस्था हेर्ने वित्तिकै कुनै गहिरो अध्ययनको खाँचो समेत पर्दैन । कुन बालबालिकामा ईण्टरनेटको पहुँच छ र कसमा छैन भन्ने कुराको यकिन खाली आँखाले नै गर्न सकिन्छ !

यहाँ त पठनपाठनको कुरा जोडिएको छ । ईण्टरनेटको पहुँचले मात्रै पनि भएन, उक्त ईण्टरनेटको गति, त्यसका लागि कम्प्युटर, ल्यापटप जस्ता आवश्यक भौतिक सामग्री नभएका विद्यार्थीको संख्या कति छ ? यकिन तथ्याङ्क त जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई समेत थाहा छैन !

अझ कतिपय विद्यालयहरु त टेलिफोनको पहुँचमा समेत छैनन् ।

‘तपाईं ईण्टरनेटको कुरा गर्नु हुन्छ ! हामीकहाँ टेलिफोनको पहुँच सम्म छैन’ चाँगुनारायण नगरपालिका वडा नं. ७ वागेश्वरीको बागेहिणी माविका प्रधनाध्यापक साधुराम गैंडाले भने ।

भक्तपुर नगरपालिकाको राम मन्दिर स्थित शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्य ईण्टरनेटको पहुँच छ छैन भन्ने कुरा सम्म पुगेकै छैनन् ।

‘हाम्रो स्कुलमा त अधिकांश विद्यार्थी काम गरी खाने वर्गका, उपत्यका बाहिरबाट आएर कोठामा बस्नेका सन्तान थिए’ उनी भन्छन, ‘ईण्टरनेट छ छैन भन्ने त दोश्रो कुरा, लकडाउनका कारण आमावावुको काम खोसियो, उनीहरु आफ्नै घर फर्के, कसलाई पढाउने ?’

सामुदायिक विद्यालयका यो अवस्थाले – ‘गाउँघरमा पो गाह्रो, शहरी क्षेत्रमा त ईण्टरनेटको पहुँच सहज छ, बालबालिकाले सजिलै पढि हाल्छन् नी !’ भन्ने तपाईको अघिको सोचाईलाई उथलपुथल पार्यो हैन ?

यो कहाली लाग्दो अवस्था देखिए पछि तपाई निश्कर्षमा पनि पुग्नु भयो होला – ‘शहर बजार भएको ठाउँ, राजधानी भएको जिल्ला भन्दैमा नहुने पो रहेछ !’

हाम्रा सामुदायिक विद्यालयमा कस्ता बालबालिका पढ्छन् ? उनीहरुको आर्थिक, सामाजिक अवस्था कस्तो छ ? भन्ने हेक्का नराखि कुरा गर्नु भनेको धरातलको विश्लेषण विनै बन्ने योजना र हुने कामको अर्को शिलशिला मात्रै हुने पक्का छ ।

विकल्पको हुटहुटी

त्यसो त कर्माचार्य सरको जस्तो अवस्था त सबै विद्यालयको छैन पनि । आफ्ना टोल छिमेकका बालबालिका पनि सामुदायिकमै पढ्छन् । उनीहरुलाई कसरी विद्यालय सम्म जोड्ने ?

आफ्ना बालबालिकाको ईण्टरनेटको पहुँचको तथ्याङ्कबाट झस्केका शारदा माविका हेडसर तुईंतुईंका मनमा अनेक कुरा खेलिरहेको थियो – 'संकट समाधान गर्ने हिम्मत र उपाय ननिकाल्ने पनि के शिक्षक !'

उनको मनमा हुटहुटी जगाउने प्रश्न उब्जियो – ईण्टरनेटको पहुँच छैन, विद्यार्थीसँग कम्प्युटर छैन भन्दैमा के अब हामीले हाम्रा बालबालिका नपढाउने त ?

कहिले सम्म 'ब्याट्री सकिएको घडीका सुई' जस्तै अचल रहने ?

केही अभिभावकको फोन आउन थाल्यो – ‘लौन सर, हाम्रा बालबच्चा त निक्कै बिग्रिने भए, तपाईंहरुले केही त गर्नु पर्यो ।’

आफ्नै मनको हुटहुटि र अभिभावकको बल मिलाएर तुईंतुईंको टिमले अनलाइन कक्षाको विकल्प खोज्यो ।

ईण्टरनेटको पहुँच नभएका विद्यार्थीलाई विद्यालयमै बोलाउने, सामाजिक दूरी कायम गरी पठनपाठनको काम अघि बढाउने । योजना अनुसार विद्यालयले सुरुमा पाठ्यपुस्तक वितरण कार्यक्रम तय गर्यो ।

‘पाठ्य पुस्तक पाए पछि विद्यार्थीमात्र हैन, अभिभावकको मुहारमा पनि चमक देखियो’, प्रअ तुईंतुईं भन्छन्, ‘तर, सबै अभिभावकहरु पढेलेखेका छैनन्, यसैले उनीहरुलाई घरमै पढाउने वातावरण बनाउने योजना बनायौं ।’

नर्सरी देखि कक्षा ७ सम्मका विद्यार्थीलाई घरमै पठनपाठन गराउनका लागि आवश्यक सामग्री निर्माण गर्ने योजना बन्यो । विद्यालय आउन सक्ने शिक्षकहरु विद्यालयमै, घरमै भएका शिक्षकहरु घरमै बसेर पाठ्यपुस्तक र पाठ्यक्रमलाई मुख्य आधार मानी वर्कसिट निर्माण गरे । कक्षा शिक्षक, विषय शिक्षकले पाठगत रुपमा वर्कसिट बनाए । कोहीले कम्प्युटरमा बनाए, कोहीले आफैंले हातले फुलिस्केपमा लेखे । सामान्य अवस्थामा कक्षा चलेको बेलामा कक्षाको सेतोपाटी, कालोपाटीमा वर्कसिट बनाउँदै आएका शिक्षकहरुले फुलिस्केपमा बनाउन थाले । त्यही वर्कसिटलाई फोटो कपि गरी विद्यार्थीलाई वितरण गरे ।

‘वर्कसिट लिन आउने बेलामा हामी पाठको विषयमा अभिभावक र विद्यार्थी दुबैलाई केही गाइडलाइन पठाउँछौं, यसरी पढाउनका लागि सहयोग गर्नूस् भनेर सिकाएर पठाउँछौं’ शिक्षक सरोज दुलालले भने ।

त्यसरी पठाइएको वर्कसिट कुनै कक्षाले दुई दिनमा, कुनैले तीन दिनमा त कोहीले चार दिनमा शिक्षकलाई बुझाउने गरेका छन् । शिक्षकले पहिला दिएको वर्कसिटको कार्य सकिए पछि मात्र विद्यार्थीलाई अर्को वर्कसिट दिने गरिएको छ ।

विद्यालयले यतिमा मात्र आफ्नो शैक्षिक क्रियाकलापलाई सीमित गरेको छैन । विद्यालयमा आउन नसक्ने, सक्ने, ईण्टरनेटमा पहुँच भएका नभएका विद्यालयका विद्यार्थीका लागि मात्र हैन, नगर भरका विद्यार्थीलाई पनि सहज हुने गरी स्थानीय एफएमसँग सहकार्य गरेर विद्यालयले रेडियो कक्षा पनि सञ्चालन गरेको छ । हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म रेडियो कक्षामा विद्यालयकै शिक्षक शिक्षिकाहरुले विषयगत रुपमा पढाउँछन् ।

‘हामीले त्यस वापत शिक्षकहरुलाई रेडियोले केही पारिश्रमिक दिन नपर्ने र रेडियोको समय लिए वापत केही दिन नपर्ने गरी सम्झौता गरेका छौं ।’ प्रअ भन्छन् ।

लकडाउनका कारण अवरुद्ध कक्षालाई पुनः सूचारु गर्ने कामसँगै विद्यार्थी तथा अभिभावकसँगको सम्बन्धलाई जीवन्त बनाउन यो कामले सघाएको शिक्षक दुलालको अनुभव छ । शुरुमा रेडियोमा बोल्न त्यति सहज नभए पनि रेडियोको बारेमा आधारभूत प्राविधिक ज्ञान र कार्यक्रम निर्माण शैलीका बारेमा रेडियोकर्मीहरुसँगको छलफलबाट सजिलो हुँदै गएको उनी बताउँछन् ।

‘रेडियोमा कक्षा सञ्चालन गर्दा एकोहोरो त भइ नै हाल्छ, तर हामीले मनमा मेरो अघि विद्यार्थी पढिरहेका छन्, सिकिरहेका छन्, अन्तरक्रिया गरिरहेका छन् भन्ने बुझ्नु पर्दो रहेछ, त्यो कल्पना गरी पढाउँदा समस्या हट्दो रहेछ’ शिक्षक दुलाल भन्छन् ।

अन्य विद्यालयका शिक्षकले जस्तै गरी संघीय सरकारकै मुख ताकेर अभिभावकलाई यति बजे यो टिभीमा यो रेडियोमा यो विषयको पढाइ हुन्छ भनेर बस्दा पनि भै हाल्थ्यो । तर तुईंतुईंलाई ‘दिएको खाने, अ¥हाएको गर्ने’ मन नभए पछि निस्केका सिकाइका अनेक उपाय मध्ये रेडियो कक्षा पनि बनेको छ ।

‘संघीय सरकारले चलाएको रेडियो कक्षा हाम्रा बालबालिका र अभिभावकले त्यति रुचाएनन्, अभिभावक स्वयम्ले विद्यार्थीले चिनेको अनुहार खोजे, आवाज खोजे, संघीय सरकारको कक्षालाई आफ्नै हो भन्ने नमाने पछि अर्को उपायका रुपमा रेडियो कक्षा थाल्यौं ।’ उनी भन्छन् अभिभावक मात्र हैन, हामी नि अलमलिएको यो बेलामा कोही शिक्षक अनलाइनमा, कोही रेडियोमा, कोही वर्कसिट निर्माणमा व्यस्त छन्, अझ विद्यार्थीलाई वर्कसिट दिए पछि घरमै सिकाइको वातावरण बनाउन पनि यसले सघाएको छ ।

के गर्दैछन् स्थानीय सरकार ?  

सूर्यविनायक नगरपालिकाका शिक्षा शाखाका शालिग्राम कोइराला पठनपाठन सञ्चालन गर्ने विषय अन्योल मै रहेको बताउँछन् ।

‘अहिले पनि नगरपालिका अन्योलमै छ, यही भएर हामीले सरकारी र संस्थागत विद्यालयका प्रअहरुसँग छलफल गर्यौं, यही गर्ने भन्ने निक्र्योल भएको छैन,’ कोइराला भन्छन्, ‘हामी आफैंले केही गर्न नसकेको बेला स्कुल आफैंले जे गर्न सकिन्छ, त्यही गर्न भनेका छौं ।’

उनले लकडाउनसँगै बसाइँ छाडेर गएका अभिभावकहरु सम्पर्कमा समेत नभएको बताउँदै अनलाइन मार्फत् कक्षा सञ्चालन गर्दा न्याय नुहने भएकाले अर्को विकल्पबारे कुराकानी भइरहेको बताए ।

‘अहिलेलाई कुनै विकल्प अघि आएको छैन, टिभीबाटै प्रशारण भइरहेका, एफएममा बजिरहेका विषयलाई नै हामीले रिफर गरिरहेका छौं ।’ कोइराला भन्छन् ।

सुरुमा एसईई परीक्षार्थीका लागि लक्षित गरी स्थानीय टिभीमार्फत् भचुर्अल कक्षा सञ्चालन गरेको भक्तपुर नगरपालिकाले अहिले त्यसलाई स्थगित गरेको छ । ३५ वटा विद्यालयमा करिब १० हजारको हाराहारीमा विद्यार्थी रहेको भक्तपुर नगरपालिकाका विद्यालयमा पढ्ने विद्यार्थीको ईण्टरनेटमा पहुँच ४७ प्रतिशत छ । पालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला स्थानीय सरकार भएर पनि अहिलेको अवस्थामा नगरपालिका आफैंले केही गर्न नसकेको स्विकार्छन् ।  

‘स्कुलहरुले नै आफैंले स्वतस्फुर्त रुपमा गरेका छन्, हामीले यस्तै गर भनेर निर्देशन पनि दिएका छैनौं, बजेट पनि दिएका छैनौं ।’ निरौला भन्छन् ‘नगपालिकाले अब तल्लो तहका विद्यार्थीका लागि भर्चुअल कक्षा थाल्ने सोच बनाएको छ ।’

मध्यपुर थिमी नगरपालिकाले कक्षा १० का विद्यार्थीका लागि लक्षित गरी आफ्नै युट्युब च्यानल सञ्चालन गरेको शाखा प्रमुख बालकृष्ण गैरेले बताए । उनले अधिकांश विद्यार्थी बसाइँ सरी गएको कारण कति विद्यार्थी त सम्पर्कमा समेत नभएको बताउँदै अहिले पाठ्यपुस्तक सम्म वितरण गरिएको जनाए ।

चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काका असार १ गतेबाट विद्यालयमा हाजिर हुन गएका शिक्षकलाई टोलटोलमा गएर भए पनि तथ्यांक संकलनको जिम्मा दिएको बताउँछन् ।  

‘अब कसरी अघि बढ्ने भन्ने कुराको कुनै टुंगो नै लागेको छैन, हामीसँग कुन कुराको उपलब्धता छ, कुनको छैन भन्ने तथ्यांक नै छैन, यस्तो बेलामा यही गर भन्न सकिने अवस्था छैन’ उनले भने, ‘हामीले संघीय सरकारले टिभी र एफएमबाट प्रशारण गरेको कक्षा नै सिफारिश गरिरहेका छौं ।, सरकारले कुन कुन दिन के के विषय, कुन कक्षाको पढाइ हुन्छ भन्ने तय गरेको छ, हामी त्यही रुटिन सिफारिश गरिरहेका छौं ।

चाँगुनारायण नगरपालिकाले लकडाउनकै समयमा शिक्षकहरुलाई अनलाइन कक्षाबारे जानकारी दिन तथा त्यसमा अभ्यस्त गराउन शिक्षकहरुलाई अनलाइन तालिमको आयोजना गरेको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्का बताउँछन् ।

‘एकहप्ते तालिम दिएकोमा सुरुका दुई दिन शिक्षकहरु उत्साहित भए, तर पछि विस्तारै संख्या कम हुन थाल्यो ।’ उनले भने कक्षाकोठामा उभिएर पढाइरहेका शिक्षकलाई अनलाइन कक्षा मार्फत् पनि पठनपाठन गराउन सकिन्छ भनेर भित्री मनदेखि बुझाउनै समस्या भइरहेको छ, अहिले हामीले शिक्षकहरुलाई स्कुल पुगेर के गर्न सकिन्छ, त्यो गर्नका लागि भनेका छौं ।’

शिक्षकहरुलाई त्यति सहज तरिकाले निर्देशन दिए पनि खासै चासो नदेखाएको खड्काले बताए ।

‘विद्यार्थीको अवस्था के छ, उनीहरुलाई कसरी पठनपाठनमा ल्याउन सकिन्छ भनेर शिक्षकहरुलाई घरघरमा जान र संघीय सरकारले सञ्चालन गरेको टिभी कार्यक्रमको रुटिन लिएर जानका लागि भनेका छौं उनले भने  हाम्रा शिक्षकहरु अहिले त्यही रुटिन लिएर गइरहेका छन् ।’

नगरपालिका आफैंले पठनपाठन कसरी गराउन सकिन्छ भनेर यकिन गर्न नसकेको बेला संघीय सरकारकै भर परी एनटीभीबाट प्रशारित कक्षाकै भर पर्न वाध्य भएको जनाए ।

(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९) का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई सजग बनाउँदै झकझक्याउने क्रममा यसपटक यो सामाग्री  तयार पारिएको हो ।)