Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

तत्कालिन शिक्षा कार्यालयले 'मारेको' विद्यालयको पूनर्जीवन

विहीबार, २९ साउन २०७७

भक्तपुर - साविकको जिल्ला शिक्षा कार्यालय भक्तपुुरले २०७१ साल पुसमा ‘विद्यार्थी कम भएको’ भन्दै सिद्धि शारदा प्राथमिक विद्यालयलाई वागीश्वरी उच्च माध्यमिक विद्यालयसँग मर्ज गर्ने निर्णय गरेको थियो । तत्कालिन जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले वागीश्वरी उमाविको नाममा काटेको पत्रमा ‘सिद्धि शारदा प्राविमा विद्यार्थी कम भएकोले उक्त विद्यालयलाई सघाउनका लागि अनुरोध छ’ भन्ने व्यहोरा उल्लेख थियो ।

विद्यालयका प्रधानाध्यापक धनेशराज राजोपाध्याय र शिक्षक हरिकृष्ण भेलेले त्यो पत्रसँगै विद्यालय मर्जको पत्र र काज सरुवाको पत्र एकै साथ पाएका थिए ! 

तर, समुदायमा विद्यालय चाहिन्छ, स्थानीयले रगत पसिना बगाएर ठड्याएको विद्यालयलाई मर्ज (समायोजन) गर्न दिनु हुन्न भन्ने सोचका साथ स्थानीय वुद्धिजीवी, शिक्षाप्रेमी तथा संस्थापकलाई जिल्ला शिक्षा अधिकारीको उक्त निर्णय काँडा जस्तै गरी बिझ्यो ।

अनि, विद्यालयको सम्पूर्ण जिम्मा लिनका लागि अधिकार दिएको वागीश्वरी माविको टीम पत्रका साथ अब के गर्ने ? भन्ने उपाय खोज्न विद्यालय पुग्यो । विद्यालय पुग्दा स्थानीयले ‘सिद्धि शारदामा ताल्चा लगाउन आउने ?’ भन्ने तीखो वाण प्रहार गरेको सम्झना छ, वागीश्वरीका पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिलाई । 

‘हामी विद्यालय मर्जको पक्षमा छैनौं, बरु स्कुललाई के कसरी बचाउन सकिन्छ, त्यो बारेमा छलफल गर्न आएका हौं, हामी सिद्धि शारदालाई सहयोग गर्न तयार छौं भने पछि बल्ल स्थानीयले मानेका थिए’ प्रजापतिले भने ।

‘पत्रमा सहयोग गर्न भने पनि विद्यालयको खाता बन्द गरिएको थियोे, त्यहाँका शिक्षकहरुलाई यहाँ काजमा पठाएको थियो, कार्यालयले मर्ज शब्द नराखीकन स्कुल मर्ज गरेको थियो’ विद्यालय मर्ज गनुहुन्न भन्ने आवाज दह्रो भए पछि जिल्ला शिक्षाले घुमाउरो भाषामा पत्र पठाएको सम्झँदै प्रजापति भन्छन् ‘हामीले केही वर्ष सहयोग गरे पछि अहिले स्कूलले पुर्नजीवन पाएको छ ।’

वागीश्वरीले शैक्षिक सत्र २०७२ मै पनि विद्यालय व्यूँत्याउन प्रयास गर्यो तर विनासकारी भूकम्पले गर्दा चोर्चाक स्थित विद्यालयको भवन कामै नलाग्ने भयो । त्यो साल यत्तिक्कै बित्यो । 

क्रमशः भूकम्पको पीडा विर्सदैं गएसँगै विद्यालय व्यूँत्याउने प्रयास जारी नै रह्यो, स्थानीयले सहयोग समिति गठन गरे, यसमा सकृय भए विद्यालयमै कार्यरत शिक्षकहरु समेत ।

सबैको प्रयासले विद्यालयमा शैक्षिक सत्र २०७३ मा विद्यार्र्थी संख्या बढ्यो, विद्यालय साविकको ठाउँबाट स्थानान्तरण भई भक्तपुर वडा नं. ९ को ब्रम्हायणी पीठमा बनेको सत्तलमा सर्यो । 

स्थानीयले भोज खान र खुवाउनका लागि बनाएको सत्तलमा विद्यालय चल्यो । जम्मा एक वर्षका लागि भन्ने सहमतिले लिएको सत्तलमा विद्यार्थी १ सय ८० जना पुगे । 

पहिला मर्ज भएको भनिएको सो विद्यालयमा विद्यार्थी संख्या पुग्दो मात्रामा भए पछि जिल्ला शिक्षा कार्यालयले रोक्का गरेको खाता पुनः खुलायो । 

‘यति मात्र हैन काजमा अन्तै पठाएका शिक्षकहरुको पनि काज फिर्ता भयो ।’

शिक्षा कार्यालय आफैंले 'मारेको' विद्यालयले पुनः जीवन पाउँछ भन्ने कल्पना र पत्यार स्थानीयलाई मात्रै हैन, उति बेलै काज सरुवा भएका प्रअ राजोपाध्याय, र शिक्षक भेलेलाई पनि थिएन । उनीहरु लुखुर लुखुर सरकारले अर्हाएको काम गर्नै व्यस्त थिए । 

स्थानीय र ति दुई शिक्षकको उतिखेरको निराश भाव अहिले खुसीमा फेरिएको छ । 

‘२०२७ सालमा स्थापना भएको विद्यालयले ५० वर्ष पछि आफूमा नयाँ रंग पाएको छ, यसलाई निरन्तरता दिएर स्कुल सञ्चालन गर्नुपर्छ, स्कुलले अहिले जितेको विश्वासलाई कायम गरिराख्नुपर्छ’ विद्यालयका संस्थापक कृष्णगोविन्द खाइजुले भने ।

अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिम छ, सरकारले लकडाउन त हटाएको छ, तर जनजीवनका थुर्पै क्षेत्रमा प्रतिवन्ध जारी नै छ । यो बेलामा पनि विद्यालयमा विद्यार्थीको आर्कषण घटेको छैन । संक्रमणको जोखिमले दिक्क बनाउने समय भएर पनि विद्यालयको लागि अर्को खुसीको कुरा थपिएको छ, बुधबार । 

अर्थात् विद्यालयले नयाँ भवन पाउने पक्का भएको छ ।

भक्तपुर नगरपालिकाले विद्यालयलाई उपलब्ध गराएको साढे सात आना जग्गामा तीन तले भवन बन्ने भएको छ । 

राष्ट्रिय पूननिमर्माण प्राधिकरणको रु. ७० लाखको लागतमा ६ कोठे भवन बन्ने भएपछि धेरैमा अर्को खुसीको सञ्चार भएको छ भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले शिलान्यास गरेको भवनको डिजाइनबारे बताउँदै भने । 

झण्डै नामोनिशाना मेटिएको विद्यालयको अस्तित्व बच्ने पक्का भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द लाखा पनि दंग छन् । 

‘शिक्षा कार्यालयले मारेको विद्यालयलाई हामीले बचाएका छौं, निक्कै दुःखले बनाएको विद्यालय मर्ज गर्ने निर्णय भएदेखि चिन्ता लागेको थियो, उनले भने  तर पुनः विद्यालयले नयाँ जीवन पाएको छ, हामी खुसी छौं ।’

शिलान्यास कार्यक्रममै विद्यालयका प्रअ धनेशराज राजोपाध्यायले विद्यालयले संगालेको उतार चढावबारे जानकारी दिँदै विद्यालयको नयाँ भवन भक्तपुर नगरपालिकाले गरेको जग्गा एकीकरण योजना अन्तर्गत लिवालिमा बन्ने बताए ।

शिक्षा मन्त्रालयले ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७०’ ल्याएपछि मर्ज हुने र बन्द हुने क्रम बढेको थियो । विद्यालयले पुनर्जिवन पाएपछि विद्यालयका शिक्षकहरु निक्कै खुसी भएका छन् ।

‘यो विद्यालय भक्तपुरको वडा नं. ७ मा जन्मियो, ९ नं. वडामा पुनर्जीवन पायो र ८ नं. वडामा जग बसेको छ, स्कुल स्थापनाको ५० वर्षको यो दौरानमा विद्यालयका लागि महत्वपूर्ण छ ।’ विव्यस अध्यक्ष लाखाजुले भने ।

विद्यालयको उक्त भवन ७ महिना भित्र निर्माण गरिसक्ने योजना छ ।

‘हामीले यो विद्यालयलाई पीठमा पनि सञ्चालन गरयौं, विद्यालय सञ्चालनका लागि थुप्रैले सहयोग गरेको छ, अब भने हामी आत्म निर्भर हुँदैछौं । हामीसँग आफ्नै भवन र विद्यार्थी छन्, अब मर्ज हुन नपर्ने गरी स्कूल सञ्चालनको योजना बनाएर हामी अघि बढिरहेका छौं ।’ प्रअ राजोपाध्यायले भने ।

प्रतिक्रिया