Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

संकटमा परीक्षा !

बुधबार, १७ भदौ २०७७

शिक्षामा कोभिडको प्रभाव धेरै पर्‍यो, यो शिक्षाका सरोकारवालाहरुले भन्ने विषय भयो । अर्थतन्त्रमा पर्ने प्रभावले अझ धेरै महत्व राख्ला आर्थिक वृद्धि, रोजगारी र आयआर्जन र जीवीकोपार्जनका लागि । मल नपाउँदा र उत्पादित तरकारी, माछा, कुखुरा फलफूल बिक्रि नहुँदा कृषि पनि आक्रान्त छ । औद्योगिक क्षेत्र पनि पिडामा छ । हामी आफू जो जुन क्षेत्रमा काम गर्छौ, चासो राख्छौं, जसले हामीलाई बढी असर पार्छ त्यो हामीलाई ठूलो जस्तो लाग्छ । पहिलो प्राथमिकता ज्यान हो भन्नेमा त दुईमत नहोला । ज्यानका लागि गाँसको कुरा आउला, त्यस पछि वास र कपास र त्यसबाट स्वस्थ भएर रोगबाट जोगिने विषय पनि होला । 

शिक्षामा कोभिडले पारेको असरको बारेमा कुरा गर्दा विद्यालय होस् वा विश्वविद्यालय परीक्षाको भन्दा बाहेकको अरु चिन्ता रुपमा भए पनि सारमा देखिएन । परीक्षाका बारेमा यति धेरै चर्चा परिचर्चा हुनुका पछाडि हाम्रो सामाजिक साँस्कृतिक पक्ष पनि जिम्मेवार छ । औपचारिक रुपमा हुने परीक्षा र त्यसमा हासिल गर्ने उपलब्धिलाई ज्यादै महत्व दिने हाम्रो संस्कार नै हो । लिखित परीक्षा बाहेकका परीक्षा त न विश्वविद्यालयमा हुन्छन् न त्यस्ता परीक्षाका बारेमा विश्वविद्यालयले सिकाउँछ र न ती परीक्षाका बारेमा साझा धारणा बन्छ । त्यसैले त हाम्रा ४ वर्षका बालबालिकाले मण्टेसरीमा परीक्षा दिन्छन् र त्यसमा पाएको ग्रेडले हामीलाई प्रफुलित पार्छ अनि गर्वसाथ सामाजिक सञ्जालमा बालबालिकाको फोटो सहित बधाई  र शुभकामना दिन्छौँ र भन्छौं – सधैँ यसै गरी १०० मा १००, जिपिए ४, सबै विषयमा A+ ल्याउनु । 

विगतका वर्षहरुमा एसईईको नतिजा प्रकाशन कहिले हुन्छ भन्ने चासो मिठाइ पसलहरुको पनि हुने गर्दथ्यो । लड्डु बाँड्ने र भोज गर्ने, घुम्न जाने मात्र नभइ राम्रो जिपिए ल्याएर पहिले देखि अभिभावकसँग राखेका इच्छा, आकांक्षा वा रहर पुरा गर्ने अवसर पनि हुन्थ्यो । यस्ता रहर, भोज भतेर र लड्डु पेडा बाँड्ने काम अभिभावकको क्षमता अनुसार हुने गर्दथ्यो । हाम्रो परीक्षाको अङ्कप्रतिको मोह यसबाट पनि प्रष्ट हुन्छ । 

परीक्षा शुरु हुनु एक दिन अगाडि मात्र एसईईको परीक्षा रोकियो । यसको नतिजा प्रकाशन नहुञ्जेल शिक्षाको बहस यसमै केन्द्रित रह्यो । नतिजा प्रकाशन पछि पनि जुन विधि अवलम्बन गरियो त्यसको वैधता र विश्वसनीयतामा प्रश्न उठ्यो । हामीले अपनाएको विधि ठिक थियो त ? भन्नेमा पुर्नविचार गर्नुपर्ने बहस पनि भएको पाइयो । जिम्मेवारीबोध र जवाफदेहिताको सवाल पनि उठेको छ । एसईईको सवाल लगभग सकिएको छ । अहिलेको ध्यान अब कक्षा १२ तिर गएको छ । 

कोभिडको यो समयमा जति ध्यान परीक्षामा छ त्यसको निकै कम मात्र ध्यान शिक्षण सिकाइ, वैकल्पिक सिकाइ र सिकाइ सहजीकरणका सवालमा देखिन्छ । विद्यालय तहको होस् वा विश्वविद्यालय । विश्वविद्यालय त परीक्षा हुने र नहुने भन्ने सूचना निकाल्ने काममा मात्र व्यस्त छन् । केही निजी विद्यालयले अनलाइन परीक्षा लिएर पढाएको प्रमाण पेस गरेका छन् । परीक्षा नभए पढाइ नभएको हाम्रो मनोवृत्तिमा निजी विद्यालहरुले निकै मलजल गरेको पाइन्छ । 

हाम्रो शिक्षण सिकाइ परीक्षा केन्द्रित हुन्छ । पुराना प्रश्नका सेटहरुको व्यापार र नयाँ परीक्षाका प्रश्न सेट शिक्षण सिकाइको अनिवार्य सामग्री हो । विषय अनुसार गेस पेपर र ठूला साना परीक्षाका सोलुसनले राम्रै व्यापार गर्छन् । कक्षामा कुनै पाठलाई परीक्षामा प्रश्न आउँछ वा आउँदैन भनेर छुट्टाइन्छ र यो पाठबाट कहिल्यै परीक्षामा प्रश्न आउँदैन भने त्यो नपढ्ने र सधैँ प्रश्न आउने पाठ पढ्ने । गजब कस्तो छ भने प्रश्न बनाउने र पाठ बनाउने विज्ञको झगडा परेजस्तो केही पाठका प्रश्न सधैँ आउँछन् र केही पाठका प्रश्न कहिले आउँदैनन् । 

एसईईको सवाल सकिए पछि अबको ध्यान कक्षा १२ तिर गएको छ । कक्षा १२ को परीक्षाको कुनै निश्कर्ष निकाल्दा त्यो ठूलै उपलब्धि हुने छ हाम्रा लागि । यसकै परिणाम विद्यार्थी राजनीति गर्नेहरुले आफ्नो कलजेको भन्दा ज्यादा चिन्ता कक्षा १२ को परीक्षाको गरेको अवस्था छ र अनेक विकल्प सुझाएका छन् उनीहरुले ।

केही समाचारहरुमा दशै अगाडि नै परीक्षा हुने, अनलाइन परीक्षा हुने, जोखिम कम भएका स्थानमा पुरानै ढाँचामा परीक्षा हुने, ५० प्रतिशत आन्तरिक र ५० मात्र वाह्य हुने जस्ता अनेकौ विकल्पहरु आएका छन् । यसका लागी सम्बन्धित निकायहरु ठूलै छलफल र गृहकार्यमा जुटेका भन्ने समाचार पनि आएका छन् । सामाजिक सञ्जाल र अनलाइन मिडियामा अनेक थरी उपायहरु सुझाइएका छन् । तर साँच्चिकै सरकारी अधिकारीहरु कुन विधि अपनाउलान ? अनुमान गर्न कठिन छ यतिबेला ।

एकै वर्ष एउटै कक्षाको परीक्षा दिने विद्यार्थीका लागि फरक फरक परीक्षाका रणनीति अपनाउने कार्य त पक्कै पनि वैध हुन सक्दैन । कर्णाली प्रदेशका हिमाली जिल्ला जहाँ कोरोनाको कुनै प्रभाव छैन र विद्यालय चलिरहेका छन् त्यहाँको परीक्षा र वीरगंज, विराटनगरका विद्यार्थीको परीक्षाका लागि दुईवटा फरक ढाँचा अपनाउनु त यसको वैधताका दृष्टीले उपयुक्त हुन सक्दैन । कोभिडको प्रभाव कहिलेसम्म परिरहन्छ अनुत्तरित भएको अवस्थामा कोभिड कम भए पछि मात्र परीक्षा लिने वा कोभिडको संक्रमण जे जस्तो भए पनि परीक्षा लिने भन्ने सवालमा स्पष्ट नहुँदासम्म यो लामै चर्चा र बहसकै विषय भइरहने पक्का छ । 

परीक्षाको ढाँचा यो वर्षका लागि मात्र परिवर्तन गर्ने कि सधैँका लागि भन्ने अर्को जटिल सवाल हो । कोभिडको अवस्था जे होला परीक्षा त गर्नैपर्छ भन्ने हो भने पनि कुन माध्यम ? अनलाइन संभव छ ? यसका पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् । यसका लागि सानो तयारी गर्न सकिन्छ । हरेक विद्यालयले विद्यार्थीले कुनै साधनबाट अनलाइन परीक्षा दिन सक्ने वा नसक्ने द्रुत सर्वेक्षण गर्न सक्छन् । के भयो भने अनलाइन परीक्षा दिन सक्छन् भन्ने सोधेर त्यसको विकल्प ल्याउन सक्छन् । ईण्टरनेट मात्र भए दिन सक्छन् कि डिभाइस नै चाहिन्छ भन्ने ५।७ दिनमै सर्वे गरेर अनलाइनबाटै डाटा तयार हुन सक्छ । यसका लागि विद्यालयलाई परिचालन गर्न सकिन्छ ।

यसबाट अनलाइन संभव हुने वा नहुने निरक्र्यौल गर्न सकिएला । अनलाइन परीक्षाका लागि डिभाइस र नेट मात्र भएर पनि नहोला, टाइप गर्नु पर्ने कि नपर्ने ? टाइपिङ सिप छ कि छैन ? बस्तुगत प्रश्न मात्र सोध्ने हो कि ? फेरी सबै विषयका लागि वस्तुगत प्रश्नले प्रभावकारी मापन गर्न नसक्ला ? 

कोभिड संक्रमण नरोकिए पनि परीक्षा गर्ने हो भने मौखिक परीक्षा र केही उच्च दक्षता मापन गर्ने (समालोचनात्मक चिन्तन, समस्या समाधान, परियोजना कार्य) प्रश्न निश्चित समयमा बुझाउने गरी तयार गर्न सकिन्छ । विद्यालय तहको अन्तिम परीक्षा भएका कारणले गर्दा वाह्य रुपमै परीक्षा चलाउनु पर्ने अवस्था हो भने त्यसका लागि केही अलग्गै संयन्त्र पनि विकास गर्न सकिन्छ । अन्तर विद्यालय शिक्षकहरुलाई मौखिक परीक्षा लिने जिम्मेवारी दिन सकिन्छ । पालिकागत रुपमा जिम्मेवारी दिन पनि सकिन्छ । सबैलाई एउटै प्रश्न सोध्ने भन्दा पनि पुरै पाठ्यक्रमबाटै २, ३ सय (विषय अनुसार) प्रश्नको बैंक तयारी गरी सफ्टवेयरबाट हरेक विद्यार्थीका लागि फरक फरक प्रश्न पर्ने गरी परीक्षा सञ्चाल हुन सक्छ । यदि हाम्रो अहिलेको परीक्षाको वास्तविक अवस्था हेर्ने हो भने पुराना प्रश्न नै ३० देखि ६० सम्म दोहोरिन गरेकै हुन् । गणितका अंक मात्र फरक पर्ने हुन् । मौखिक परीक्षाका लागि फरक ढाँचा प्रत्यक्ष र अनलाइन गर्न सकिन्छ । अनलाइनका लागि हाम्रो आवश्यकता अनुसारको कुनै खास प्रकारको एप्लिकेशन वा सफ्टवेयर विकास गर्न सकिन्छ । विश्वसनीय सफ्टवेयर खरिद गरेर आवश्यकता अनुसार कस्टोमाइज गर्न सकिन्छ । मौखिक परीक्षाको उत्तरहरु सबै रेकर्ड गर्न पनि सकिन्छ । 

एसईईको जस्तै कुनै समिति बनाएर तालिकामा नम्बर भर्ने भन्दा पनि त्यस्तै समिति बनाएर प्रविधिको प्रयोग गरी मौखिक ढाँचामा परीक्षा लिन लगाउन नै उपयुक्त हुन्छ । जुनसुकै हालतमा पनि परीक्षा लिने हो भने मौखिक परीक्षा जुन फोनबाटै पनि लिन सकिन्छ त्यो सबैभन्दा प्रभावकारी हुन सक्छ । मौखिक परीक्षाका केही अवगुणहरु छन् तर तिनीहरुलाई पनि प्रविधि तथा केही खास प्रकारका सफ्टवेयर तथा एप्लिकेशन र विधि प्रयोग गरेर हटाउन वा कम गर्न सकिन्छ । 

विकल्पहरु त खोजी होलान, गर्न सकिएला, संसारका अन्य देशका अभ्यास हेर्न पनि सकिएला तर हामी हाम्रो परम्परागत परीक्षाको ढाँचा फेर्ने कि त्यसमै जाने ? शिक्षक विद्यालयलाई कसरी विश्वास गर्ने ? वा त्यो प्रणाली विकास गर्ने ? एसईईमा कम नम्बर पठाएको भनेर शिक्षकहरुले धम्की खप्नुपर्ने र कुटपिट नहुने वातावरण कसरी बनाउने ? विद्यार्थीलाई कोरोना ब्याजको ट्याग लाग्ने अवस्था सिर्जना हुन नदिन के गर्ने ? परीक्षाका मात्र विकल्प नखोजेर यसका सामाजिक साँस्कृतिक पक्षहरुमा पनि ध्यान दिनु आवश्यक छ । विद्यार्थीले शिक्षकले अंक दिएन भनेर बुझ्ने, शिक्षकले मैले यति नम्बर दिए (दान दिए जस्तो) ठान्ने र अभिभावकले पनि अंक दिन दबाव नदिने परिस्थिति पनि आवश्यक छ हाम्रा लागि । 

कोभिड संक्रमण लम्बिदै जाँदा परीक्षाको अन्यौलता छ तर यसलाई मात्र ठूलो हाउगुजी बनाउन नपर्ला । नेपालमै उच्च शिक्षा पढ्नेका लागि शर्त सहित उच्च शिक्षाको भर्ना शुरु गर्न सकिन्छ भने विदेश जानेहरुका लागि अनलाइन परीक्षा (प्रश्न बैंक) लिएर प्रमाणपत्र दिन पनि त सकिएला । परीक्षामा भन्दा सिकाइमा ध्यान दिनु जरुरी हो कि ! 

आचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनमा परीक्षा र मूल्यांकन विषयमा विद्यावारिधिको शोध गर्दै छन् ।

प्रतिक्रिया