टीप्पणी : कोही किन शिक्षक होओस् !


काठमाडौं - मध्यान्हको समयमा विद्यालयको ‘स्टाफ रुम’मा एक शिक्षक मोबाइलमा व्यस्त देखिए भने अर्को शिक्षक पढिरहेका । पढिरहेका शिक्षकको हातमा थियो, ‘खरिदार परीक्षा दिग्दर्शन ।’
कुराकानीको शिलशिलामा थाहा भयो, ती दुई शिक्षकको ‘लिजर्ड पिरीयड’ भनेर । त्यही पिरीयडको ‘सदूपयोग’ गर्दै एक मोबाइलमा, अर्को किताबमा आफूलाई व्यस्त बनाइरहेका थिए । 

कुराकानी अघि बढ्दै गयो । कुराकानीकै क्रममा ‘परीक्षा दिग्दर्शन’ का दर्शन पढिरहेका शिक्षकले आफू माध्यमिक तहको स्थायी शिक्षक भएको बताउँदै आफू अहिले खरिदारको परीक्षाको तयारीमा पनि लागिरहेको खुलाए । 

‘काम र नामको हिसाबले मावि स्थायी टिचर हुनु पनि त राम्रै हो नि हैन र ?’  

‘हो तर....।’

उनले बीचैमा कुरा छोट्याए पछि ‘खरीदारको परीक्षा तयारी’मा लाग्नुको ‘खास कारण’ बारे जान्ने जाँगर बढ्यो । 

जवाफमा उनले भने, ‘किन भन्नु र ? यो देशमा शिक्षकको सम्मान छ र ? सबैले हेप्छन्, निजामतिमा अलिक इज्जत छ नी हैन र ?’

‘अस्तिमात्र शिक्षक सेवा आयोगले लिएको परीक्षामा मावि तहमा नाम निकालेका एक जनाले नियुक्ति नलिई खरीदारको नियुक्ति किन लिन गए ?’ उनले प्रश्न गर्दै कुरा छोट्याए, ‘त्यसबाटै थाहा हुन्न र ?’ 

अनि मोबाइल हेरिरहेका शिक्षकले आफूले पढाइरहेका विद्यार्थीलाई समेत ‘बिर्सेर पनि शिक्षक नबन्न आग्रह’ गर्दै आएको ‘गम्भीर’ कुरा खुलाउँदै भने, ‘त्यही भएर म त भन्छु, सबै बन्नु, शिक्षक नबन्नू ।’ 

‘शिक्षकहरु खुसी, सन्तु्ष्ट, उत्साही’ नभएको अनेकौं उदारहण मध्ये दुई शिक्षकसँगको वार्तालापको ‘सानो अंश’ पनि शिक्षक अभावका लुप्त कारण हुन् । 

पछिल्लो समय देशभरका विद्यालयहरु शिक्षक अभाव झेलिरहेका छन् । तर सरकारले शिक्षक अभाव टार्नका लागि खासै ठोस योजना ल्याउन सकेको छैन । सरकार शिक्षक सेवा आयोगको परीक्षा, नतिजाको औपचारिकतामा मात्र आफूलाई व्यस्त बनाइरहेको छ । शिक्षक अभाव हुनुको गुह्य कारण पत्ता लगाउन तिर ‘समय, श्रम र पैसा’ लगानी गरी आवश्यक निचोड निकाल्ने सोच र चिन्तनमा लागेको देखिँदैन । लागेको भए, पक्कै पनि विगत ५ वर्षदेखि करिब ५६ हजार शिक्षक अभाव झेल्दै आएका नेपालका विद्यालयहरुले अहिलेसम्म शिक्षक पाइसक्ने थिए । 

खासमा शिक्षक अभाव हुनुमा शिक्षक नै पनि ‘वास्तविक शिक्षक’ भएका छैनन् । उनीहरु आफूले पढाएका विद्यार्थीलाई ‘शिक्षक’ बन्न उत्साहित गरिरहेका छैनन् । शिक्षक बनेर पछुतोमा परेका शिक्षकहरुको जमात नदेखिँदो रुपमा ठूलो छ । राज्यका सबै तह र तप्का अनि शिक्षाका सरोकारवाला सबै पक्षसँग शिक्षकहरुको ठूलो गुनासो छ । 

हुन पनि ‘माष्टर’बाट शिक्षक बन्न समेत संघर्ष गरिरहेका शिक्षकहरु वास्तवमै ‘विचरा’ बनेका छन् । उनीहरु स्थानीयदेखि केन्द्रीय सरकारसम्मको चेपुवामा परेका छन् । ‘निम्छरो’ सावित तिनीहरु अहिले पनि मासिक रुपमा पारिश्रमिक पाउँदैनन् । सरकारले शिक्षकहरुको मर्यादालाई अछुतझैं व्यवहार गरेको छ ।

समाजमा क्रमशः ‘केही काम नभएपछि शिक्षक बन्ने’ भन्ने मान्यता स्थापित हुँदै गइरहेको छ । बदलिएको व्यवस्था र अवस्थाले समाज पैसामुखी र उपभोक्तावादी बन्दै गइरहेको छ । पैसामुखी समाजमा शिक्षक भएर ‘नाम हुन्छ, दाम हुन्न’, भन्ने धारणा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले अनुभव गरिरहेका छन् । यस्तो अवस्थामा न त युवाहरु नै शिक्षक बन्न रुचाएका छन्, न त आमाबाबुले पनि छोराछोरी शिक्षक बनोस् भन्ने चाहना राखेका छन् । 

अर्को कुरा, सरकारले दरबन्दी पनि त सिर्जना गरेको छैन । शिक्षक बन्छु भनेर शिक्षक लाइसेन्स लिएकाहरु समेत शिक्षक बन्न सकिरहेका छैनन् । शिक्षक सेवा आयोगले ‘शिक्षामा गुणस्तरीय शिक्षक भित्र्याउने लक्ष्य’ राखी गरेको पाठ्यक्रम परिमार्जनले ‘शिक्षक हुने परीक्षा’ पास हुन पहिलाको जस्तो रहेन । त्यसमाथि शिक्षक बनाउने शिक्षाको रुपमा रहेको ‘शिक्षा शास्त्र÷विषय’मा निक्कै कम जिपिए आएका विद्यार्थीहरु भित्रिए । त्यसैको परिणाम शिक्षक बन्ने परीक्षा तुलनात्मक रुपमा ‘गार्हो’ बन्यो । त्यसको प्रभाव शिक्षक उत्पादनमा परेको देखिन्छ ।

शिक्षक बन्नका लागि लालायित हुने अवस्था सिर्जना गर्न सबै पक्ष चुकेको छ । ‘म शिक्षक हुँ’ भन्ने आत्मगौरव बढ्ने र बढाउने काममा सरोकारवालाले ध्यान नदिँदा शिक्षक बन्ने इच्छामा वर्षेनी क्षय देखिएको छ । शिक्षकहरु पेशागत कर्तव्य निर्वाह गर्नेमा भन्दा पनि बढी आफ्नो स्वार्थका लागि राजनीतिक दलहरुको ‘गुलामी र चाकरी’मा समय व्यतित गर्दाको नदेखिँदो असरले पनि प्रभाव पारेको स्वयम् शिक्षक नेताहरुले स्वीकार्दा र त्यसलाई चिर्ने काम नगर्दा पनि शिक्षक अभाव चुलिएको छ ।

शिक्षकको स्रोतको रुपमा रहेको विश्वविद्यालयहरु राजनीतिक दलको भागवण्डाको अखडा बनेका छन् । योग्य, सक्षम भन्दा पनि चुनाव, दलको कार्यक्रममा झन्डा समाउन माहिर व्यक्तिहरुलाई दलका नेताको सिफारिशकै बलमा टिका लगाइ दिएर प्राध्यापक, सहप्राध्यापक, करार, आंशिक प्राध्यापकमा नियुक्त गर्दाको नकारात्मक परिणाम शिक्षक तयारीमा परिरहेको छ । राम्रो गर्ने शिक्षकलाई सम्मानका साथ शिक्षकले गरेको त्याग, योगदानको उचित कदरको अभ्यास निक्कै कम छ । बढुवाका लागि शिक्षकले आफ्नो मर्यादा बिर्सेर शिक्षा प्रशासनका पदाधिकारीहरुलाई खुसामद गर्नुपर्ने स्थिति सकिएको छैन ।

शिक्षक बहुआयामिक पेशामात्र हैन, अन्य पेशाभन्दा बढी जिम्मेवार र इमान्दारका साथै आदर्शवान् हुनुपर्ने पेशा समेत हो । यसका लागि शिक्षक प्रतिभावान् हुनैपर्छ । प्रविधिमैत्री हुनुपर्ने मानिसहरु अहिले बढी प्राविधिक बनिरहेका छन् । एकोहोरो बनिरहेको समाजको सामाजिकीकरण बदलिएको छ । सधैं  र सबै विद्यार्थीको पढाइ, आनीबानी र भविष्यको समेत जिम्मेवार बन्नुपर्ने, अभिभावकको हरेक प्रश्नको उत्तर बन्नुर्ने ‘अपजसे’ पेशाका रुपमा चित्रण हुँदा यो पेशाप्रति आकर्षण कम र विकर्षण बढी रहेको देखिन्छ ।

‘नखाएको बिष’ले छटपटाउँदै शिक्षा

शिक्षक अभावको ‘नखाएको बिष’ लागेर समग्र शिक्षा छटपटाइरहेको छ । शिक्षक अभावमा विद्यालयका प्रधानाध्यापकको प्रेसर बढेको छ । कतिपय विद्यालयका कक्षाकोठाहरु खाली भएका छन् । सिकाइ ठप्पप्राय भएको छ । विद्यार्थीको हक हनन् भएको छ । गुणस्तरीय शिक्षाका लागि बाधक बनेको छ । शिक्षक अभाव टार्न विद्यालयहरु निजी स्रोतका शिक्षक राख्न बाध्य छन् । त्यही शिक्षक पाल्न विद्यालयहरु अभिभावकसँग कानून विपरीत शूल्क उठाउनुपर्ने अर्को बाध्यतामा छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति दाताको मुख ताक्न विवस छन् । शिक्षक अभावको प्रभाव चौतर्फी छ ।

पर्याप्त छैन प्रयास

कतिपय जनप्रतिनीधिले शिक्षक अभावको असरलाई नजिकबाट बुझेका छन् । ती जनप्रतिनीधिले माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकाले पाएपछि यो क्षेत्रमा केही राम्रो र असल काम गर्ने प्रयास पनि गरेका छन् । संघीय सरकारको भर नपरी उनीहरु आफैले स्रोतको जोहो गरी शिक्षक अभाव पूर्ति गर्ने फरक अभ्यास थालली गरेका छन् । यस अन्तर्गत कुनै पालिकाले ‘नगर शिक्षक’,  कुनै पालिकाले ‘करार शिक्षक’, कुनै पालिकाले ‘स्वय सेवक शिक्षक’, कुनै पालिकाले ‘अनुदान शिक्षक’, कुनै पालिकाले ‘मोबाइल÷घुम्ती शिक्षक’ को बन्दोबस्त गरेका छन् । औंलामा गन्न सकिने पालिकाहरुले शिक्षकविना सिकाइ सम्भव छैन भनी शिक्षक बन्दोबस्त गर्ने अभ्यास थालनीबाट केही राहत पुगेको छ । तर यो पनि पर्याप्त छैन । यो पनि विवादमुक्त छैन ।

शिक्षकले खोजेको के हो ? 

अब सरकारले भइरहेका शिक्षक, भविष्यमा हुने शिक्षक र शिक्षक तयारीमा लागेका शिक्षकले खोजेको के हो? त्यसको चित्तबुझ्दो जवाफ खोज्नुपर्छ । संघीय संरचनाको अभ्यास गरेको पाँच वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन नआउँदा सरकारको प्राथमिकता र ध्यान शिक्षामा नभई अन्यत्रै रहेको प्रष्ट छ । यसैले सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी यसमा गर्न बाँकी काम फटाफट फत्ते गर्न जरुरी छ ।
शिक्षक अभाव पूर्ति गर्नका लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन उपाय के हुन सक्छ? त्यसको खोजी गर्नुपर्छ । उचित उपाय लागू गर्नुपर्छ । बढ्दो सूचना प्रविधि पनि पठनपाठनका लागि सहायक बन्नेमा कुनै दुविधा छैन । यसैले सामाजिक सञ्जालदेखि युट्युवसम्मलाई प्रयोग गरी सहजकर्ता बनाउन सके शिक्षक अभाव टार्न सहज हुने देखिन्छ । 

के गर्दा, कस्तो नीति बनाउँदा शिक्षक बनुँ बनुँ लाग्छ, के गरिरहँदा अध्यापनबाट शिक्षक विरक्तिदैनन्, भाग्दैनन्?, को(राजनीतिक दल, नेता, शिक्षक संघ, संगठन, महासंघ, शिक्षा प्रशासन आदि) इमान्दार हुने ?, विगतको अभ्यास कस्तो छ, कुन अन्तर्राष्ट्रिय अभ्यास हाम्रो लागि गज्जब हुन्छ ? त्यसको अवलम्बन गर्ने कि ?

सरकारले ‘अरु केही काम नपाए शिक्षक बन्ने’ भन्ने आम धारणालाई बदल्ने नीति ल्याउन ढिलाइ गर्न हुन्न । ‘शिक्षण कार्य जो सुकैले गर्न सक्तैन’ यसका लागि विशेष गुण, लगाव, दक्षता, मिहिनेत, खुबी र कला चाहिन्छ भन्ने सत्य बोध गरी र गराई यो पेशामा कसरी उत्कृष्ट विद्यार्थीलाई तान्न सकिन्छ ? यसबारे छलफल जरुरी देखिएको छ । 

सधैं अपडेट हुनुपर्ने, सिक्न बेग्लै उत्साह चाहिने र पढाकु हुनुपर्ने शिक्षकहरु के गर्दा खुसी हुन्छन् ? तलब बढाउँदा हुन्छ कि? प्रशंसा गर्दा हुन्छ कि ? तालिम दिँदा हुन्छ  कि? भत्ता थप्दा हुन्छ कि? शिक्षक नियुक्तिमा मनलाग्दी नगर्दा हुन्छ कि ? शिक्षकको समस्या, शिक्षकको सम्भावनाबारे शिक्षकसँगै अन्तरक्रिया गर्दा वास्तविकता बाहिर आउँछ  । त्यही वास्तविकतामा टेकेर नीति बनाउन सकिन्छ कि ?