Edukhabar
विहीबार, ०६ असार २०८१
खबर/फिचर

सार्वजनिक शिक्षा सुधारका माग : अनसनरत न्यौपानेमाथि प्रहरी धरपकड

मंगलबार, ०२ फागुन २०७९

काठमाडौं - सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न १६ बुँदे माग सहित आमरण अनसन बसेका अभियन्तालाई प्रहरीले धरपकड गरेको छ । सार्वजनिक विद्यालय सुधार अभियानको ब्यानरमा दुई दिन देखि दरबार हाइस्कूलमा अनसन बसेका अभियानका संयोजक प्रकाश न्यौपानेलाई दरबारमार्ग प्रहरीले धरपकड गरेर प्रहरी वृत्त लगेको हो । आफु मुटुको रोगी भएको बताउँदा बताउँदै पनि प्रहरीले धरपकड गरेको न्यौपानेले बताए । 

'सार्वजनिक शिक्षा सुधारको माग सहित देशकै पहिलो विद्यालयमा अनसन बस्दा प्रहरीलाई किन समस्या पर्यो मैले बुझ्न सकेको छैन' उनले भने 'जहाँ लगे पनि मेरो आमरण अनसन निरन्तर छ ।'

अभियानको थालनी देशकै पहिलो विद्यालयबाट गर्नु पर्ने भन्दै उनले आमरण अनसन शुरु गरेका हुन् ।  गोर्खाका न्यौपानेले अनसन अघि शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै आफ्ना माग सार्वजनिक गरेका थिए । 

नीजि शैक्षिक संस्थामा आम नागरिकका बालबालिकाहरु पढ्न नसक्ने तर सार्वजनिक शैक्षिक संस्थाहरु दिन प्रतिदिन खस्कदै गईरहेका हुनाले आम नागरिकमा चरम निराशा बढ्दै गइरहेको निष्कर्श सहित उनले आमरण अनसन शुरु गरेको बताएका छन् । गुणस्तरीय शिक्षा राजनीतिक दलका नारामात्र भएको बताउँदै उनले शिक्षा नागरिकको जीवन बदल्ने र देशको मुहार फेर्ने आधार कहिल्यै नबनेकोमा चिन्ता ब्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले सार्वजनिक विद्यालय अभिभावक तथा बालबालिकाको पहिलो रोजाईको हुन नसकेको उनको निष्कर्श छ । सार्वजनिक विद्यालयमा अब्बल शिक्षकहरू हुँदा हुँदै पनि चाहार र झोले शिक्षकहरूको हालीमुहाली भएको उल्लेख गर्दै उनले शिक्षा मन्त्रीलाई जानकारी गराएको पत्रमा के हामीले  हाम्रो गाउँ ठाउँको विद्यालय सुधार गर्न सक्दैनौं र ? प्रश्न गरेका छन् । 

उनका मागहरु निम्न छन् : 

१. सार्वजनिक विद्यालयलाई सबै प्रकारका राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने गरि कानुनी ब्यवस्था गर्नुपर्ने , साथै कुनै पनि  शिक्षकले  कुनै पनि राजनीतिक दलको भातृ संस्थाको सदस्य बन्न नपाउने ।

२. विद्यालयको प्राज्ञिक नेतृत्वका रुपमा प्रधानाध्यापकलाई छुट्टै पदका रुपमा विकास गर्नुपर्ने । सम्पूर्ण प्राज्ञिक ब्यवस्थापनको स्वायत्तता प्रधानाध्यापकलाई दिईनु पर्ने । शिक्षक सेवा आयोगले कम्तिमा पाँच बर्ष शिक्षण अनुभव भएका शिक्षकहरु मध्येबाट नेतृत्व परीक्षणको परीक्षा लिई प्रधानाध्यापकमा सिफारिस हुने ब्यवस्था गर्नुपर्ने ।

३. मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्ने ।विश्वविद्यालय शिक्षामा उच्च स्थान हासिल गरेका व्यक्तिलाई सोझै शिक्षण पेसामा प्रवेश गर्नसक्ने अवसर प्रदान गर्नुपर्ने ।

४. आधारभूत तहको शिक्षकको न्यूनतम योग्यता स्नातक तह र माध्यमिक तहको शिक्षकको लागि स्नातकोत्तर पास गरेको दक्ष शिक्षकको आपूर्ति हुनुपर्ने ।

५. निजी तथा सार्वजनिक विद्यालयको पाठ्यक्रममा एकरुपता , पोशाकमा एकरुपता ,पढाउने माध्यममा एकरुपता ल्याई सबै विद्यालयहरुलाई एउटै ढाँचामा ल्याउनु पर्ने ।संघीय सरकारले मुख्य पाठ्यक्रम निर्माण गर्ने ,अनि स्थानीय सरकारले ऐच्छिक र स्थानीय पाठ्यक्रम निर्माण गर्ने ।महिनामा एकहप्ता निजीका शिक्षकहरूले सार्वजनिक विद्यालयमा र सार्वजनिकका शिक्षकहरुले निजी विद्यालयमा गएर पढाउनु पर्ने व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने ।

६. प्रत्येक ५ बर्षमा शिक्षकको शिक्षण अध्यापन अनुमति पत्रको नवीकरण गर्नुपर्ने ।

७. शिक्षकहरुकै पोशाकमा एकरूपता नदेखिएकाले व्यवस्थापन समिति मार्फत पोशाक खरिद गरि , शिक्षक शिक्षिकाले राष्ट्रिय पोशाक अनिवार्य लगाउनु पर्ने ।

८. सयभारी खर काट्ने र सयभारी खर पोल्नेको एउटै मुल्यांकन छ। त्यसैले राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने । 

९. कुनै पनि विद्यालयमा एकजना शिक्षक कार्यरत अवधि , बढीमा पाँच वर्षको बनाउनुपर्ने ।त्यसपछि स्वत ः सरुवा हुने कानुनी रुपमा व्यवस्था गर्नुपर्ने ।शिक्षकलाई घरपायक पर्ने गरि राख्न नहुने ।

१०. हरेक विद्यालयले  खाली जग्गाको सदुपयोग गरि बगैंचा वा करेसाबारी बनाइ एक विद्यार्थी एक विरुवा कार्यक्रम लागू गर्ने । विरुवाले पाएको स्याहारको आधारमा प्रयोगात्मक परीक्षाको मुल्यांकन गरिनु पर्ने ।

११. प्रत्येक विद्यालयमा सफा चमेनागृह र पोषणयुक्त खानेकुरा हुनुपर्ने ।विद्यालयको भित्तामा राम्रा राम्रा उक्तिहरु लेखिनु पर्ने ।

१२. शिक्षकको हाजिरी सूचना पाटीमा सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने ।

१३. हरेक विद्यालयले एक शिक्षा परोपकारी वा कल्याणकारी कोष स्थापना  गरि सो कोषमा समाजसेवी ,चन्दादाता , पूर्व विद्यार्थी , व्यापारी वा जोसुकैबाट विद्यालय विकासको निम्ति दान वा आर्थिक सहयोग लिनसक्ने व्यवस्था गर्नुपर्ने ।

१४. प्राविधिक शिक्षामा पहुँच स्थापित गर्नका लागि कक्षा ९ देखि साधारण र प्राविधिक तथा व्यवसायीक शिक्षाको धारको व्यवस्था गर्नुपर्ने ।

१५. सरकारी कोषबाट तलव सुविधा उपयोग गर्ने हरेकले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था गर्नुपर्ने ।
                                      
 १६.   नेपालको पहिलो शैक्षिक संस्था दरबार हाईस्कूल  कहाँ  छ ?
 १९१० साल असोज २७ गते जंगबहादुर राणाले आधुनिक अग्रेजी शिक्षा दिन बेलायतबाटै अग्रेजी शिक्षक ल्याएर स्थापना गरेको दरबार हाईस्कूलाई बेलायतकै जस्तो गुणस्तरीय शिक्षा दिने गरि शैक्षिक हव बनाउनु पर्नेमा किन यो ऐतिहासीक स्कूलको नाम,  कुन  शैक्षिक माफियाको निर्देशनमा मेटाईयो ? के जरुरत थियो यो इतिहास मेटाउन ।काठमाडौको रानीपोरीमा रहेको भानु मा.वि. र संस्कृत मा.वि.को ठाउँमा दरबार हाई स्कुल नै हुनुपर्छ ।                 

प्रतिक्रिया