Edukhabar
आइतबार, ०६ साउन २०८१
विचार / विमर्श

गुणस्तरीय शिक्षा : फेरिएको परिस्थिति, फेरिएको सन्दर्भ

शिक्षक व्यवस्थापन, विद्यालय व्यवस्थापन, नीति नियमको प्रभावकारी निर्माण र कार्यान्वयन तथा उत्कृष्ट मूल्याङ्कन प्रणालीको आधारमा सिकाइ उपलब्धि जस्ता पक्षहरु गुणस्तरीय शिक्षाको मापदण्ड ।

शुक्रबार, ०७ असार २०८१

गुणस्तरीय शिक्षा भनेको यही हो भनेर ठोकुवा गर्न गाह्रो छ । गुणस्तरीय शिक्षाका बारेमा आआफ्ना धारणा र विचार हुन सक्छन् ।  तथापि केही विद्वानहरूका भनाइ तथा आफ्ना अभ्यास र अध्ययनका आधारमा यो आलेख तयार गरिएको छ । यस विषयमा यहाँहरुले पनि आफ्नो विचार राख्न सक्नुहुन्छ । 

गुणस्तरीय शिक्षा  दिगो विकास र नागरिकको जीवनस्तर सुधारको प्रमुख आधार स्तम्भ  हो । शिक्षा असल जीवनको तयारी मात्र होइन स्वयम् असल जीवन हो । खासमा पूर्ण जीवनको लागि पूर्ण शिक्षा (complete education) आवश्यक छ । यो पूर्ण  शिक्षा भनेकै गुणस्तरीय शिक्षा हो । यसले बालबालिकालाई सक्षम, सिर्जनशील र सिपालु व्यक्तित्व निर्माण गरी आत्मनिर्भर बनाउँछ ।

आफूलाई चिनेर, आफैले आफ्नो अन्तर निहित प्रतिभा प्रस्फुटन गर्नु, आफ्नो क्षमता वृद्धि गरी सोही आधरमा आफूलाई  प्रस्तुत गर्नु, आफूलाई उत्तम मानवीय अस्तित्वको लागि सक्षम बनाउनु जस्ता कार्यहरू शिक्षाले गर्नुपर्छ । त्यति मात्र होइन शिक्षाले प्रकृतिको रक्षा, सन्तुलित उपयोग, जीवन सीप ( षिभ कपष्िि ) विकास, भविष्यको तयारी, समाजलाई सभ्य र उपल्लो चेतनास्तरमा पुर्याउनु पर्छ ।

व्यक्तिको रुचि र क्षमतालाई बुझ्ने, रुचि अनुसार सिकाइ गर्ने, जिज्ञासा मेटाउने, सिकाइको लागि उत्प्रेरित गर्ने, अनुकूल वातावरण सिर्जना गरिदिने, जीविकोपार्जनमा प्रमुख भूमिका खेल्ने, प्रमाणपत्र प्रदान गर्ने र आफ्नो पहिचान प्रति सचेत बनाउने, आत्म सम्मान उच्चो राख्ने उद्देश्यले दिइने शिक्षालाई गुणस्तरीय शिक्षा भनिन्छ । गुणस्तरीय शिक्षाले  योग्य तथा दक्ष  नागरिक तयार गर्नुको साथै लगनशील, सृजनशील, सभ्य, चातुर्य, सक्रिय, इमानदार, मिजासिलो, बौद्धिक , विवेकी, अनुशासित, सदाचारी, स्वालम्बी,  र क्षमतावन जस्ता व्यावहारिक तथा प्राविधिक  गुणहरूको विकास गराउँछ ।

वर्तमान शिक्षाले आत्मनिर्भता, स्वावलम्बी, उद्यमशीलता, औद्योगिक ज्ञान र सीप भएका नागरिक उत्पादन गर्न नसकेको सामाजिक बहस छ । तसर्थ गुणस्तरीय शिक्षाले यी कार्यहरु पूरा गर्नुपर्छ भन्ने विश्वास गरिन्छ । तथापि गुणस्तरीय शिक्षाको अवधारणा सापेक्षित अवधारणा हो । पहिले उत्कृष्ट अङ्क ल्याउने ज्ञान भएकाहरूलाई गुणस्तर युक्त मानिन्थ्यो भने अहिले विश्लेषणात्मक, तार्किक  र मौलिक सोच, ज्ञान र सिपलाई स्तरीय शिक्षाको कसी मान्न थालिएको छ । यो परिवर्तित अवधारणा हो । त्यसैले ‘गुणस्तर’ को कुरा धेरै हदसम्म सापेक्ष हुन्छ ।

गुणात्मक शिक्षाको द्योतक नागरिक स्वायत्तताको विकास  हो । त्यति मात्र होइन आत्मानुभूति, आत्मनिर्भरता र स्वतन्त्रताको फराकिलो र दिगो विकास पनि हो । शिक्षा सूर्यको प्रकाश हो भने गुणस्तरीय शिक्षा स्वयम् सूर्य हो । फैलावट  मात्र होइन, तेज मात्र पनि होइन स्रोत हो । अर्को हिसाबले भन्दा शुद्ध हो, विशुद्ध हो । अर्गानिक हो । यसलाई ज्ञान, बुद्धिको कसिमा कम र व्यवहारको कसीमा ज्यादा हेरिन्छ । गुणस्तरीय शिक्षा पाकेको फल हो जो अरुले खाँदा स्वादिलो त हुन्छ नै हजारौं हजार आफ्नै गुणले सम्पन्न अरु विरुवाहरु उमार्ने प्रचुर संभावना पनि त्यसमा जीवित हुन्छ ।

गुणस्तरीय शिक्षा बारे शिक्षाविद् अन्ड्रेई हेप्बर्न भन्छन्, “गुणस्तरीय शिक्षाले एकै पुस्तामा समाजलाई रुपान्तरण गर्ने सामाथ्र्य राख्छ । यसले बालबालिकालाई गरिबीको दुष्चक्र, श्रमको शोषण र रोगव्याधीबाट बचाउँछ र उनीहरूलाई ज्ञान, सीप र आत्मविश्वास दिलाउँछ, जसले उनीहरूलाई आफू भित्रको सम्भावनाको अधिकतम खोजी गर्ने र क्षमताको अधिकाधिक प्रयोगको बिन्दुसम्म पुर्याउँछ ।“ 

बालबालिकाको सक्षमता विकासको केन्द्र भनेकै गुणस्तरीय शिक्षा हो । शिक्षालाई समग्रमा हेर्नू, स्तरीय हिसाबमा बुझ्नु र भोग्नु गुणस्तरीयता हो ।

प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर हामीले प्रदान गर्नुपर्छ। नेल्सन मण्डेला भन्छन्, “शिक्षा नै धेरै शक्तिशालीअस्त्र हो जसको प्रयोगले संसारलाई बदल्न सकिन्छ।“शिक्षाले गरिबी, अव्यवस्था, अशान्तिलाई निर्मूल गर्न सक्छ । 

त्यस्तै कन्फ्युसियस भन्छन्, “शिक्षा ले आत्मविश्वास उमार्छ आत्मविश्वासले आशा र आशाले शान्ति।“ यसर्थ शिक्षाले शान्त समृद्ध र सशक्त राष्ट्र निर्माण गर्न सक्छ।

ब्रान्ड् स्च्निडर भन्छन् , “म प्रत्येक बालकलाई गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउन सुनिश्चित गर्न चाहन्छु ।“ 

त्यस्तै चार्ल्स बी रङ्गेल भन्छन् “गुणस्तरीय शिक्षा ले युद्धसँग, गरिबीसँग, अशिक्षासँग मुकाबिला गर्ने क्षमता दिन्छ।“

अरवेन्द्र केजरीवाल भन्छन्, “यदि हामीले गुणस्तरीय शिक्षा अहिलेको पुस्तालाई प्रदान गर्यौँ भने समाजबाट गरिबी एकाएक निर्मूल भएर जान्छ । “यसरी भन्नुपर्दा शिक्षा नै गुणस्तरीय शिक्षा नै प्रत्येक रोगको प्रत्येक समस्याको एकमात्र अचुक औषधि हो ।

युनेस्कोले शिक्षाको गुणस्तरलाई अभिव्यक्त गर्न सिकाइको ‘चौखम्बे’ अवधारणा – ज्ञान आर्जन (Learning to know) केही गर्न (Learning to do) सहकार्य गरेर जिउन  (learning to live together) र केही हुने (learning to be) विकास र प्रयोग  गरेको छ ।

युरोपेली राष्ट्रहरूको साझा संस्था युरोपियन कमिसनले गुणस्तरीय शिक्षा मापनको चार तरिका : विषयगत उपलब्धि, सफलता र परिवर्तन, अनुगमन, स्रोत र संरचनाको विकासलाई आधार मानेको छ । यसबाट गुणस्तरीय शिक्षा कसरी मापन हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रत्येक बालबालिकाको अधिकार हो । त्यो उसलाई सुनिश्चित गर्न विद्यालय, शिक्षक, विज्ञ, विद्वान तथा सम्पूर्ण सरोकारवालाहरूले एकजुट भई काम गर्नु जरुरी  हुन्छ ।

परिस्थिति फेरिएको छ । सन्दर्भ फेरिएको छ । प्रत्येक कुरा फेरिदाँे छ । गतिमा छन् हर विषय । सापेक्षमा हुन्छ । सत्य त्यही हो जो परिवर्तित हुन्छ ।  शिक्षा बेग्लै विषय भन्ने चाहिँ होइन । शायद शिक्षा भन्ने शब्द अर्थात् त्यसबाट प्रदर्शित हुने व्यवहारले नपुगेर नै होला शैक्षिक गुणस्तर भने शब्द र व्यवहार को उपयोग भएको । अर्थात् शिक्षाले नपुगेर गुणस्तरीय शिक्षा भन्ने शब्द आएको हुनुपर्छ । भोलिका दिनमा यसले पनि भएन भने अर्कै टर्मिनोलोजी तथा फरक खालको व्यवहार प्रस्तुत हुँदैन भन्न सकिन्न । यो सम्पूर्ण परिवर्तित ज्ञान, परिवर्तित विश्व, विज्ञान र प्रविधिको चरम विकास, यसको प्रभाव र बदलिदो संस्कार संस्कृति, विश्व आदिमा भर पर्ने कुरा हो ।

गुणस्तरीय शिक्षाको मापदण्डको मापदण्ड के हो ? यसमा शिक्षक व्यवस्थापन, विद्यालय व्यवस्थापन, नीति नियमको प्रभावकारी निर्माण र कार्यान्वयन तथा उत्कृष्ट मूल्याङ्कन प्रणालीको आधारमा सिकाइ उपलब्धि जस्ता पक्षहरुलाई लिन सकिन्छ ।

खासमा गुणस्तरीय शिक्षा सबैका लागि, स्वावलम्बनका लागि, समानताको लागि, समृद्धिको लागि, स्वाभिमानको लागि गर्व र प्रोत्साहनको लागि हुनुपर्छ । गुणस्तरीय शिक्षाले अनुशासन, नैतिक आचरण, सदाचार जस्ता गुणहरूको विकास गर्ने मात्र नभएर त्यसलाई जीवनमा अवलम्बन गर्ने  जीवन पद्धतिको रुपमा विकास गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा गुणस्तरीय शिक्षालाई सिकाइ उपलब्धिको परिणाममा हेर्ने गरिन्छ भने योग्य र उत्प्रेरक शिक्षक, पाठ्यक्रम, निर्देशनात्मक सामग्रीहरु समावेशीकरण, पूर्वाधार विकास, मूल्याङ्कन  पद्धतिहरु साथै अभिभावक र समुदायको सम्बन्धको  आधारमा गुणस्तरीय शिक्षाको मापन गरिन्छ ।

वर्तमान शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधि लगायतका क्षेत्रमा समय सापेक्ष शंसोधन, परिमार्जन र परिवर्तन गर्दै , व्यवहारिक, जीवनोपयोगी, रोजगारमूखी, अनुसन्धानमूलक, उत्पादनशील तथा आत्मनिर्भर बन्नको लागि  गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने अत्यन्तै आवश्यक  देखिएको छ ।

अन्तमा, मेरो विचारमा गुणस्तरीय शिक्षा त्यस्तो शिक्षा हो जसले बालबालिकालाई कल्पना गर्न, सपना देख्न, सृजनशील बन्न र आत्मनिर्भर बन्न पूर्ण रुपले मद्दत गर्दछ । अझ भन्नु पर्दा अवचेतन मनको शक्तिको उजागर र उपयोग गर्न मद्दत गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । 

पाण्डे, श्री सुनपकुवा मा. वि. उर्लाबारी, मोरङका शिक्षक हुन् । 

प्रतिक्रिया