Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

सामुदायिक विद्यालय : विद्यालयमा छैनन् विद्यार्थी

शुक्रबार, २० साउन २०७४

काठमाडौं २० साउन / काठमाडौंकै भित्री शहरमा रहेका केही सामुदायिक विद्यालय डङ्डङती खाली छन् । यस्तो लाग्छ, शिक्षकहरू पोखरीको किनारमा बसेर बकुल्लाले माछा कुरेझैं विद्यार्थी कुरिरहेका छन् । अझ कोहीकोही त दशैँ छुट्टीमा घर जाँदा आँगनमा तास खेलेर घाम ताप्दै हर्षोल्लास मनाइरहेझैं देखिन्छन् । विद्यार्थी संख्या अत्यन्त न्यून रहेका कारण ती शिक्षक फुर्सदिला बनेका हुन् ।

विद्यालयको यस्तो दुरावस्थासँग राज्यलाई रत्तिभर चिन्ता छैन । राज्य कानमा तेल हालेर बसेको छ । भौतिक संरचना राम्रो नभएको र नेपाली भाषामै पढाइने भएका कारण धेरै विद्यार्थी सामुदायिक विद्यालयमा पढ्न नआउने शिक्षकहरू बताउँछन् । केशचन्द्र प्राथमिक विद्यालयको अवस्था हेर्दा राजधानीका सामुदायिक विद्यालयको दुरावस्था छर्लंग हुन्छ ।

यतिसम्म कि त्यहाँ कार्यरत एक शिक्षिकाले ‘वान भर्सेस वान’ शैलीमा एक जना मात्र विद्यार्थीलाई पढाइरहेकी थिइन् । यद्यपि, यस विद्यालयमा शिक्षकको संख्या चार जना रहेको छ । अन्य तीन जना शिक्षक भने कोही फोनमा व्यस्त थिए त कोही भुइँमा बसेर गफ गर्दै थिए । २०१४ सालमा इटुम्बहालवासीले आफ्ना छोराछोरी पढाउन यो विद्यालय आफ्नै पहलमा स्थापना गरेका थिए ।

शुरुका दिनमा विद्यार्थीको संख्या पनि निकै राम्रो थियो । प्रधानाध्यापक राजेश महर्जन भन्छन्, ‘म ०६१ मा प्रधानाध्यापक भएर आउँदा विद्यार्थी संख्या एक सय २४ थियो । अहिले एक जनामा झरेको छ ।’ सरकारी विद्यालयमा गरिबका छोराछोरी मात्र पढ्ने हो भन्ने चेतनाले हाम्रो मानसिकतालाई गाँजेको छ । फलस्वरूप यहाँ स्थानीय बासिन्दाका छोराछोरी सरकारी विद्यालयतिर फर्केर पनि हेर्दैनन् । ‘डेरावाल’का छोराछोरी मात्र पढ्न आउने गर्छन् । बाबुआमा डेरा छाडेर अन्यत्र सरेपछि उनीहरू पढ्न आउन सक्दैनन् । यट्खामा रहेको श्री कन्या माविकी शिक्षिका निर्मला श्रेष्ठ कक्षा ५ का जम्मा चार जना विद्यार्थीलाई पढाउँदै थिइन् । उनले भनिन्, ‘विद्यार्थी घटेको म पनि आश्र्चयचकित छु । मैले यो विद्यालयमा पढाएको ३८ वर्ष भयो । १५–२० वर्षअघि विद्यार्थीको संख्या धेरै भएर एउटा कक्षामा ७०–७५ जनासम्म विद्यार्थी राखेर पढाउनुपथ्र्यो, तर अहिले विद्यार्थी संख्या निकै नै घटेको छ ।’

भक्त विद्याश्रम मावि र केशचन्द्र प्राविको अवस्था पनि उस्तै छ । ‘स्थानीय व्यक्तिको सहभागिता विद्यालयमा नहुँदा अपनत्व नहुँदो रहेछ, त्यसकारण स्थानीय बालबालिकालाई समेट्न नसकिने रहेछ’, भक्त माबिका प्रअ सुदर्शन कट्टेलले अनुभव सुनाए । केशचन्द्र प्राविका प्रअ राजेश मर्हजन विद्यालयमा सुविधा नहुँदा विद्यार्थी नआएको ठान्छन् । ‘हाम्रो विद्यालयमा विद्यार्थीका लागि शौचालयको अभाव छ । विद्यालयबाहिरको पिपलबोटमुनि दिसापिसाब गराउने गरेका थियौँ, पछि स्थानीयहरूले यसको विरोध गरे जसले गर्दा पनि यहाँ विद्यार्थी पढ्न आएनन् ।’

सरकारी विद्यालयमा खानेपानीको पनि उस्तै समस्या छ । प्रायः विद्यार्थीले घरबाटै पानी लिएर जाने गरेका छन् । खानेपानी घरबाट बोकेर गए पनि शौचालयका लागि आवश्यक पानीको प्रबन्ध धेरै विद्यालयले गर्न सकेका छैनन् । विद्यालयमा आवश्यक आधारभूत आवश्यकतासमेत परिपूर्ति नहुँदा धेरै अभिभावकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन चाहँदैनन् । भर्ना अभियानका बेला सरकारी विद्यालयका शिक्षकहरूलाई विद्यार्थी कहाँबाट ल्याएर पढाउने भन्ने समस्या हुने गर्छ ।

दुःख गरेर भए पनि छोराछोरीलाई निजी र स्तरीय विद्यालयमा भर्ना गर्ने चाहना जुनसुकै अभिभावकमा हुनु स्वभाविकै हो । निजीमा पढाउनै पर्ने अहिलेको ट्रेन्डका कारण पनि अभिभावकहरू निजीतर्फ बढी आकर्षित भएका हुन् । अर्कोतर्फ काठमाडौंकै सरकारी विद्यालयको भवन, शौचालय र पुस्तकालयको अवस्था पनि लाजमर्दो छ । भूकम्पले भवन चर्किएको अवस्था छ । देख्दै जीर्ण भग्नावशेषझैं लाग्ने विद्यालयमा विद्यार्थीहरू कसरी पढ्न जाऊन् ?

जहाँ इच्छा, त्यहाँ उपाय

रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय कलंकी, नीलबाराही मावि कालिमाटी, विश्व निकेतन् त्रिपुरेश्वर, गीता मावि डल्लु, जनसेवा मावि कीर्तिपुर, मंगलोदय थानकोट, विजयस्मारक डिल्लीबजार, पद्मोदय पुतलीसडक, तरुण मावि बालाजु, लैनचौरको शान्ति विद्यागृह, नेपालटारको नेपालटार मावि, ब्रह्मटोलको सरस्वती निकेतन्, काठमाडौंका अब्बल ठहरिएका सरकारी विद्यालयहरू हुन् । यी विद्यालय पनि सरकारले दिने उही स्रोत र साधनमा पनि राम्रो चलेका छन् । जसकारण उदाहरणीय बन्न पुगेका छन् ।

अन्नपूर्ण टुडेमा निर्जला कक्षपतिले लेखेको खबर ।

प्रतिक्रिया