Edukhabar
सोमबार, २८ पुस २०८२
गतिविधि

कांग्रेसको प्रतिवेदन : शिक्षाका दुई पेचिला विषय सच्याउने संकल्प

गत भदौमा भएको जेन जी बिद्रोह असन्तुष्टिका कारण भएको भन्दै असन्तुष्टिका केही कारण शिर्षकमा समेत शिक्षाका विषय उल्लेख

सोमबार, २८ पुस २०८२

काठमाडौं - शिक्षा क्षेत्रका दुई पेचिला विषय, भागवण्डामा हुने नियुक्ति र शिक्षा ऐन निर्माणमा भईरहेको ढिलाइलाई गल्तीका रुपमा स्विकार्दै नेपाली कांग्रेसले सच्याउने संकल्प गरेको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सोमबार भएको बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको सांगठनिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो । 

संस्थापन पक्षको विमतीका बिच बहुमत महाधिवेशन प्रतिनिधिको बलमा आईतबार देखि शुरु विशेष महाधिवेशनमा शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा 'विगतका गल्ती यसरी सच्याउने संकल्प' शिर्षकमा यी दुई विषय समेटिएका छन् । 

'विश्वविद्यालयको उपकुलपति, रेक्टर या रजिष्ट्रार जस्तो जिम्मेवार नेतृत्वको चयन राजनीतिक भागबण्डाका आधारमा गरिए । ज्ञान र समन्वय दक्षता भएका सुयोग्य व्यक्तित्व कयौं हुँदाहुँदै भागबण्डाको प्रवृत्ति यसमा पनि प्रवेश भयो । यो सर्वथा गल्ती थियो' प्रतिवेदनमा भनिएको छ 'विगतका यस्ता गम्भीर गल्ती सच्याउँदै विशिष्ट नेतृत्व चयनमा विशिष्ट योग्यता मापन गर्ने मर्यादित मापदण्डको विकास हामी गर्नेछौं ।' 

यस्तै सोही शिर्षक अन्तरगतको अर्को बुँदामा शिक्षा विधेयकको विषय समेटिएको छ । 

'शिक्षा विधेयक ल्याउन ढिलाइ गरिएको गल्तीले समग्रमा शैक्षिक क्षेत्रमा मनोवैज्ञानिक असर र ब्यवहारिक चुनौती बढेको छ । विधेयक माग गरेर आन्दोलन गर्नुपर्ने अवस्था आउनु हामी सबैको गल्ती थियो ।' प्रतिवेदनमा भनिएको छ । 

यसैगरी प्रतिवेदनमा शैक्षिक स्थलमा बाहुबल प्रयोगको गलत प्रवृत्ति बितेको दशकमा बढेर गएको पनि उल्लेख गरिएको छ । यस्ता विसंगति कडाईका साथ सच्याउन सबैलाई अपील गर्दै पार्टी निकटका कुनैपनि विद्यार्थीले कहिँ पनि त्यस्तो दुव्र्यवहारको अराजक गतिविधि गरे तत्कालै सदस्यताबाट मुक्त हुने प्रक्रिया तय गर्ने बिशेष महाधिवेशनले उद्घोष गरेको उल्लेख समेत गरिएको छ । 

प्रतिवेदनमा गत भदौ २३ र २४ गते भएको जेन जी बिद्रोह असन्तुष्टिका कारण भएको भन्दै असन्तुष्टिका केही कारण शिर्षकमा समेत शिक्षाका विषय उल्लेख गरिएको छ । यस अन्तरगत १६ वटा बुँदा मध्ये बुँदा नम्बर ९ मा विश्वविद्यालयहरुको नेतृत्व चयन गर्न कुनै मर्यादित बिधिको विकास ३० बर्षमा नगरेका कारण असन्तुष्टि बढेको स्विकार गरिएको छ । 

'भागबण्डाको सजिलो फर्मुला छँदै थियो विश्वविद्यालय पनि अनि अस्पतालको नेतृत्वसम्म पनि । उपयुक्त व्यक्तिको चयन हुँदा पनि भागबण्डामा परेर नियुक्त भएको सन्देश जाने बित्तिकै मेरिटोक्रेसी स्थापित नगरेको दोष हामीले भोग्नुप¥यो अनि नकारात्मक छविले आकार लियो ।' प्रतिवेदनमा भनिएको छ । 

यस्तै उक्त शिर्षककै बुँदा नम्बर १२ मा शिक्षा विधेयक लामो प्रतीक्षा पछि संसदमा आए पनि त्यसलाई निष्कर्षमा पु¥याउन नसक्दा शैक्षिक क्षेत्रमा असन्तुष्टि बढेको उल्लेख छ । 

'त्यसले शिक्षक र बिधालय कर्मचारीमा असन्तुष्टि जारी राख्यो । परिवर्तित समय अनुरुपको शिक्षा विधेयक जारी गराउन शिक्षकहरूले पटकपटक आन्दोलन गर्नुपर्ने स्थिति आफैंमा दुःखद थियो ।' प्रतिवेदनमा भनिएको छ । 

शर्माले पेश गरेको प्रतिवेदनलाई 'बदलिएको देश र बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा' नाम दिएका छन् ।

' हामी जान्दछौं जो बदलिन सक्छ, उसैले बदल्न सक्छ । देशको समयलाई कुनैबेला कांग्रेसले आफूअनुकुल बदलेको थियो, आज बदलिएको समय अनुकुल कांग्रेसले आफुलाई बदल्नु छ' उनको प्रतिवेदनमा भनिएको छ 'हामी बदलिन सक्छौं, बदल्न सक्छौं, काँग्रेसलाई रिबिल्डिब र रिब्रान्डिब गर्नेछौं । सद्भाव, सुशासन र समुन्नतिको यात्रामा हामी सबैको साथ चाहन्छौं, हामी समस्त नेपालीको जय चाहन्छौं ।'

बन्द सत्रमा अर्का महामन्त्री गगन थापाले राजनीतिक र नीति सम्बन्धि प्रतिवेदन पेस गर्नेछन् ।

जेन जी बिद्रोह पछि दलको नीति र नेतृत्व बदल्नु पर्ने माग सहित बहुमत महाधिबेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिबेशनलाई कांग्रेसका दुई महामन्त्री शर्मा र थापाले स्वामित्व लिएर अघि बढाएका हुन् । आईतबारबाट शुरु महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी भएपछि सभापति शेरबहादुर देउवा र उनी निकटका व्यक्तिहरुलाई नेतृत्व हस्तान्तरण गर्न दवाव परेको छ ।

प्रतिक्रिया