Edukhabar
शनिबार, १७ असोज २०८३
गतिविधि

शिक्षा परीक्षाको परिणाम मात्र हैन, जिम्मेवारी बोध गर्ने माध्यम हो : राष्ट्रपति पौडेल

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड

शनिबार, १७ असोज २०८३

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाको उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु मात्रै नभई व्यक्तिको जिम्मेवारी बोधको सशक्त माध्यम समेत भएको बताएका छन् । सेण्ट जेभियर्स स्कुलको हीरक महोत्सव समारोहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने धारणा व्यक्त गरे । 

‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नुमा र प्रमाणपत्र हासिल गर्नुमा सिमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो’ राष्ट्रपति पौडेलले भने  ‘त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्छ ।’ 

नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश भएको बताउँदै उनले शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताए ।

‘समय परिवर्तनशील छ, तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक छ । सूचना प्रविधिको द्रूत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीमै खोजिनुपर्छ’ उनले भने ‘त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनु पर्छ ।’ 

ज्ञान र सीप संगै नैतिकता, अनुशासन, सृजनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने गरी स्वदेशमै उत्पादन र रोजगारीको अवस्था सृजना गरी हरेक नागरिकमा देश प्रतिको भावना अभिवृद्धि गर्ने शिक्षामा विशेष ध्यान दिनु पर्ने आफ्नो धारणा रहेको पनि उल्लेख गरे । 

अनुशासन, संस्कार सेवा जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको अभिन्न अंगका रुपमा सेण्ट जेभियर्स स्कुलको गर्भिलो ईतिहास भएको बताउँदै उनले नेपालको शैक्षिक विकासमा विद्यालयले पुर्याएको योगदान प्रशंसा पनि गरे ।

‘यहाँबाट शिक्षित विद्यार्थीले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ’ उद्घाटन मन्तव्यका क्रममा उनले भने ‘आगामी दिनमा यस स्कुलले शिक्षाका माध्यममबाट नागरिकको चौतर्फि विकास र राष्ट्र निर्माणमा अझ प्रभावकारी ढंगले योगदान पुर्याउने नै छ भन्ने विश्वास छ ।’ 

SXJ_75

७५ औं वार्षिकोत्सव समाहरोहमा २५ बर्ष सेवा अवधि पुरा गरेका सेण्ट जेभियर्स गोदावरीका १५ र जावलाखेलका १२ जना शिक्षक कर्मचारीलाई राष्ट्रपति पौडेलले सम्मान समेत गरेका थिए । 

सम्मानित हुनेहरुमा गोदावरीका बाबुकृष्ण सिलवाल, बिजुराज बज्राचार्य, बिनोद  सिलवाल, गम्भिर कटुवाल, हरिकला राना, जितवहादुर तामाङ्ग र लक्ष्मण गुरुङ्ग थिए । यसैगरी मान बहादुर चौधरी, पुतली तामाङ्ग, राधिका कुमारी पन्त, सन्तलाल महर्जन, सरोज कुमार राउत, सिता माया पाख्रिन र उर्वशी थापा क्षेत्रीलाई पनि राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

यसैगरी जावलाखेलका भवानी कोईराला, धन बहादुर गाहा मगर, दिल बहादुर झेण्डी, गीता मास्के, हेम लामा र कृष्ण देउलालाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए । यस्तै ओम कृष्ण श्रेष्ठ, विन्द्र देउला, श्याम कुमार महर्जन, सुर्य बहादुर थापा, याम बहादुर राना र राजेन्द्र प्र्रसाद आचार्यलाई पनि राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयका पहिलो व्याचका विद्यार्थी रतन कुमार सिद्धिलाई पनि राष्ट्रपति पौडेलले सम्मान गरेका थिए । 

कार्यक्रममा सहभागी हुन विद्यालय प्रवेश गर्नासाथ राष्ट्रपति पौडेललाई शिक्षक एवं विद्यार्थीले स्वागत गरेका थिए । 

SXJ_welcome

कार्यक्रममा सेण्ट जेभियर्स जावलाखेलका प्रिन्सिपल फादर लियो अल्फन्ज राज एस.जे., जेजुईट सोसाईटिका दार्जिलिङ्ग – नेपाल क्षेत्रीय प्रमुख फादर साजुमन एस.जे र  सेण्ट जेभियर्स गोदावरीका प्रिन्सिपल फादर विजय प्रताप टोप्पा एस.जेले विद्यालयकोे शैक्षिक गतिविधि एवं सामाजिक उत्तरदायित्वका बारेमा प्रष्ट पारेका थिए । 

SXJ_group

कार्यक्रममा विद्यार्थीले नेपालको सांस्कृतिक पहिचान झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेका थिए । 

SXJ_dance

७५ बर्ष अघि विद्यालय स्थापना भएकै दिन जुलाई १ तारिख पारेर विद्यालयले गत बर्ष असार १७ गते सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरी महोत्सव उद्घाटन गरेको थियो । आफ्नो हीरक महोत्सवको उपलक्ष्यमा विद्यालयले बर्ष भरी विभिन्न कार्यक्रम गरेको थियो ।  यस बिचमा विद्यालयले विभिन्न सामाजिक सेवाका कामहरु सम्पन्न गरेको विद्यालयले जनाएको छ । विद्यार्थीलाई सामाजिक काममा स्वयंसेवा गर्न समेत संलग्न गराईएको थियो । हीरक महोत्सवलाई धुमधामसँग मनाउने योजना बनाए पनि गत भदौमा  रसुवामा आएको हिमाली सुनामीका कारण भएको जनधनको क्षतीका कारण सिमित व्यक्तिको उपस्थितीमा औपचारिक कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयले रसुवा बाढीका पिडितहरुलाई राहत सामग्री समेत उपलब्ध गराएको थियो ।  

शनिवार आयोजित सो औपचारिक कार्यक्रममा विद्यालय स्थापना गर्दाको ईतिहास झल्काउने नाटक प्रस्तुत गरिएको थियो । 

तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा नेपालमा सेण्ट जेभियर्स स्कुल खोल्ने प्रकृया शुरु भएको थियो । चन्द्र शमशेरले स्थापना गरेको त्रिचन्द्र कलेजको परीक्षा सञ्चालनको काम गर्ने भारतको पटना विश्वविद्यालयबाट कलेज अनुगमनका लागि नेपाल आएका फादर मार्शल डि. मोरानले नेपालमा विद्यालय खोल्ने विषयमा राखेको प्रस्तावमा शिक्षा हेर्ने डाईरेक्टर चन्द्र शमशेरका भतिजा मृगेन्द्र शमशेर सकारात्मक भए पछि सेण्ट जेभियर्स स्थापनाको प्रकृया शुरु भएको थियो । सन् १९५० नोभेम्बर १ मा ललितपुरको गोदावरीमा विद्यालय खोल्न मृगेन्द्र शमशेरले स्विकृती दिने निर्णय गरेका थिए । 

तर, विद्यालय खोल्ने प्रकृया पुरा नहुँदै वि.सं. २००७ सालमा नेपालमा राणा शासन अन्त्य भए पछि मोहन शमशेर प्रधानमन्त्री भए । उक्त मन्त्रीमण्डलमा शिक्षा मन्त्री रहेका नृपजंग राणालाई मोरानले पटनाबाटै टेलिग्राम मार्फत् विद्यालय स्थापनाको रोकिएको प्रकृया जानकारी गराएका थिए । उक्त जानकारीको सम्बोधन गर्दै शिक्षा मन्त्री राणाले विद्यालय खोल्ने स्विकृती प्रदान गरे । गोदावरीमा रहेको राणाहरुले घोडा बाँध्न प्रयोग गरेको तबेला र हात्तीसारलाई सरसफाई गरी कक्षा कोठाका रुपमा प्रयोग गर्ने स्विकृती  प्राप्त भयो । पाठ्य सामग्री पटनाबाट ल्याउने तय भयो । विद्यार्थी भर्नाका लागि आवेदन माग्दा शुरुमा तीन सय जनाको आवेदन परेको थियो । त्यसबाट ६० जना छनौट गरी सन् १९५१ जुलाई १ देखि विधिवत् रुपमा नेपालमा विद्यालय स्थापना भएको हो । सोही बर्षको नोभेम्बर ८ मा तत्कालिन शिक्षामन्त्री राणा, सेण्ट जेभियर्स पटनाका सुपेरियर फादर रिचर्ड ए. वोल्फ, सेण्ट जेभियर्स गोदावरीका सुपेरियर फादर फ्रयांक मर्फि, विद्यालयका प्रधानाध्यापक मार्शल डि मोरान र तत्कालिन शिक्षा विभागका प्रमुख शारदा प्रसाद उपाध्यायले समझदारी पत्रमा हस्ताक्षर गरेर विधिवत रुपमा विद्यालय स्थापना भएको हो । सेण्ट जेभियर्स निजी शैक्षिक गुठिका रुपमा सञ्चालित विद्यालय हो ।

अहिले सेण्ट जेभियर्स स्कुल ललितपुरको गोदावरी र जावलाखेल सहित देशका विभिन्न ९ स्थानमा विद्यालय र कलेज सञ्चालनमा छन् । दुईवटा सामाजिक केन्द्र मार्फत् सोसाईटिले सामाजिक सेवाका काम समेत गर्दै आएको छ । 

संसारका विभिन्न देशमा सञ्चालित सेण्ट जेभियर्स स्कुल सन्त फ्रान्सिस जेभियरको नाममा स्थापना गरिएको हो । सन् १५०६ मा स्पेनको नाभारामा जन्मेका जेभियर्सले पेरिस विश्वविद्यालयमा अध्ययन गर्दा इग्नेसियस अफ लोयला लगायतका धर्मगुरुहरुसँगको भेट पछि प्रभावित भएर सन् १५३४ मा जेसुइट सोसाईटी स्थापना गरेका थिए । शिक्षा र समाज सेवामा काम गर्ने उद्देश्य साथ स्थापना गरिएको यही संस्था मार्फत् संसारका विभिन्न देशमा सेण्ट जेभियर्स स्कुल सञ्चालन हुँदै आएको छ । 

SXJ_gate

प्रतिक्रिया