Edukhabar
सोमबार, ३० कार्तिक २०८३
विचार / विमर्श

स्क्रिनमा अल्झिएको बाल्यकाल : नियन्त्रण कि विकल्प ?

जब मोबाइल मनोरञ्जनको सामान्य साधनबाट बानी, बानीबाट निर्भरता र निर्भरताबाट दैनिक जीवनको केन्द्र बन्छ, तब बालबालिकाको ध्यान, व्यवहार र संवेदना खण्डित हुन थाल्छ।

सोमबार, ३० कार्तिक २०८३

केही दिनअघि कक्षाकोठामा सिकाइ सहजीकरणकै क्रममा मैले विद्यार्थीलाई एउटा प्रश्न सोधेँ— "तिमीहरूलाई जीवनमा सबैभन्दा बढी खुसी कसरी मिल्छ?"

धेरैजसोको जवाफ खेल मैदानको रोमाञ्चकता, आमाबाबुसँग बिताएका आत्मीय  पल, साथीहरूसँगको भलाकुसारी वा प्रकृतिको काखमा बिताएका क्षणहरू थिएनन्।

उनीहरूको उत्तर थियो— "Free Fire मा Rank Push गर्दा", "Minecraft मा घर बनाउँदा", "PUBG मा जित हासिल गर्दा" वा "Shorts र Reels हेर्दा ।"

यो जवाफ एक-दुई विद्यार्थीको मात्र थिएन !

आजको बाल्यकालको समय र दिशा कतातिर मोडिँदै छ भन्ने गम्भीर सङ्केत पनि थियो। धेरैजसो बालबालिका घण्टौँ स्क्रिनको नीलो प्रकाशमा हराउँछन्। तर प्रश्न उनीहरू के गरिरहेका छन् भन्ने मात्र होइन; अझ गम्भीर प्रश्न त उनीहरू के सोचिरहेका छन्, के अनुभव गरिरहेका छन् र उनीहरूको भित्री चेतना कसरी निर्माण भइरहेको छ भन्ने हो।

डिजिटल प्रविधि आफैँमा हाम्रो शत्रु होइन। यसले सूचना, ज्ञान र सिर्जनाका अभूतपूर्व ढोका खोलेको छ। स्क्रिनका सबै प्रयोग पनि उस्तै हुँदैनन्— नयाँ कुरा सिक्नु, साथीसँग मिलेर खेल्नु र निरन्तर रिल्स हेरिरहनु एउटै कुरा होइनन्। समस्या प्रविधिको उपस्थितिमा होइन, यसको अनियन्त्रित र दिशाहीन प्रयोगमा छ। जब मोबाइल मनोरञ्जनको सामान्य साधनबाट बानी, बानीबाट निर्भरता र निर्भरताबाट दैनिक जीवनको केन्द्र बन्छ, तब बालबालिकाको ध्यान, व्यवहार र संवेदना खण्डित हुन थाल्छ।

हाम्रो परम्परागत बाल्यकाल माटो, रूखबुट्यान, घरआँगनका खेल र छिमेकसँगको प्रत्यक्ष सम्बन्धमा हुर्किएको थियो। त्यो कति सुन्दर थियो, सम्झनुहोस् त ! त्यो बेला माटोमा खेल्दा बालबालिकाले केवल समय बिताइरहेका थिएनन्; तिनले धैर्य, सहकार्य, असफलता सहने क्षमता, जोखिमको मूल्याङ्कन र अरूको दुःख बुझ्ने संवेदना सिकिरहेका हुन्थे। आज कतिपय बालबालिकाको जीवनमा स्क्रिनले ती प्रत्यक्ष अनुभवका लागि उपलब्ध समय घटाउँदै लगेको छ। स्क्रिनमा हजारौँ साथी र फलोअर्स हुन सक्छन्, तर त्यसले प्रत्यक्ष मानवीय सम्बन्धबाट पाइने हार्दिकता, मधुरता र जीवन-सीपको विकल्प दिन सक्दैन।

कक्षाकोठामा बालबालिका कहिलेकाहीँ किन अशान्त, अधैर्य वा छटपटिएका देखिन्छन्? किन उनीहरू पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ अनुभव गर्छन्? यसको कारण एउटै हुँदैन। डिजिटल सामग्रीको निरन्तर उपभोग एउटा सम्भावित कारण हुन सक्छ; त्यस्तै, निद्राको कमी, पारिवारिक वातावरण, भावनात्मक तनाव, सिकाइको प्रकृति र व्यक्तिगत भिन्नताले पनि उनीहरूको व्यवहारमा प्रभाव पार्न सक्छन्। त्यसैले समस्या देखेर निष्कर्षमा पुग्नुभन्दा पहिले त्यसको वास्तविक कारण खोज्नु आवश्यक छ।

आफू घण्टौँ मोबाइलमा व्यस्त रहेर बालबालिकालाई "मोबाइल नचला" भन्नु प्रभावकारी र व्यवहारिक हुँदैन।

जब कुनै विद्यार्थी निष्क्रिय देखिन्छ, तब उसलाई "अल्छी", "अनुशासनहीन" वा "पढ्न नचाहने" ट्याग लगाउन सजिलो हुन्छ। सबै निष्क्रियताको कारण स्क्रिन हुँदैन, तर कारण नबुझी ट्याग लगाउनु न्यायोचित हुँदैन। एक शिक्षक र समाजले रोकिएर सोच्नुपर्छ— के उसले पढाइमा जीवन्त अर्थ भेटिरहेको छ? के उसको जिज्ञासा, प्रश्न गर्ने स्वतन्त्रता र सिर्जनशीलतालाई फूल्न र फल्न हामीले प्रशस्त ठाउँ दिएका छौँ ?

म प्रायः विद्यार्थीलाई सोध्ने गर्छु— "तिमीहरूलाई के गर्न मन लाग्दैन ?"

धेरैजसो भन्छन्— "पढ्न मन लाग्दैन सर !"

किन उनीहरूलाई पढ्न मन लाग्दैन होला त ? यो एक गम्भीर र खोजी गर्ने विषय हो। तर दुर्भाग्य, यस विषयमा शिक्षक, सरकार र सरोकारवालाको पर्याप्त ध्यान पुग्न सकेको छैन। सबैको ध्यान त पाठ्यक्रमले तोकेको अपेक्षित सिकाइ उपलब्धि (Intended Learning Outcomes) हासिल गराउनेमै छ। अनि हुन्छ कसरी ?

मोबाइल खोस्नु वा गाली गर्नु तत्कालको दबाब थाम्न त काम लाग्न सक्छ, तर के त्यो समाधान हो त ? पटक्कै होइन। बालबालिका स्क्रिनमा ध्यान र स्वीकृति खोजिरहेका हुन्, दैनिक तनावबाट केही समयको आराम खोजिरहेका हुन्, कि जीवनबाट भाग्न खोजिरहेका हुन्? यो नहेरी र नबुझी गरिने नियन्त्रणले तनाव, अशान्ति र थप विद्रोह मात्र जन्माउँछ। त्यसैले नियन्त्रण गर्नुभन्दा पहिले बुझ्नु र निषेध गर्नुभन्दा पहिले विकल्प दिनु आवश्यक छ।

आजको डिजिटल युगमा बालबालिकासँग सूचनाको कमी छैन। तर सूचना पाउनु र त्यसलाई विवेकमा बदल्नु फरक कुरा हुन्। तथ्य थाहा पाउनु ज्ञानको सुरुवात हो, तर त्यो सत्य हो कि असत्य जाँच्न सक्नु, विचारलाई आलोचनात्मक दृष्टिले हेर्नु र त्यो ज्ञानलाई मानवीय हितमा प्रयोग गर्नु विवेक हो। धेरै अवस्थामा हाम्रो शिक्षा प्रणालीले सूचनाको भार थपेको छ, तर आलोचनात्मक सोच, आत्म-अनुशासन, इमानदारी, नैतिकता र मानवीय संवेदना सिकाउन चुकेको छ। त्यसैले बालबालिकालाई प्रविधिबाट पूर्णतः अलग राख्न सकिँदैन, न त त्यो व्यावहारिक नै हुन्छ। आवश्यकता भनेको प्रयोगलाई सचेत, मर्यादित र जिम्मेवार बनाउनु हो।

बालबालिकाका लागि अभिभावक आफैँले उदाहरण बन्नुपर्छ। आफू घण्टौँ मोबाइलमा व्यस्त रहेर बालबालिकालाई "मोबाइल नचला" भन्नु प्रभावकारी र व्यवहारिक हुँदैन। खाना खाने टेबल र सुत्ने कोठालाई स्क्रिन-मुक्त बनाउन सकिन्छ, र बेलाबेला बालबालिकाले खेल्ने गेम वा हेर्ने भिडियोबारे सँगै बसेर कुरा गर्न सकिन्छ। बालबालिकासँग समय बिताउन, खेल्न र संवाद गर्न, अनि डिजिटल समयको बदलामा उति नै समय माटो, फलफूल रोप्ने, खेलकुद वा प्रकृतिका गतिविधिमा बिताउन उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ र आफू पनि सहभागी हुनुपर्छ।

विद्यालयले पनि पाठ्यपुस्तक र घोकन्ते परीक्षाबाट माथि उठेर प्रयोगात्मक सिकाइ, जीवनोपयोगी सीप सिकाइ, माटो र हस्तकलाको काम, व्यवहार, कला र प्रकृति अवलोकनलाई स्थान दिनुपर्छ। शिक्षकले विद्यार्थीको निष्क्रियतालाई सजायको कारण नबनाई उसको भित्री रुचि र भावनात्मक कठिनाइ बुझ्ने प्रयास गरेर त्यसअनुसारको व्यवहार गर्नुपर्छ।

निष्कर्षमा भन्नुपर्दा, बालबालिकाको डिजिटल व्यवहार बदल्न मोबाइल खोस्नु मात्र पर्याप्त छैन; त्यसको ठाउँमा अर्थपूर्ण जीवनानुभव दिनुपर्छ। परिवारले उचित सीमा, हेरचाह र आत्मीय संवाद, विद्यालयले सिर्जनात्मक तथा प्रयोगात्मक सिकाइ, र समुदायले खेल, प्रकृति, सहकार्य र सहभागिताका अवसर उपलब्ध गराउनुपर्छ। बालबालिकाहरूका लागि मोबाइलको नियन्त्रण कि विकल्प भन्ने प्रश्नको उत्तर स्पष्ट छ— नियन्त्रणले मात्र पुग्दैन, अर्थपूर्ण विकल्प चाहिन्छ।

बालबालिकाले कति समय स्क्रिनमा बिताउँछन् भन्ने मात्र होइन, स्क्रिनबाहिर उनीहरूले के अनुभव गरिरहेका छन् भन्ने पनि प्रश्न हो। उनीहरू खेल्न, प्रश्न गर्न, सिर्जना गर्न, गल्तीबाट सिक्न र मानवीय सम्बन्धमा रमाउन पाइरहेका छन् कि छैनन्? त्यसका लागि हामीले अर्थपूर्ण काम गरेका छौँ कि छैनौँ ? मूल प्रश्न यही हो। बाल्यकाललाई स्क्रिनबाट खोस्नु मात्र हाम्रो उद्देश्य होइन; स्क्रिनभन्दा बाहिर पनि सुन्दर र वास्तविक संसार छ भन्ने अनुभव गराउनु र त्यसतर्फ आकर्षित गर्नु हामी सबै सरोकारवालाको प्रमुख कर्तव्य र जिम्मेवारी हो। होइन र? हामी सबैलाई बेलैमा चेतना होस्।

पाण्डे, श्री सुनपकुवा माध्यमिक विद्यालय, उर्लाबारी–२, मोरङका शिक्षक हुन् ।

प्रतिक्रिया