Edukhabar
बुधबार, १८ कार्तिक २०८३
विचार / विमर्श

शिक्षक : ज्ञानको संवाहक देखि समाजको मार्गदर्शकसम्म

शिक्षकले समाजमा खेलेको भूमिका देख्दा लाग्छ उनी समाजको मौन तर सबैभन्दा शक्तिशाली नेता हुन् ।

बुधबार, १८ कार्तिक २०८३

मानव सभ्यताको विकास र रूपान्तरणमा शिक्षाको भूमिका सर्वोपरि छ । आजको समयमा शिक्षाविनाको समाज कल्पना गर्नै सकिँदैन । शिक्षाको कुरा गर्दा सँगै जोडिएर आउने व्यक्ति हुन् शिक्षक । औपचारिक रुपमा हेर्दा शिक्षक विद्यालयका एक जना जागिरे व्यक्ति हुन् जसले विद्यालयमा निश्चित पाठ्यक्रमका आधारमा विद्यार्थीलाई अक्षर चिनाउने, ज्ञान र सीप दिने तथा अनुशासन र नैतिकता सिकाउने काम गर्छन् ।
तर, शिक्षकको वास्तविक भूमिका यतिमा मात्र सीमित छैन । शिक्षक केवल कक्षाकोठामा पाठ्यक्रम, पाठ्यपुस्तक वा चक र डष्टर बोकेर ज्ञानको व्याख्या विश्लेषण गर्ने प्राविधिक व्यक्ति मात्र होइनन् । उनी त सामाजिक चेतनाका संवाहक र सामाजिक मूल्य, मान्यता र संस्कृतिका संरक्षक पनि हुन् । 

शिक्षक कक्षाकोठामा मात्र सिमित हुँदैनन् । उनको प्रभाव सिङ्गो समाज र राष्ट्रमा परेको हुन्छ । विद्यालय भित्रको उनको कृयाकलापले समाजमा असल नागरिक निर्माण गर्छ भने कक्षाकोठा बाहिरको उनको प्रभाव र व्यक्तित्वले समाजलाई सही दिशा निर्देश गर्छ । यो लेखमा शिक्षकको विद्यालय भित्रको भूमिकाको अतिरिक्त उनको सामाजिक दायित्वका बारेमा छलफल गर्ने प्रयास गरिएको छ । 

के भन्छन् दार्शनिक र शिक्षाविद्

अमेरिकी शिक्षाविद् जोन डिवे विद्यालयलाई सानो समाज मान्छन् र शिक्षकलाई समाज निर्माणको मुख्य इञ्जिनियर ठान्छन् । उनका अनुसार शिक्षकले समाजमा लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्छन् ।
ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरे शिक्षालाई सामाजिक परिवर्तन र चेतनाको माध्यम मान्छन् । त्यसैले उनी भन्छन् शिक्षकले समाजका उत्पीडित वर्गलाई आफ्नो हक र अधिकारप्रति सजग बनाउनु पर्छ । शिक्षक समाज परिवर्तन र रूपान्तरणको अग्रणी नेता हो भन्ने उनको मान्यता छ ।

ग्रीक दार्शनिक प्लेटो भन्छन्, राज्यको आदर्श शासक दार्शनिक हुनुपर्छ र त्यो दार्शनिक उत्पादन गर्ने काम शिक्षकको हो । उनका अनुसार शिक्षकले नै समाजमा न्याय, नैतिकता र सुशासनको जग बसाल्छन् ।

अहिंसावादी नेता महात्मा गान्धी भन्छन्, शिक्षाले मानिसको शरीर, मन र आत्माको सर्वोत्कृष्ट विकास गर्नुपर्छ । शिक्षकले समाजमा प्रदर्शन गर्ने आफ्नो चरित्रद्वारा समाजलाई अहिंसा, स्वावलम्बन, सदाचार र अनुशासनको पाठ सिकाउनु पर्छ । त्यसैले शिक्षक समाजको आदर्श व्यक्ति हुन् ।

नेल्सन मण्डेलाका अनुसार शिक्षा यस्तो सबैभन्दा शक्तिशाली हतियार हो, जसको प्रयोग संसार बदल्नका लागि गर्न सकिन्छ । यो हतियार चलाउने र समाज बदल्ने मुख्य नेतृत्वकर्ता शिक्षक नै हुन् ।
नेपाली समाज र पूर्वीय चिन्तनमा पनि शिक्षक समाजको नेता हो भन्ने मान्यता निकै गहिरोसँग जोडिएको छ । स्वामी विवेकानन्द, चाणक्य र जे कृष्णमूर्ति जस्ता महान् दार्शनिकहरूले शिक्षकको भूमिकालाई कक्षाकोठामा मात्र सीमित नराखी समाजलाई सहि बाटो देखाउने नेताको रूपमा हेरेका छन् ।

दार्शनिक चाणक्य भन्छन्, शिक्षक कहिल्यै साधारण हुँदैनन्, प्रलय र निर्माण दुबै उनको काखमा हुर्कन्छन् । शिक्षकले नै समाजलाई सही नेता दिन्छन् । शिक्षकले नयाँ पुस्ताको चरित्र निर्माण गरेर समाज र पुरै राष्ट्रको भविष्य र राजनीतिको दिशा तय गर्छन् । 

स्वामी विवेकानन्द शिक्षालाई मानिस भित्र भएको पूर्णताको प्रकटीकरण मान्छन् । विवेकानन्दका अनुसार साँचो शिक्षक त्यो हो जसले विद्यार्थीलाई मानिस बन्न सिकाउँछ । शिक्षक केवल जानकारी दिने व्यक्ति मात्र होइनन् । उनी त विद्यार्थीको आध्यात्मिक र नैतिक पथप्रदर्शक पनि हुन् । समाजमा जब नैतिक संकट आउँछ, त्यसबेला शिक्षकले आफ्नो उच्च चरित्र र ज्ञानद्वारा समाजलाई सही मार्गमा अगाडि बढाउँछन् ।

जे. कृष्णमूर्ति आधुनिक शिक्षाले चेतनाको स्वतन्त्रतामा जोड दिनु पर्छ भन्छन् । कृष्णमूर्तिको नजरमा शिक्षक समाजको त्यो नेता हो जसले मानिसलाई सोच्न सिकाउँछ, अरूको पछि लाग्न होइन । शिक्षकले विद्यार्थीलाई डर र परम्परागत सोचबाट मुक्त गराउनुपर्छ । कृष्णमूर्ति भन्छन्, समाजमा मानसिक र बौद्धिक क्रान्ति ल्याउने प्रकृयाको नेतृत्व गर्ने काम शिक्षकको हो । जसले पुरै समाजको सोचाइ बदल्ने सामथ्र्य राख्छ । 

जगत गुरु डाक्टर स्वामी प्रपन्नाचार्यका अनुसार देशका सबैभन्दा उत्कृष्ट दिमागहरू नै शिक्षक हुन् । त्यसैले शिक्षकले समाजको बौद्धिक र प्राज्ञिक नेतृत्व गर्नुपर्छ र समाजलाई विनयशील बनाउनु पर्छ ।

कक्षाकोठाको नेताका रूपमा शिक्षक

शिक्षकको प्राथमिक कार्यक्षेत्र विद्यालय र कक्षाकोठा नै हो । कक्षाकोठामा शिक्षक बालबालिकाका अभिभावक र ज्ञानका संवाहकका रुपमा प्रस्तुत हुन्छन् । एउटा कुशल शिक्षकमा राजनीतिक नेता, परिवारको अभिभावक, समाजको अग्रणी वा मन्दिरका पुजारीमा हुने सम्पूर्ण गुणहरू हुन्छन् । 

शिक्षकले विद्यार्थीलाई ज्ञान र सीप बाँड्ने काम गर्छन् । विद्यार्थीलाई अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ डोहोर्याउने काम शिक्षकको हो । शिक्षकले विषयवस्तुको ज्ञानको साथै विद्यार्थीलाई जीवन जिउने कला, समस्या समाधान गर्ने सीप र आलोचनात्मक चेतको विकास गराउँछन् ।

कुनै पनि देश वा समाजको आर्थिक समृद्धिको आधार त्यहाँको जनशक्ति हो । समाजलाई चाहिने डाक्टर, इञ्जिनियर, पाइलट, वैज्ञानिक, राजनीतिज्ञ र प्रशासक उत्पादन गर्ने कारखानाका कालिगढ हुन् शिक्षक ।

शिक्षक समानता र न्यायको पालक पनि हुन् । विद्यालयमा विभिन्न जातजाति, लिङ्ग, धर्म, आर्थिक अवस्था र फरक क्षमता भएका विद्यार्थी हुन्छन् । शिक्षकले सबैलाई विनाकुनै भेदभाव समान अवसर र न्याय प्रदान गर्छन् । शिक्षकले प्रत्येक विद्यार्थीको विशिष्ट क्षमतालाई चिनेर उनीहरूलाई सही दिशा दिने काम गर्छन् ।

विद्यार्थीका लागि शिक्षक सबैभन्दा उच्च आदर्श हुन् र प्रेरणाका स्रोत हुन् । शिक्षकको बोली, व्यवहार, पहिरन र दृष्टिकोणलाई विद्यार्थीले नजिकबाट नियालिरहेका हुन्छन् र त्यसैलाई अनुसरण गर्छन् । त्यसैले शिक्षकले कक्षाकोठामा बोल्दा वा समाजमा व्यवहार गर्दा वा विभिन्न कार्यक्रममा आफ्ना दृष्टिकोण राख्दा शालिन र अनुशासीत हुँदै तथ्य र तथ्याङ्कमा आधारित हुन जरुरी हुन्छ ।

विद्यालय र कक्षाकोठालाई शान्त, मर्यादित र सिकाइमैत्री बनाउनु शिक्षकको नेतृत्व क्षमताको उदाहरण हो । समयको पालना, समूह कार्यको सञ्चालन र आपसी सहयोगको भावना विकास गराएर शिक्षकले कक्षाकोठामा एउटा उत्कृष्ट लोकतान्त्रिक अभ्यास गराइरहेका हुन्छन् ।

कुनै पनि देश वा समाजको आर्थिक समृद्धिको आधार त्यहाँको जनशक्ति हो । समाजलाई चाहिने डाक्टर, इञ्जिनियर, पाइलट, वैज्ञानिक, राजनीतिज्ञ र प्रशासक उत्पादन गर्ने कारखानाका कालिगढ हुन् शिक्षक । शिक्षकले आज रोपेको ज्ञानको बीउ भोलि समाज विकासको ठूलो वृक्ष बन्छ । दक्ष, सीपयुक्त र व्यावसायिक जनशक्ति उत्पादन गरेर शिक्षकले समाज र राष्ट्रको आर्थिक मेरुदण्ड बलियो बनाउने नेतृत्व गरिरहेका हुन्छन् । शिक्षकले दैनिक रूपमा गर्ने व्यवहार र मार्गदर्शनले विद्यार्थीको सोच र दृष्टिकोण तय गर्छ ।

विद्यालय समाजको सानो हिस्सा पनि हो । यसरी हेर्दा, विद्यालयभित्र शिक्षकले भविष्यको एउटा आदर्श समाजको निर्माण गरिरहेका हुन्छन् जहाँ हरेक विद्यार्थीले आफ्नो हक, अधिकार, कर्तव्य र अनुशासनको पाठ सिक्छन् । विद्यालयभित्र शिक्षकको अगुवाइमा विद्यार्थीले सभ्य, शालिन र सौम्य नागरिकका गुणहरु अभ्यास गरिरहेका हुन्छन् ।

समाजको मार्गदर्शकको रूपमा शिक्षक

कक्षाकोठामा तयार पारिएका असल नागरिक अन्ततः समाजकै अङ्ग बन्न पुग्छन् । त्यसैले शिक्षकको लगानी र मिहिनेतको प्रत्यक्ष प्रतिफल समाजमा देखिन्छ । समाजमा चेतना फैलाउने, नागरिक अधिकारका पक्षमा आवाज उठाउने र राजनीतिक परिवर्तनको बिगुल फुक्ने काममा शिक्षक नै अग्रपंक्तिमा हुन्छन् ।

ग्रामीण क्षेत्रमा त शिक्षकको भूमिका झनै विशाल हुन्छ । गाउँमा शिक्षक केवल पढाउने मान्छे मात्र होइनन्, उनि समाजका सबैभन्दा शिक्षित, भरपर्दा र बौद्धिक व्यक्तित्व हुन् । गाउँमा छिमेकी बिचको जग्गाजमिनको विवाद सुल्झाउन, कानुनी कागजपत्र तयार पार्न वा गाउँको विकास योजना बनाउन शिक्षककै खोजी हुन्छ । 

समाजले शिक्षकलाई एउटा निष्पक्ष, निस्वार्थी र ज्ञानी न्यायमूर्तिको रूपमा हेर्छ । यो विश्वास र श्रद्धा नै शिक्षकलाई समाजको स्वतःस्फूर्त नेता बनाउने मुख्य आधार हो । गाउँघरमा कुनै पनि सामाजिक विवाद, असमझदारी वा समस्या पर्दा मानिसहरू सल्लाह लिन शिक्षककहाँ पुग्छन् । शिक्षकको निष्पक्षता, ज्ञान र अनुभवका कारण समाजले उनीहरूको निर्णय र सुझावलाई आदर गर्छ । कानुन र नैतिकताको सन्तुलन मिलाएर समाजमा शान्ति स्थापना गर्न शिक्षकले सामाजिक नेताको भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

हरेक समाजको आफ्नै पहिचान, संस्कृति, नैतिक मूल्य र परम्परा हुन्छन् । ती सकारात्मक मूल्य मान्यताहरूलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने पुलको काम शिक्षकले गर्छन् ।

शिक्षकले देखाउने इमानदारिता, समयपालना र नैतिक आचरणले पूरै समाजलाई जिम्मेवार बन्न प्रेरित गर्छ । त्यसैले, शिक्षकको व्यक्तित्वले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उनीहरू प्राकृतिक रूपमै समाजका नेता हुन् ।

समाजमा व्याप्त कुप्रथा, अन्धविश्वास, बालविवाह, छुवाछूत, बोक्सी प्रथा, दाइजो प्रथा जस्ता सामाजिक कलङ्कहरूका विरुद्ध लड्ने पहिलो हतियार शिक्षा नै हो । शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई यस्ता कुरीतिहरू विरुद्ध सचेत गराउँछन् । ती विद्यार्थीले आफ्ना आमाबाबु र छिमेकीलाई सम्झाउँछन् । शिक्षक आफैँ पनि समाजिक भेला, बैठक र चौतारीहरूमा अन्धविश्वासका विरुद्ध समाजलाई प्रशिक्षित गर्छन् । 
स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण र मानव अधिकारका सवालमा शिक्षकले समाजलाई सधैँ सही र वैज्ञानिक बाटो देखाउँछन् । समाजमा भइरहेको नैतिक पतन, भ्रष्टाचार र अनुशासनहीनतालाई रोक्न शिक्षकले नैतिक शिक्षा र चरित्र निर्माणमा जोड दिन्छन् । इमानदारिता, देशभक्ति, श्रमको सम्मान र सामूहिक हितका भावनाहरू शिक्षकले समाजमा प्रत्यारोपण गर्छन् ।

समाजमा कुनै विपत्ति, प्राकृतिक प्रकोप वा महामारी आएको बेला शिक्षक अग्रभागमा उभिएर सेवामा खटिन्छन्। विनाशकारी भूकम्प, बाढीपहिरो वा कोभिड जस्ता महामारीका समयमा शिक्षकको नेतृत्वमा विद्यालय राहत शिविर र आईसोलेसन सेण्टर बने । शिक्षकले समुदायमा चेतना फैलाउने, राहत वितरण गर्ने र मानसिक रूपमा त्रसित समाजलाई परामर्श सेवा प्रदान गरेर सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेले । समाजलाई संकटको घडीमा ढाडस दिने र नेतृत्व गर्ने क्षमता शिक्षकमा हुन्छ ।

शिक्षकको सबैभन्दा ठूलो सम्पत्ति उसको चरित्र र विश्वसनीयता हो । समाजमा शिक्षकको व्यवहार, बोली र जीवनशैलीलाई मानिसहरूले नजिकबाट नियालिरहेका हुन्छन् । विद्यार्थीले मात्र होइन, अभिभावक र सर्वसाधारणले पनि शिक्षकलाई आफ्नो आदर्श मान्छन् । शिक्षकले देखाउने इमानदारिता, समयपालना र नैतिक आचरणले पूरै समाजलाई जिम्मेवार बन्न प्रेरित गर्छ । त्यसैले, शिक्षकको व्यक्तित्वले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उनीहरू प्राकृतिक रूपमै समाजका नेता हुन् ।

स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका विकास योजना निर्माण गर्दा शिक्षकको बौद्धिक र प्राविधिक सहयोग लिइन्छ । गाउँघरमा टोल विकास समिति, सहकारी, वन उपभोक्ता समूह वा रेडक्रस जस्ता सामाजिक संस्थाको नेतृत्व प्रायः शिक्षक वा पूर्व शिक्षकले नै सम्हालेका हुन्छन् । समाजको आवश्यकता के हो र त्यसलाई कसरी व्यवस्थित रूपमा समाधान गर्न सकिन्छ भन्ने कुराको स्पष्ट दृष्टिकोण शिक्षकसँग हुन्छ ।इतिहास साक्षी छ, संसारमा भएका ठूला ठूला सामाजिक र राजनीतिक परिवर्तनहरूमा शिक्षक र बुद्धिजीवीहरूको ठूलो योगदान रहेको छ । नेपालकै सन्दर्भमा पनि लोकतन्त्र र गणतन्त्र स्थापना तथा समानता र सामाजिक न्यायका आन्दोलनहरूमा शिक्षकले अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका छन् । समाजलाई आधुनिकता र प्रगतितर्फ लैजान शिक्षकले वैचारिक नेतृत्व प्रदान गर्छन् ।

अन्त्यमा,

शिक्षकको दायित्व पाठ्यपुस्तकका पानाहरू पढाएर विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउनुमा मात्र सकिँदैन । कक्षाकोठाभित्र शिक्षकले जुन ज्ञान र संस्कारको बीजारोपण गर्छन्, त्यसैले भोलिको समाजको रूपरेखा तय गर्छ । समाजलाई सभ्य, सुशिक्षित र प्रगतिशील बनाउन शिक्षकले विद्यालयभित्र र समाजमा समान भूमिका खेल्दछन् । त्यसैले शिक्षक केवल कक्षाकोठाको भौतिक सीमा भित्रका नेता मात्र होइनन्, उनि त सिङ्गो मानव समाजका मार्गदर्शक, समाज परिवर्तन र रूपान्तरणका वास्तविक नेता हुन् ।  

शिक्षकको कार्यक्षेत्र विद्यालय भए पनि यसको प्रभावको परिधि अनन्त आकाश जस्तै फराकिलो छ । त्यसैले मानव समाजलाई अन्धकारबाट प्रकाशतर्फ, अज्ञानताबाट ज्ञानतर्फ र पिछडापनबाट आधुनिकता तर्फ लैजाने वौद्धिक, प्राज्ञिक तथा निष्पक्ष र दूरदर्शी सामाजिक अगुवा हुन् शिक्षक । 

दार्शनिकहरुको भनाइ र शिक्षकले समाजमा खेलेको भूमिका देख्दा लाग्छ उनी समाजको मौन तर सबैभन्दा शक्तिशाली नेता हुन् । समृद्ध र सभ्य समाजको लागि राज्य र समाजले शिक्षकलाई उचित आदर, सम्मान र प्रोत्साहन गर्नुपर्छ भने शिक्षक स्वयंले पनि आफ्नो वृहत् सामाजिक उत्तरदायित्व बुझ्नुपर्छ । 
 

प्रतिक्रिया