हामी सधैँ एउटा अविराम चक्र र रूपान्तरणकारी प्रक्रियामा छौँ। प्रत्येक क्षण अस्तित्वका अनेकौँ आयामहरू बदलिरहेका छन् । लाग्छ - परिवर्तन मात्र एकमात्र स्थायी सत्य हो, बाँकी सबै भ्रम।
विज्ञान र प्रविधिको विकास यति तीव्र गतिमा भइरहेको छ कि अबको एक वा पाँच वर्षपछि मानव सभ्यता कहाँ पुग्छ भनेर सोच्न सम्म गाह्रो भइसकेको छ। यसले ज्ञानको आदान प्रदान, अनुभवको हस्तान्तरण र सिकाइको परम्परागत वातावरणलाई एकाएक बदलिसकेको छ। भोलिको अनिश्चितताका अगाडि आजका पाठ्यक्रमहरू असान्दर्भिक र निष्क्रिय जस्ता बनेका छन्, शिक्षकहरू अलमलमा छन्, अनि स्वयम् प्रविधिका विज्ञहरू पनि दिग्भ्रमित देखिन्छन् ।
संसार यतिबेला एउटा अभूतपूर्व क्षितिजमा उभिएको छ - जहाँ एकातिर मानव निर्मित यन्त्रको असीम गति छ, भने अर्कोतिर मानिसको सनातन विवेक र ढिलो चल्ने सामाजिक संरचना। एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोडेई को आलेख 'Policy on the AI Exponential' केवल प्राविधिक जोखिम वा भोलिको त्रासको दस्ताबेज मात्र होइन; यो त तीव्र गतिमा दगुरिरहेको प्रविधि र सुस्त गतिमा हिँडिरहेको मानवीय संयन्त्रबीचको गहिरो विरोधाभास उघार्ने एउटा दार्शनिक ऐना हो ।
'लर्ड अफ द रिङ्स' को सुस्त 'ट्रीबियर्ड' जस्तै नीति-निर्माणका गोरेटाहरूमा कृत्रिम बौद्धिकता (AI) को घातीय (exponential) गतिले ठूलो खाडल सिर्जना गरिदिएको छ। जब एउटै डेटा सेण्टरमा हजारौँ प्रतिभावान मस्तिष्कहरूको सामूहिक क्षमता (a country of geniuses in a data center) समाहित हुन्छ, तब गति नै आफैँमा एउटा ठूलो सङ्कट बन्न पुग्छ। समस्या यन्त्रको निरन्तर बढ्दो सामर्थ्यमा मात्र होइन; समस्या त त्यो सामर्थ्यलाई ग्रहण गर्ने, उपयोग गर्ने र सम्हाल्ने मानव समाजको आन्तरिक परिपक्वतामा हो। AI केही महिनामै नयाँ उचाइमा पुग्न सक्छ, तर त्यसलाई मार्गनिर्देश गर्ने कानुनी र नैतिक ढाँचा बन्न वर्षौँ लाग्छ। यही कालखण्ड नै वास्तविक जोखिमको गर्भ हो।
एआई अवसर की चुनौती ? भन्ने सवालमा विश्वभरका विद्वानहरूको तथा अनुसन्धानकर्ताहरूको आ-आफ्नै विचारहरु छन् जो यहाँ प्रस्तुत गरिएको छ।
सुन्दर पिचाई (अल्फाबेट र गुगलका सिइओ )ले भनेका छन्: 'एआई मानव जातिले काम गरिरहेका प्रविधिहरूमध्ये सम्भवतः सबैभन्दा महत्त्वपूर्ण हो। आगो वा बिजुलीको खोजभन्दा पनि यो बढी गहिरो र दूरगामी छ।'
त्यस्तै सम्बन्धमा सैम अल्टम्यान (ओपेन एआईका सिइयो) ले भनेका छन्: 'एआई मानिसलाई विस्थापित गर्ने माध्यम होइन, बरु मानिसको क्षमता बढाउने र नयाँ वैज्ञानिक खोजहरूलाई तीव्र बनाउने इतिहासकै सबैभन्दा शक्तिशाली औजार हो।'
गणित, विज्ञान, भाषा, अर्थशास्त्र र ईञ्जिनियरिङका जटिल समस्याहरू भटाभट एआईले नै समाधान गरिदिँदा मानिसको शारीरिक र मानसिक श्रम त घट्यो, तर यसका दूरगामी दुष्परिणामहरूको विश्लेषण, व्याख्या वा कल्पना नै नगरी हामी यसको अन्धधुन्द प्रयोग गरिरहेका छौँ।
यही मानवीय संवेदना को पर्याय हैन यो अझ सशक्त पार्ने औजार हो। त्यस्तै यन लेकुन (मेटा का प्रमुख एआई बैज्ञानिक ) ले भनेका छन्: 'हाम्रो बौद्धिक क्षमता नै मानिसलाई मानव बनाउने आधार हो, र एआईले मानिसको यही बौद्धिक दायरालाई थप विस्तार गर्ने काम गर्छ।'
यसबाट स्पष्ट हुन्छ कि एआई आफै सुपरम्यान हुँदैन। यसले मान्छेलाई नै सुपरम्यान बनाउँछ। यसै सवालमा गिनी रोमेटी (आइबिएम कि पूर्व सिइओ) ले भनेकी छन्: 'यो कृत्रिम बौद्धिकता मात्र होइन, यसको वास्तविक अर्थ मानिसको क्षमता अभिवृद्धि गर्ने संवर्धित बुद्धिमत्ता हो।' एउटा अवसर हुने देखिन्छ।
तर एआई को जोखिम, चुनौती र चेतावनी पनि थुप्रै छ्न्। यसै सन्दर्भमा भरखरै डारियो अमोडेई (एन्थोपिकका सिइओ) ले भनेका छन्: 'एआईको गति यति घातीय (Exponential) छ कि यसलाई सम्हाल्ने र मार्गनिर्देश गर्ने मानवीय, कानुनी र सामाजिक परिपक्वताभन्दा यन्त्रको सामर्थ्य धेरै अगाडि बढ्ने ठूलो जोखिम छ।'
यो विषय थप पेचिलो बन्दै गएको छ। इलन मस्क (टेस्लाका सिइओ) ले समेत भनेका छन् कि: एआई सभ्यताकै अस्तित्वका लागि मानिसले सामना गरिरहेको सबैभन्दा ठूलो मौलिक जोखिम हो; यसको खतरा आणविक हतियार भन्दा पनि बढी हुन सक्छ।'
यसैबाट प्रष्ट हुन्छ कि जोखिम कत्रो छ भन्ने। त्यस्तै स्टीफन हकिङ (भौतिकशास्त्री) ले पहिल्यै भनेका थिए: 'पूर्ण एआईको विकासले मानव जातिकै अन्त्य गराउन सक्छ, किनभने जैविक रूपमा सुस्त मानिसले सोच्न र स्वतः सुधार गर्न सक्ने मेसिनसँग प्रतिस्पर्धा गर्न सक्दैन।' नियन्त्रण भन्दा बाहिर जान्छ भनेर।
जेफ्री हिन्टन (एआईको गडफादर मानिने वैज्ञानिक) ले स्पष्टसँग भनेका छन्: 'यी प्रणालीहरू मानिसभन्दा बढी बुद्धिमान् बन्दैछन्। यदि यिनीहरूले आफ्ना लक्ष्य आफैँ तय गरेर मानिसलाई हेरफेर (Manipulate) गर्न थाले भने तिनलाई नियन्त्रण गर्न असम्भव प्रायः हुनेछ। यसकारण पनि जोखिम खतरनाक छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि एआई कति बुद्धिमान् हुन्छ भन्ने होइन, यन्त्रको यो असीम गतिमा मानिस स्वयम् कति विवेकशील र सजग रहन्छ भन्ने कुरा मुख्य हो। एआईले जतिसुकै छिटो र सटिक नतिजा दिए पनि मानवीय करुणा, मूल्यमान्यता, नैतिक दायित्व र आत्म-सजगता मेसिनसँग हुँदैन। डारियो अमोडेई, इलन मस्क र जेफ्री हिन्टन जस्ता प्रविधि विज्ञहरूले औँल्याएझैँ, एआईको तीव्र गति (Exponential growth) र त्यसलाई सम्हाल्ने कानुनी/सामाजिक सुस्तता बीचको अन्तर नै आजको मुख्य जोखिम हो
नेपालजस्ता देशहरूका लागि एआईको अन्धधुन्द प्रयोग र मोहले बालबालिकामा मानसिक निर्भरता बढाउने र हामीलाई केवल अरूका प्रविधिका 'उपभोक्ता' मा सीमित गराउने जोखिम उच्च छ।
बाहिर यन्त्रको गति जति तीव्र हुन्छ, भित्र मानिसको आन्तरिक मौनता, समीक्षात्मक सोच र विवेक त्यति नै गहिरो हुनुपर्छ। एआईलाई मानिसको विकल्प बनाउन छाडेर आफ्नो क्षमता अभिवृद्धि गर्ने सहयोगी सारथीका रूपमा मात्र प्रयोग गर्न सकियो भने मात्र प्रविधिको यो युगमा मानवीय अस्तित्व र स्वतन्त्रता अक्षुण्ण रहन सक्छ।
सिकाइ सहजीकरणमा यसरी एआई हावी हुँदा बालकको सृजनशीलता तथा भावनात्मक बौद्धिकता मर्दैछ। विद्यार्थीलाई सोधिएका एउटा प्रश्नको तीन प्रकारको उत्तर दिन अनुरोध गर्ने बेला भएको छ। एआईबाट लेखिएको उत्तर, पुस्तकमा उल्लेखित उत्तर र आफ्नो मौलिक उत्तर ।
विकसित देशहरूले बालबालिकालाई गेमिङ, सुपर-इन्टेलिजेन्स र GAI का लतबाट जोगाउन, उनीहरूको मौलिकता, स्वतन्त्रता, सिर्जनशीलता र विवेकशीलता कायम राख्न तथा उनीहरूलाई 'साँचो मानव' बनाइराख्न थुप्रै नियन्त्रण र नियमहरू सुरु गरिसकेका छन्। चीन, फिनल्यान्ड र नर्वे जस्ता देशहरूले विद्यालय शिक्षामा स्क्रिन र प्रविधिको प्रयोगलाई सीमित गर्ने कानुनहरू तर्जुमा गरिरहेका छन्।
तर, हाम्रा जस्ता देशहरूमा भने शिक्षा, सिकाइ र कक्षा कोठामा एआईको बाढी नै आएको छ। प्रविधि प्रतिको अन्ध-मोह तीव्र छ। 'मानिस केही होइन, एआई र सुपर-ईण्टेलिजेन्सनै सबथोक हो' भन्ने एउटा खतरनाक भाष्य निर्माण हुँदैछ।
के एआईले मानिसको सिर्जनशीलता, विवेकशीलता र भावनात्मक गहिराइलाई सशक्त बनाउन मद्दत गर्छ ? यो अहिलेको मुख्य बहस हो । मानवीय स्वभाव, प्राकृतिक सहजता र जीवनको सहज बहावलाई एआईले धक्का दियो भने, के मानिस साँच्चिकै मानिस रहिरहला ? मानवता के होला। अहिले नै यन्त्रवत जस्तै देखिन्छ।
गणित, विज्ञान, भाषा, अर्थशास्त्र र ईञ्जिनियरिङका जटिल समस्याहरू भटाभट एआईले नै समाधान गरिदिँदा मानिसको शारीरिक र मानसिक श्रम त घट्यो, तर यसका दूरगामी दुष्परिणामहरूको विश्लेषण, व्याख्या वा कल्पना नै नगरी हामी यसको अन्धधुन्द प्रयोग गरिरहेका छौँ। ज्ञान, सूचना र सिप मात्र होइन, नवीन सिर्जना समेत एआईले गरिदिन थालेपछि मानव मस्तिष्कका न्युरोनहरू निष्क्रिय हुने खतरा बढेको छ। शताब्दीयौँ देखि निर्मित सामाजिक-आर्थिक संरचनाहरू भत्किँदै जाँदा त्यसको मार पिँधमा रहेका भुइँ मान्छेहरू र साना देशहरू माथि पर्ने निश्चित छ। 'डेटा' र 'एआई' को यो युगमा कम विकसित मुलुकहरू केवल ज्ञान, प्रविधि र मनोरञ्जनका उपभोक्ता मात्र बन्ने जोखिम छ ।
बालबालिकालाई झन् नैतिकवान इमान्दार अनुशासित असल कर्तव्यनिष्ठ र सृजनशील बनाउँदै लैजानुपर्नेमा एआई एडिक्सनले बालकको वृद्धि, विकास र आन्तरिक क्षमतामा निर्माणमा अवरोध पैदा गरेको हुनाले अहिलेसम्म धेरै गर्ने हुनाले व्यापक चिन्ता हुनु स्वभाविक हो ।
कक्षा कोठाको शिक्षण सिकाइमा समेत विद्यार्थीले शिक्षकहरूले प्रश्नको उत्तर दिन समेत लेख्ने गरेको पाइन्छ गृहकार्य होस् या कुनै अतिरिक्त कार्य अथवा प्रोजेक्ट वर्क नै किन नहोस् पनि परिपाटी बढ्दो छ। चित्रकला, संगीत, कथा कविता, निबन्ध, नाटक लेखन सम्पादन जस्ता साहित्यिक कार्यमा पनि व्यापक प्रयोग भएको पाइन्छ।
कक्षा कोठामा या कक्षा कोठा बाहिर होस् सिकाइ सहजीकरणमा यसरी एआई हावी हुँदा बालकको सृजनशीलता तथा भावनात्मक बौद्धिकता मर्दैछ। विद्यार्थीलाई सोधिएका एउटा प्रश्नको तीन प्रकारको उत्तर दिन अनुरोध गर्ने बेला भएको छ। एआईबाट लेखिएको उत्तर, पुस्तकमा उल्लेखित उत्तर र आफ्नो मौलिक उत्तर । युद्धहरू बीचको तुलना समानता असमानता र निष्कर्ष जस्ता कुराहरुमा प्रस्तुत हुन अनुरोध गर्नुपर्ने अवसर समेत आइसकेको छ।
विद्यार्थीले पनि यहीबाट प्रश्नको उत्तर लिएर आउने अभिभावकले हेरेर उत्तर लेख्ने शिक्षकले पनि एआईको सहायता लिनु भन्ने र एआईलाई पनि खुला र सहज पहुँच गरिदिएको कारण यस्तो हुन सक्छ ।
पढ्ने -पढाउने, लेख्ने -लेखाउने, सुन्ने-सुनाउने, बोल्ने- बोलाउने, सिक्ने- सिकाउने, गर्ने- गराउने जस्ता सिकाइका आधारभूत विषयहरूको संरचना, शैली, प्रक्रिया भत्किएर नयाँ सुरु नभएको अवस्था छ र एक किसिमको अन्योल छ, यस्तो यो भन्दा अगाडि कहिल्यै भएको थिएन। शिक्षा प्रणाली, सिकाइ विधि र पद्धति, निति, उद्देश्य र लक्ष्य हरूमा व्यापक परिवर्तनहरू देखिएका छन् अर्थात् अन्योल छाएको छ।
आज आएर शिक्षाको राष्ट्रिय उद्देश्य र नीतिले मात्र पुग्ने देखिँदैन । त्यसैले अन्तर्राष्ट्रिय शिक्षा नीति र पद्धति, दर्शन निर्माण गर्ने र संसारभरि नियमन ,एकरूपता र मार्ग निर्देशन आवश्यक भएको महसुस हुन थालेको छ।
साच्चि नै स्वतन्त्र, खुल्ला र रोकिएर अब त व्यक्ति समाज र राज्यले केही सिकौं र उपयुक्त निति र नियन्त्रण निर्माण गर्ने बेला भएन र ?
अबको शिक्षा भनेको बालकले कक्षा १ देखि ३ सम्म आइपुग्दा कुन कुन खेल खेल्ने, बोल्ने, सुन्ने, अभिवादन गर्ने, सम्मान गर्ने सिप सिक्यो ? के के को अवधारणा विकास गर्ने तय हुनुपर्यो ।
४ कक्षा देखि देखि ५ मा पुग्दा नयाँ विचार निर्माण, नयाँ सामग्री प्रयोग, अवधारणा विकास अथवा नयाँ वस्तु प्रयोग प्रोजेक्ट निर्माण के के निर्माण गर्न सक्यो ? त्यसको मूल्याङ्कन गरेर उत्कृष्टता हासिल गरेपछि मात्र कक्षा चढाइनु पर्यो । ६ - ८ कक्षामा मा पुग्दा उसले कति वटा सिप सिक्यो ? सामाजिक, जीवनोयोगी, गणितीय, भाषिक, व्यवहारिक, प्राविधिक, एआईका कुन कुन सिपहरू सिक्यो ? ९-१० कक्षामा कुन कुन सिपहरू सिक्यो ? नयाँ के के निर्माण गर्यो ? एआई सम्बन्धि टुल्सहरू के के विकास गर्यो ? त्यसको आधारमा तोकिएका सिपहरू अनिवार्य रूपमा हासिल गरेपछि मात्र माथिल्लो कक्षा चढ्ने निति अवलम्बन गर्नुपर्छ। अथवा कुन कुन प्रिन्सिपलहरु सिक्नुपर्छ भनेर विकास गर्दै परीक्षण गर्न सक्ने खालको पाठ्यक्रम र पाठयपुस्तक निर्माण गर्नु र कार्यान्वयन गर्नुको अब कुनै विकल्प रहेन । पेपर पेन्सिल र ग्रेड्सिट्को अब विकल्प दिनुपर्छ।
उच्च शिक्षा र विश्वविद्यालयमा यसले नयाँ नयाँ वस्तुहरू,स्थापित सिद्धान्तको व्यवहारिक प्रयोग अथवा नयाँ विचारहरू, सिद्धान्त अथवा के के आविष्कार गर्यो या निर्माण गर्यो भन्ने कुराको आधारमा मूल्याङ्कन गर्नु अत्यन्तै बान्छनीय छ। शब्दको जादु खेलाएर, प्रश्नको उत्तर दिएर ,व्यवहारिक र समयसुहाउदो ज्ञान भन्दा सैद्धान्तिक ज्ञान हासिल गरेर न नबचाउन सकिन्छ न बाच्न नै सकिन्छ।
प्रविधिको यो असीम रफ्तारमा यदि हामीले आफ्नो आन्तरिक चेतना र विवेक गुमाएनौँ भने, एआई विनाशको कारण होइन, मानव सम्भावनाको नयाँ ढोका उघार्ने एक समर्थ सारथी बन्न सक्छ।
चीनले अब पीएचडी गर्दा कुनै न कुनै वस्तुको आविष्कार, नयाँ खालको उत्पादन अथवा बिल्कुलै नयाँ सिद्धान्त, अनिवार्य रुपले विकास गर्नुपर्ने विषयलाई कार्यान्वयन गरेको छ। न की हाम्रो जस्तो literature review गर्दै तथ्यहरू संकलन गर्ने, व्याख्या गर्ने विश्लेषण गर्ने निष्कर्ष निकाल्ने र पेश गर्ने माफ गर्नुहोला चोर्ने अनि डाक्टर लेख्ने कार्य तर्फ उसको कुनै रुची छैन । तर हामी निरन्तर यसैमा छौ।
शिक्षा, व्यापार, स्वास्थ्य वा बैंकिङ - जुनसुकै क्षेत्रमा होस्, एआई निर्माता कम्पनी र शक्तिशाली राष्ट्रहरूले बेलैमा नियमन नगरे हामी जस्ता मुलुकका बालबालिकाहरू ' AI addiction' को गम्भीर शिकार हुने छन् । फलस्वरूप, हाम्रा विद्यालय र विश्वविद्यालय शिक्षा कचपल्टिने छन् भने समाज अपूर्णता, अनिश्चितता र अर्थहीनताको खाडलमा भासिनेछ।
'भर्चुअल क्लास', 'भर्चुअल नलेज' ओपन एआई, जिए आई र 'हाइपर-रियलिटी' का अवधारणा कुनै अकस्मात् आएका होइनन्; यी त प्रविधि र बजारको होडबाजीका उपज हुन्। तीव्र गतिमा विकसित यो प्रविधिले विश्वलाई कुन दिशामा पुर्याउँछ, कसैलाई थाहा छैन।
त्यसैले, असली प्रश्न 'कति बुद्धिमान् हुन्छ?' भन्ने होइन; 'यन्त्र बुद्धिमान् हुँदै जाँदा मानिस अझ बढी विवेकशील, संवेदनशील र स्वयं-सजग बन्न सक्छ कि सक्दैन?' भन्ने हो।
हामीले बुझ्नुपर्ने शाश्वत सत्य के हो भने - बाहिर यन्त्रको गति जति तीव्र हुन्छ, भित्र मानिसको विवेक, मौनता र आत्म-सजगता त्यति नै गहिरो हुनुपर्छ। प्रविधिको यो असीम रफ्तारमा यदि हामीले आफ्नो आन्तरिक चेतना र विवेक गुमाएनौँ भने, एआई विनाशको कारण होइन, मानव सम्भावनाको नयाँ ढोका उघार्ने एक समर्थ सारथी बन्न सक्छ।
अब त केही सिकौं र निर्माण गरौँ, एआईलाई चाँडो भन्दा चाँडो नियमन गर्नु अनिवार्य भएको छ। अब एआईलाई मात्र छिटो बनाउने होइन, त्यसलाई प्रयोग गर्ने मानिसलाई पनि विवेकशील बनाउने समय हो। एआईलाई नियमन गरौँ, शिक्षालाई पुनर्संरचना गरौँ र मानिस भित्रको विवेकलाई जोगाऔँ ।
पाण्डे, सुनपुकुवा मावि उर्लावारी -२, मोरङका शिक्षक हुन् ।
प्रतिक्रिया