Edukhabar
शुक्रबार, २२ साउन २०८३
विचार / विमर्श

सञ्चारशील कक्षाकोठा : सम्वादबाट शुरु हुने विद्यार्थी मैत्री शिक्षकको व्यवहार

शिक्षणलाई मौनताबाट सम्वादमा, अनुसरणबाट सोचमा र धोकन्ते अभ्यासबाट जीवनशैलीमा रूपान्तरण गर्न सक्ने योगदानको चर्चा

शुक्रबार, २२ साउन २०८३

असल शिक्षक बन्न पाठ्यवस्तुमा विज्ञता र विद्यार्थीसँग गर्ने व्यवहार मध्ये कुन चाँहि बढि महत्वपूर्ण हुन्छ होला ? 

शिक्षकमा यी दुवै विशेषता भए त अति राम्रो भइहाल्यो । तर यी दुई मध्ये एउटा रोज्नुपर्यो भने शायद विद्यार्थीसँग गर्ने व्यवहारलाई पहिलो प्राथमिकतामा राख्नु पर्ला । किनकी व्यवहार निर्माण हुनका लागि निरन्तरको साधना र अभ्यास चाहिन्छ । शिक्षकको यहि व्यवहारले आफ्ना विद्यार्थीका बारेमा पढ्न सक्ने बनाउने मात्र नभइ आवश्यकता अनुसार उत्प्रेरित गर्न पनि सहयोग गर्छ । तर यहि व्यवहार कमजोर भएमा शिक्षकले जानेको विषयवस्तुले मात्र पनि खासै प्रभाव नपार्न सक्छ ।

शिक्षकको व्यवहार विद्यार्थी मैत्री बनाउनका लागि धेरै उपायहरूमा ध्यान दिनु पर्ने हुन्छ । यी मध्ये शिक्षकको सम्वाद शैली र अरूलाई सुन्ने सीप एक महत्वपूर्ण उपाय हो । शिक्षकमा यस्तो सीप भएमा मात्र उनीहरूले विद्यार्थीलाई भरपुर सुन्न सक्छन्, बुझ्न सक्छन्, पढ्न सक्छन् । शिक्षकको यहि शैलीले उनीहरूमा विद्यार्थीलाइ पढाउनुबाट सिकाउनु तर्फको सोचमा लैजान सक्छ ।

निरन्तर साधनका लागि शिक्षकको मात्र नभइ सम्वद्ध पक्ष सबैको अन्तरमन अर्थात भित्रै देखि शिक्षण पेशातर्फ सम्मान चाहिन्छ । आदरभाव चाहिन्छ । बाध्यताले गर्ने पेशा हो वा बाध्यताले यसमा रहेको छु भन्ने भाव रहँदासम्म सिकाउने भाव आउन कठिन छ । 

शिक्षा प्रणालीमा रहेको यहि पढाउने सोचबाट सिकाउने अवधारणामा डोहोर्याउने यात्रा आरम्भ मात्र गर्न सके पनि विद्यार्थी सिकाइमा ठूलो रूपान्तरण भएको मान्नुपर्छ । किनकी पढाउने काममा विषयवस्तु दिए पुग्छ, खासै जिम्मेवारी लिइ राख्नु पर्दैन, पढाएको बुझेनन् भन्दा पुग्छ । तर सिकाउने भन्नासाथ जिम्मेवारी बोध गर्नुपर्छ, जवाफदेहिता वहन गर्नुपर्छ । यसैगरी पढाउने कामका लागि आफूले जानेको विधि वा प्रक्रिया पूरा गरे पुग्छ तर सिकाउनका लागि त विद्यार्थीलाइ पढ्नु पर्छ, उनीहरूको पृष्ठभूमि एवम् क्षमता बुझ्नुपर्छ । यहि व्यक्तिगत क्षमता अनुसार शिक्षकले फरक फरक व्यवहार अपनाउनु पर्छ, जसका लागि थप अध्ययन र खोजि चाहिन्छ । 

विद्यार्थीलाइ सिकाउने कार्य गर्नै नसकिने त होइन तर यो कार्य पढाउनु भन्दा धेरै कठिन हुन्छ नै । त्यहि भएर शिक्षण पेशा सजिलो छैन भनिएको हो । प्रभावकारी सिकाइका लागि शिक्षक निरन्तर साधनामा लागिरहनुपर्छ । यस्तो निरन्तर साधनका लागि शिक्षकको मात्र नभइ सम्वद्ध पक्ष सबैको अन्तरमन अर्थात भित्रै देखि शिक्षण पेशातर्फ सम्मान चाहिन्छ । आदरभाव चाहिन्छ । बाध्यताले गर्ने पेशा हो वा बाध्यताले यसमा रहेको छु भन्ने भाव रहँदासम्म सिकाउने भाव आउन कठिन छ । 

पढाउनेबाट सिकाउने तर्फको यात्रा गर्न कि जीवन जगत बुझेर व्यवहार गर्नु पर्यो कि अरूका विचार वा अभ्यास पढेर मनन् गर्नुपर्यो । यहि क्रममा जोर्डन बी. पिटरसनको Twelve Rules for Life पुस्तकमा उल्लेख गरिएको 'Be precise in your speech' भन्ने एक नियम उपयोगी हुनसक्छ । जीवनलाइ सार्थक बनाउन व्यक्तिको बोलाइमा स्पष्टता र संयम आवश्यक हुन्छ । उनका अनुसार व्यक्तिले धेरै सुन्ने अभ्यास गर्नुपर्छ । तर हाम्रो सामाजिक प्रणालीमा पद श्रृङ्खलाको माथिल्लो पद सोपानमा रहेको व्यक्तिमा धेरै बोल्ने प्रवृत्ति हावी छ । जतिबेला अरूलाई आफूभन्दा तलको श्रृङ्खलामा रहेको ठानिन्छ, त्यतिबेला यो बोल्ने क्रम अझ बढी हुने सम्भावना हुन्छ । 

शिक्षा प्रणालीमा शिक्षकले धेरै सुन्नेमात्र नभइ शिक्षक विद्यार्थीको बीचमा हुने संवाद पनि बराबरीको हैसियतमा हुनुपर्छ भन्ने दृष्टिकोण महत्वपूर्ण छ । समान हैसियतमा रहेर गरिएको सम्वादले मात्र अर्थपूर्ण सिकाइ सम्भव हुन्छ भनिन्छ । किनकी यस्तो सम्वादले परस्पर सम्मान, साझा अर्थ निर्माण र आलोचनात्मक सोचलाई प्रोत्साहन गर्दछ । 

कक्षा कोठामा माथि भनिएजस्तै खालको समान हैसियतमा सम्वाद हुनु आवश्यक छ भन्ने विचार गत असारमा प्रकाशित रघु मैनालीको सञ्चारशील कक्षाकोठा  नामक पुस्तकमा विस्तृत रूपमा समेटिएको छ ।

sancharsil
रघु मैनालीको सञ्चारशील कक्षाकोठा

पुस्तक लेखककै भाषामा गौतम बुद्धको बौद्धिक स्वतन्त्रता तथा प्रश्न–चिन्तनबाट उधारिएको चेतनाको आलो, योर्गेन हेबरमासको सम्भाषणशील कार्यको सिद्धान्त, क्लाउड शालरको सञ्चार शिक्षण विज्ञान, पाउलो फ्रेइरेको कार्य–चिन्तन (Praxis), जोन ड्यूईको लोकतान्त्रिक संवाद दृष्टिकोण, तथा लेभ भिगोत्स्कीको सामाजिक सिकाइ अवधारणाबाट प्रभावित रहेको छ । यीनै विविध दृष्टिकोणको संगमले पुस्तकलाई बहुआयामिक बनाएको छ । कक्षाकोठाको सम्वाद नै सिकाउनका लागि मूल आधार बन्छ ।

ब्राजिलका प्रसिद्ध शिक्षाविद् तथा दार्शनिक पाउलो फ्रेइरे (१९२१–१९९७) ले संवादको महत्वलाई सन् ६० को दशकतिर गहिरो रूपमा विश्लेषण गरे । उनका अनुसार सम्वाद भनेको केवल दुई व्यक्तिबीचको सामान्य कुराकानी मात्र होइन, यो त समानता, माया, नम्रता र विश्वासमा आधारित सिकाइको प्रक्रिया हो । यस प्रकृयाका लागि शिक्षक र विद्यार्थीबीच बराबरी हैसियतमा प्रश्न–उत्तर हुनुपर्छ । शिक्षकले मात्र बोल्ने र विद्यार्थीले सुन्ने मात्र शैलीलाई उनले अस्वीकार गर्दै दुवैले एकअर्काबाट सिक्ने वातावरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यही प्रश्न–उत्तर शैलीलाई Problem-Posing Education अर्थात् समस्यामुखी शिक्षा भनेका छन् । 

पुस्तकको सार कक्षाकोठामा सार्थक सम्वाद भएमा मात्र विद्यार्थीको वास्तविक सिकाइ सम्भव हुन्छ भन्नेमा छ । अर्थात पुस्तकको मूल मर्म यहि नै हो । पुस्तकमा उनले सञ्चारशील शिक्षणशास्त्रका विभिन्न आयामहरूलाई विस्तृत रूपमा चर्चा  गरेका छन् । उनका अनुसार शिक्षक कुनै एक अवधारणामा सिमित नरहि बहुविचारधारा र बहुदृष्टिकोणमा आधारित भएर शिक्षण–सिकाइलाई सम्वादमुखी बनाउनुपर्छ । 

पुस्तकमा दार्शनिक भावहरू प्रसस्त मात्रामा पाइन्छन् । लेखकले सम्वादको सार्थकता वास्तवमा प्रेषक र प्रापकबीच हुने साझा बोधगम्यतामा निहित हुन्छ भनेर स्वीकारेका छन् । जब दुई व्यक्तिको चिन्तन, भावना र भाषिक अभिव्यक्ति एउटै तहमा मिल्छ, त्यतिबेला मात्र सम्वाद जीवन्त, प्रभावकारी र अर्थपूर्ण हुन्छ । सम्वाद केवल सूचना आदान–प्रदानमा सीमित नभई आत्मिक सम्पर्कको माध्यम हो । यदि त्यो सम्पर्क स्थापित भएन भने, शब्दहरू केवल खोक्रा ध्वनि मात्र ठहरिन्छन् ।

शिक्षक र विद्यार्थी बीचमा कायम हुने यहि आत्मिक सम्पर्कको गहिराइलाई शिक्षण–सिकाइ प्रक्रियामा स्थानान्तरण गर्दा यो केवल शिक्षक–विद्यार्थी वा विद्यार्थी–विद्यार्थीबीचको यान्त्रिक अन्तरक्रिया मात्र रहँदैन, बरु यसले सम्पूर्ण शैक्षिक सम्बन्धको नैतिक, सामाजिक र सम्वादात्मक आयामलाई नै पुनर्परिभाषित गर्ने शक्ति राख्छ । यस्ता थुप्रै भावहरू उनको यस पुस्तकबाट लिन सकिन्छ, जहाँ मैनाली अलि बढि नै दार्शनिक देखिन्छन् ।

मैनालीले पुस्तकमा कतिपय सन्दर्भमा नयाँ नयाँ अवधारणा पनि भित्र्याएका छन् । उनले आम रूपमा प्रयोग गरिने शिक्षण सिकाइ कृयाकलाप भन्न त्यति मन पराएनन् जस्तो देखिन्छ, उनी शिक्षण विधिमा मात्र पनि सिमिति रहेनन् । उनले त यसलाइ समग्रतामा शिक्षण विज्ञान भनेका छन् । 

शिक्षण विज्ञानले विद्यार्थीको जीवन जगतको ढाँचा (सांस्कृतिक परिवेश, भाषिक शैली, भावनात्मक अवस्था, दैनिक अनुभव र मानसिक संरचना) भित्र अध्ययन सामग्री र विधिलाई ढाल्ने बारेमा सोच्छ । यसबाट ज्ञान विद्यार्थीको आन्तरिक संसारसँग अर्थपूर्ण ढंगले गासिन पुग्छ । अनि विद्यार्थीले जीवन जगतमा देखिने सबै किसिमका विशेषताहरूलाई सजिलै समाहित गर्न सक्छ । तसर्थ शिक्षा प्रणालीले व्यक्तिको जीवन र उसले बाँचेको जगतसँग गहिरो सम्वाद स्थापित गर्न सक्नुपर्छ भनिन्छ । यहि शिक्षण विज्ञान अन्तर्गत हुने सम्वादले पाठ्यवस्तुलाई विद्यार्थीको जीवनको माटोमा रोप्छ, संरचना र दिशा दिनुका साथै नैतिक, सामाजिक र भावनात्मक पक्षले सिँचाइ गर्दै विद्यार्थीलाई समाजको संवेदनशील र उत्तरदायी अङ्ग बनाउने मार्गको रूपमा विकसित गर्छ ।

यसका लागि शिक्षकले मैनालीले भने झैँ कक्षा कोठामा ज्ञानको भाषा (Language of Knowledge) र अनुभवको भाषा (Language of Experience) बीच सहृदयी सम्बन्ध कायम गर्न सक्नुपर्छ । सिकाइ कुनै यान्त्रिक प्रक्रिया होइन, बरु मानव–केन्द्रित कार्य हो, जहाँ पारस्परिक सम्बन्ध, आदरभाव र साझा अर्थ निर्माण मार्फत ज्ञान हासिल हुन्छ । विचार–विमर्शको मूल आधार जीवनजगत हुनुपर्छ, जसले सिकाइलाई वास्तविकता र अनुभवसँग जोड्छ । 

हामीले माने पनि नमाने पनि आफूलाई आएका प्रश्नहरू त्यति कर्णप्रिय हुँदैनन् । यसले गर्दा विद्यार्थीलाई जिज्ञासा प्रकट गर्न कठिन हुन्छ र शिक्षकहरूलाई पनि आलोचनात्मक प्रश्नहरूको सामना गर्न सहज हुँदैन ।

यद्यपि, कक्षाकोठा औपचारिकता र नियन्त्रणमा आधारित हुने भए तापनि यसलाई जीवन्त र अर्थपूर्ण बनाउन सम्वाद र सहृदयता अपरिहार्य हुन्छ ।

रघु मैनालीको सञ्चारशील कक्षाकोठा (रुपान्तरणकारी पठन पाठनको आधारशिला) एउटा पढ्नै पर्ने पुस्तकको रूपमा लिन सकिन्छ । पुस्तकलाइ सिकाइ समूह काठमाडौले प्रकाशन गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवले खारिएको बौद्धिक व्यक्तित्व  प्रा. डा. मीन बहादुर विष्टद्वारा लेखिएको भूमिकाले पुस्तकको  गरिमा अझ बढाएको छ ।

पुस्तक दुइ खण्डमा बाँडिएको छ । पहिलो खण्ड सञ्चारशील कक्षाकोठा शीर्षकमा छ जस अन्तर्गत छ वटा अध्यायमा यसलाई चिरफार गरिएको छ । दोश्रो खण्ड सञ्चारशील शिक्षण शास्त्र रहेको छ जसमा तीन वटा अध्यायहरू रहेका छन् । सबै पाठहरू प्राज्ञिक भावनाले ओतप्रोत भएका छन् । हुबहु बुझ्न कठिनाइ भए पनि यीनको सार सजिलैसँग लिन सकिन्छ । 

हाम्रो नेपाली समाजको बनावट पदानुक्रम (पिरामिड) आकारमा रहेको छ । यस्तो तहगत शृङ्खला घरपरिवार र समाजमा मात्र होइन, यो त विद्यालय, कक्षाकोठा, सरकारी कार्यालय र सार्वजनिक जीवनका हरेक क्षेत्रमा रहेको छ । यस्तो अवस्थामा हुने सम्वाद प्रायजसो एकोहोरो स्वभाव वा प्रकृतिको हुन्छ । शृङ्खलाको माथिल्लो तहमा रहेकाले बोलेको भनेको कुराहरू तल रहेकाहरूले सुन्नु पर्छ, स्वीकार्नु पर्छ, मौन रहनु पर्छ । यस्तो अभ्यास शिक्षक विद्यार्थीको बीचमा पनि छ, शिक्षक प्रधानाध्यापकको बीचमा हुनसक्छ । यति मात्र नभएर सार्वजनिक जीवनको हरेक क्षेत्रमा यस्तै अभ्यास चलिआएको हुनसक्छ ।

वास्तवमा यी र यस्तै विभिन्न संरचनागत अवरोधका कारण शिक्षक र विद्यार्थीबीच हुने संवाद हाम्रो सन्दर्भमा बराबरीको हैसियत वा स्तरमा पुग्न सकेको छैन । हाम्रो समाजमा प्रश्न गर्ने संस्कृतिलाई सहज रूपमा स्वीकार गरिएको छैन । हामीले माने पनि नमाने पनि आफूलाई आएका प्रश्नहरू त्यति कर्णप्रिय हुँदैनन् । यसले गर्दा विद्यार्थीलाई जिज्ञासा प्रकट गर्न कठिन हुन्छ र शिक्षकहरूलाई पनि आलोचनात्मक प्रश्नहरूको सामना गर्न सहज हुँदैन । परिणाम स्वरूप, सम्वाद केवल औपचारिकतामा सीमित हुन्छ र वास्तविक सिकाइको वातावरण कमजोर हुन्छ । अहिले भएको पनि यहि हो । बराबरीको हैसियतमा प्रश्न–उत्तर हुन सके मात्र सम्वाद जीवन्त र अर्थपूर्ण बन्न सक्छ भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ । यसका लागि पनि पुस्तक पढ्नै पर्ने हुन्छ ।

पाउलो फ्रेइरेका अनुसार शिक्षक र विद्यार्थीबीच हुने सामान्य छलछाम वा सतही अन्तरक्रियालाई सम्वाद भन्न सकिँदैन । उनका अनुसार वास्तविक सम्वाद त त्यो हो जहाँ विभिन्न तह वा उच्च–नीचको भावना हुँदैन । यही दृष्टिकोणलाई आधार बनाएर लेखक मैनालीले आफ्नो सञ्चारशील कक्षाकोठा पुस्तकमा कक्षाकोठा शिक्षणलाई मौनताबाट सम्वादमा, अनुसरणबाट सोचमा र धोकन्ते अभ्यासबाट जीवनशैलीमा रूपान्तरण गर्न सक्ने योगदानको चर्चा गरेका छन् । यसले कक्षाकोठामा सम्वादले आशा, स्नेह र आत्मविश्वास जगाउने सम्भावना बोकेको छ । यस्ता सिकाइबाट हाम्रा शिक्षण–सिकाइलाई जीवन्त र अर्थपूर्ण बनाउन मद्दत पुर्याउँछ ।

पाउलो फ्रेइरेले क्रिटिकल पेडागोजीमा भनिएजस्तै शिक्षक–विद्यार्थी बीचको सतही सम्वादलाई भत्काउन र समालोचनात्मक अन्तरक्रिया गर्नका लागि मैनालीले उल्लेख गरेजस्तै यस्ता अवधारणाको सुक्ष्म अध्ययन चाहिन्छ । यही दृष्टिकोणलाई आत्मसात् गर्दै मैनालीले आफ्नो सञ्चारशील कक्षाकोठा  पुस्तक मार्फत कक्षाकोठामा विद्यमान पिरामिडीय संरचनालाई भत्काउने उपायहरू सुझाएका छन् । माथि भनिए झैँ पुस्तकको मूल मर्म नै सम्वादलाई जीवन्त र बराबरीको हैसियतमा स्थापित गर्नु हो । विद्यार्थीलाई प्रश्न सोध्न उत्प्रेरित गर्नु हो । विद्यार्थीमा आलोचनात्मक सोच विकासका लागि प्रोत्साहन गर्नु हो । यस कार्यमा पुस्तकले सहयोग गर्न सक्छ । 

मैनालीको यो पुस्तक त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा ‘कक्षाकोठा शिक्षणमा सञ्चारको योगदान’ शीर्षकमा गरेको विद्यावारिधिको शोधपत्रमा आधारित रहेको छ । त्यहि भएर हुनसक्छ, पुस्तक आम पाठकले खोजेजस्तो सरल विषयवस्तुमा सलल बगेको नहुनसक्छ । पुस्तकका कतिपय विषयवस्तुहरू प्राविधिक प्रकृतिका भएर पनि यस्तो भएको हुनसक्छ । तापनि पुस्तक पठनीय छ । यो पुस्तक शिक्षकले मात्र पढ्नुपर्छ भने होइन । शिक्षासँग जोडिएका हरेकले पढ्न सके लाभ लिनसक्छन् ।  

मैले यस पुस्तकलाई एकपटक पढेर बुझ्न कठिन भएको अनुभव गरेँ । यो कठिनाइ भाषागत जटिलताका कारण हो कि अन्य कुनै कारणले हो भन्ने प्रश्नले मलाई सतायो । पढ्दै गर्दा मेरा विचारहरू सलल मनमा बग्न सकेनन्, जसले गर्दा समय समयमा बुझाइमा अवरोध पैदा भयो । तर, शायद अरू पाठकहरूलाई यस्तो कठिनाइ नलाग्न पनि सक्छ । यसरी पुस्तकले व्यक्तिगत अनुभव र बुझाइमा फरक–फरक प्रतिक्रिया उत्पन्न गर्न सक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

पुस्तकले कक्षाकोठमा विद्यार्थी केन्द्रित विधि मात्र भन्दा पनि पर पुगेर शिक्षणलाइ जीवन र जगतसँग जोड्नु पर्छ भन्नेमा जोड दिन्छ, जहाँनेर यो सोच पूर्वीय दर्शनसँग मेल खान पुग्छ । सम्वादकर्ताको बीचमा दुरी कायम रहेमा वास्तविक सम्वाद नहुनसक्छ । शिक्षण सिकाइ पनि एक प्रकारको सह निर्माण जस्तै कार्य त हो नि । मैनालीको जोड यस्तै विषयमा रहेको छ ।  

तर पनि पुस्तक पढिसके पछि फुर्सदको समयमा घोरिँदा मैले विगतमा गरेका र अहिले गरिरहेका सम्वादहरू वास्तवमै के कति मात्रामा सार्थक थिए र छन् भन्ने बारेमा सोच्नै पर्ने बनाउँछ । मेरा अभ्यासहरू केवल निरर्थक ध्वनि मात्र थिए कि भन्ने प्रश्नले बाराम्बार सोच्न बाध्य बनाउँछ । यस पुस्तकले सम्वादका मामिलामा एकपटक आत्ममूल्यांकन गर्न प्रेरित गर्छ । सम्वादलाई गहिरो रूपमा पुनर्विचार गर्न उत्प्रेरित गर्दछ ।

लम्साल, शिक्षा सेवामा लामो समय काम गरेका पूर्व सचिव हुन् । 

प्रतिक्रिया