काठमाडौ – बितेका दुई साताको तुलनामा बुधबार विहान रश्मी वि.क. र विनिसा तामाङ्को अनुहार अलिक फरक देखिन्थ्यो ! दुई थान कापी र एउटा पेन्सिल राखेको झोला भिरेर विद्यालय जान तयार भएपछि उनीहरुको मुहारमा मन्द मुस्कान पनि देखियो !
अवस्था सामान्य हुन्थ्यो भने कक्षा ३ का यी दुई साथी यतिखेर आफूले अक्षर चिनेकै रसुवाको गोसाईकुण्ड गाउँपालिका – ५ स्याफ्रुवेसी स्थित आफ्नै विद्यालयमा पढिरहेका हुन्थे । तर, गत भदौ १० गते आएको 'हिमाली सुनामी'ले उनीहरुको जीवनमा नसोचेको आपत् ल्याईदियो ! आफन्त, ईष्टमित्र, छर छिमेकी, घर, विद्यालय र गाउँ नै बगाएसँगै उनीहरु विगत १५ दिन देखि नागार्जुन नगरपालिका – २, काठमाडौको गोसोक गुम्बामा आश्रय लिईरहेका छन् ।
रश्मीका बाबु नारायणको अहिले सम्म अत्तो पत्तो छैन । विद्यालय जाने तरखर गर्दै गरेकी छोरी रश्मी र रोशनीलाई नियाली रहेकी आमा दिलमायाको मन गह्रौं भारीले थिचेको प्रष्टै देखिन्थ्यो । लामो समय अर्काको गाडी चलाएका नारायणले केही समय अघि मात्रै चीनबाट सामान ओसार पसार गर्न ऋण धन गरेर आफ्नै गाडी किनेका थिए । त्यो दिन विहान ‘चौकी पछाडी गाडीमै छु’ भनेर खबर गरेका नारायणको अहिले सम्म खुटखबर छैन । पटक पटक अप्रेसन गरेर ज्यान थेगिरहेकी दिलमायाको आँखा १० गते विहान देखि ओभाएका छैनन् । कोही कुरा गर्न अघि आयो भने पनि भक्कानो मात्रै फुट्छ !
कति जनासँग, कति पटक, कहिले सम्म उही कुरा भनिरहनु ?
झिँजो लाग्छ ।
‘बाबाले पढेर ठूलो मान्छे हुनु पर्छ है छोरी ! भन्नु हुन्थ्यो, राम्ररी पढ भन्नुहुन्थ्यो’ विद्यालय जाने तरखरमा लागेकी रश्मीले भनिन् ‘अब पढ्न पाउने भएँ, खुसी लागेको छ ।’
प्राकृतिक विपत्तिको मारमा परेका मध्ये बुधबार विहान सम्म गुम्बामा आश्रय लिएका पाँच सय २० जना छन् । यी मध्ये एक सय १६ जना बालबालिका छन् । शुरुमा गुम्बामा आएकाहरु मध्ये एक सय ३२ जना विद्यालय जाने उमेरका थिए । ति मध्ये केही बालबालिका आफन्तहरुकोमा गएका गुम्बामा आश्रयको व्यवस्थापन गर्न गठित समितिले जनाएको छ ।
बुधबार सम्म गुम्बामै भएका बालबालिकालाई काठमाडौ महानगरपालिका – १५, विजेश्वरी डल्लु स्थित गीतामाता माध्यमिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाईएको छ ।
उनीहरुलाई विद्यालय पठाउन जाँचो पाँजो मिलाएको करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा बालबालिकालाई सम्झाउँदै थिए : आजबाट तपाईंहरु विद्यालय जाँदै हुनुहुन्छ, तपाईंहरुले नयाँ साथी भेट्नु हुनेछ । साथीहरुसँग मिलेर बस्नु, राम्रो सँग पढ्नु है !
लामो समय यत्तिकै राख्दा बाल मनोविज्ञानमा नकारात्मक असर पर्न सक्छ भनेर तत्कालका लागि बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउने उपाय खोजिएको उनले बताए । फाउण्डेशनले गत २०७२ सालको भूकम्प पछि देखि नै रसुवामा बालबालिका र शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ । गुम्बामा सहायताको काम गर्न गठित समिति, महानगरपालिका र विद्यालयको सहकार्य र सहमतीमा विद्यालय छनोट गरिएको सापकोटाले बताए । बालबालिकाको पठनपाठनको संयोजन सहित आवश्यक शैक्षिक सामग्री र पोशाकको व्यवस्थापन पनि फाउण्डेशनले नै गरेको छ । बुधबार पहिलो दिन ५८ जना बालबालिका विद्यालय गएका छन् ।
रश्मी र विनिसासँग जस्तै दुःख र आपत्का आ–आफ्नै कथा बोकेका छन् यी ५८ जना बालबालिकाले । आफन्त, छर छिमेकी, विद्यालय र गाउँ नै गुमाएका उनीहरुका कथा सुनिसाध्य छैन, भोग्नेलाई के बितिरहेको होला ? कल्पना गरिसाध्य छैन !
सारा पीडा बिसाएर उनीहरु १५ दिन देखि विद्यालयसँग टुटेको साईनो जोड्न बुधबार विहान गुम्बाबाटै गाडी चढेर विद्यालय निस्किए । गुम्बाबाट विद्यालय सम्म लाने र ल्याउने गाडीको प्रवन्धमा कलंकी स्थित एलआरआई स्कुलले सहयोग गरेको छ ।
‘मान्छेले सोच्दै नसोचेको विपत्ति आईलाग्यो, यस्तो बेला हामीले पनि सकेको केही गर्नु पर्छ भनेर फाउण्डेशनले संयोजन गरेको हो’ सापकोटाले भने ‘यस्ता विपत्तिको सामना कुनै एक संस्था वा व्यक्तिले मात्रै सम्भव छैन, समिति, महानगर, विद्यालय र दाताहरु सबैको साथले मात्रै यो सम्भव भएको हो, गुर्न पर्ने धेरै छ, गर्दै जान्छौं ।’
अधिकाँश बालबालिकाका लागि काठमाडौ बिरानो शहर ! स्वयम्भुको थुम्कोलाई दाहिने पार्दै गाडीले उनीहरुलाई यही बिरानो शहरको बिरानो विद्यालय गीतामाताको अघिल्तिर पुर्याईदियो ।
विद्यालय छिरेका बालबालिकालाई प्रधानाध्यापक हरीकृष्ण श्रेष्ठ सहितका शिक्षकहरुले स्वागत गरे । सभा हलमा सहायक प्रधानाध्यापक रामप्रसाद देवकोटा र ईञ्चार्ज विना वैद्यले आफूहरुलाई ‘आमा बुबा जस्तै मानेर निर्धक्क मनका कुरा भन्न’ आग्रह गरे ।
गुम्बामा आश्रयको व्यवस्थापन गर्न गठित समितिका अध्यक्ष भुजुङ् तामाङ्ले बालबालिकाको विशेष ख्याल गर्न जोड दिए ।
‘यीनिहरु मध्ये कतिपयका अभिभावक छैनन्, कतिपयका आफन्त छैनन्, यी सामान्य बालबालिका जस्तो हैनन् ज्यादै फरक अवस्थामा छन्, यिनीहरुको खास ख्याल गर्नु होला’ शिक्षक सहित सहयोगी संस्था र विद्यालय परिवारलाई पटक पटक आग्रह गर्दै उनले भने, ‘अवस्था मात्रै हैन, पढाई फरक छ, बुझाई फरक छ, भोगाई फरक छ, भूगोल फरक छ, यीनिहरुको खानपान देखि पठनपाठन सबै कुराको विशेष ख्याल गर्नु होला ।’
प्रधानाध्यापक श्रेष्ठ विद्यार्थीलाई विभेद नहुने गरेर काउन्सिलिङ् गर्दै सहजीकरण गर्ने बताउँछन् ।
‘विद्यालयमा नयाँ विद्यार्थी आए पछि पुराना र नयाँ बिचमा पनि सम्बन्ध कायम राख्नु पर्ने छ, बाढी प्रभावित विद्यार्थीलाई आवश्यक काउन्सिलिङ् गर्छौ’ उनले भने ‘उनीहरुले भोगेका विपद् र समस्याका बारेमा यहीँ अध्ययनरत विद्यार्थीलाई पनि जानकारी दिदैं सामान्य अवस्थामा लैजाने प्रयत्न गर्छौ ।’
पहिलो दिन कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कक्षा कोठामै लगियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भने सामुहिक रुपमा राखियो । गुम्बामा बस्दै आएका मध्ये सबै भन्दा धेरै कक्षा १ मा ४५ जना भन्दा धेरै बालबालिका छन् । त्यसैले कक्षा १ का लागि छुट्टै कक्षाको व्यवस्थापन गर्ने बारेमा विद्यालयले योजना बनाएको प्रधानाध्यापक श्रेष्ठले बताए ।
महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीले 'खास पीडामा परेका बालबालिकालाई आवश्यकता अनुसार महानगरले सहजीकरण र सहयोग गर्दै जाने' बताए ।
पहिलो दिन भएकोले ५८ जना मात्रै भएको तर क्रमशः यो संख्या बढ्दै जाने समितिका अध्यक्ष तामाङ्को अनुमान छ । समितिको रेकर्डमा एक सय ३२ विद्यार्थी भएकाले पनि बालबालिकाको संख्या बढ्ने उनको अनुमान छ ।
परिवारका ५० जना धेरै वेपत्ता भए पनि, विस्थापितहरुलाई गुम्बामा व्यवस्थापन गर्न १५ दिन देखि रात दिन खटिईरहेका तामाङ्लाई अर्को चिन्ताले सताउन थालेको छ - कक्षा १० सम्मका बालबालिकाको त जसोतसो व्यवस्थापन भयो अब कक्षा १२ सम्मका बालबालिकालाई कहाँ पढाउने होला ?
‘बालबच्चालाई व्यवस्थापन गरे पछि बल्ल उनीहरुका बाबा आमाका बारेमा सोच्न सकिन्छ, बालबालिका दिउँसो स्कुल जाने भए पछि बाबा आमालाई केही काममा लगाउन सकिन्छ, यसो भयो भने दिन रातै दिक्क मानेर बसिरहेका उनीहरु पनि भुल्थे की !’ तामाङ् केही उपाय खोजिरहेका छन् ।
प्रतिक्रिया