काठमाडौ - विद्यालय शिक्षा विधेयक 'लेख्नु अघि' शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था सम्बन्धी विषयमा सरोकारवालाहरु सहितको गोष्ठी आयोजना गरेको छ । यस अघि मन्त्रालयले सातै प्रदेशमा छलफल सकेको छ । प्रदेश स्तरीय कार्यक्रममा समग्र विषयमा छलफल गरे पनि काठमाडौमा गरिएको कार्यक्रमलाई विद्यालय व्यवस्थापन तथा पाठ्यक्रममा केन्द्रित गरिएको छ ।
प्रदेश स्तरीय छलफलमा आफूलाई औपचारिक रुपमा सहभागी नबनाएको भन्दै आपत्ति जनाएको नेपाल शिक्षक महासंघका नेताहरु पनि उक्त गोष्ठीमा सहभागी भएका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सहितका पदाधिकारीहरु गोष्ठीमा उपस्थित भएका छन् । प्रदेश स्तरीय छलफलमा मन्त्रालयले महासंघलाई वेवास्ता गर्दै नेपाल प्रधानाध्यापक संघलाई अघि सारेको थियो । प्रदेशमा सबै कार्यक्रमको सहजीकरण उक्त संघले नै गरेको थियो ।
आईतबारको कार्यक्रम भने मन्त्रालयकै ब्यानरमा भएको हो । कार्यक्रममा मन्त्री सस्मित पोखरेल, उनका सल्लाहकार, मन्त्रालयका उच्च कर्मचारी, शिक्षाविद्, महासंघ सहित अभिभावक महासंघ, विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिती छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकलाई थप प्रभावकारी, समसामयिक र सरोकारवाला मैत्री बनाउन गोष्ठी गरेको मन्त्रालयले जनाएको छ ।
यस अघि, संसदीय समितिले लगभग टुङ्ग्याएको शिक्षा विधेयक गत भदौमा भएको जेनजी विद्रोह पछि संसद नै भंग भएसँगै तुहिएको थियो । नयाँ संविधान बनेको एक दशक वितिसक्दा पनि नयाँ शिक्षा ऐन जारी नहुँदा शैक्षिक गतिविधि तदर्थ रुपमा चलिरहेको छ ।
प्रतिक्रिया