काठमाडौ - अटिजम भएकी छात्रा मैना बि. क. को सपना भविष्यमा वैज्ञानिक बन्ने छ । तर, शारिरिक अवस्थाका कारण उनलाई विद्यालय जान सकस त छँदै छ, विद्यालय पुगे पछि साथीहरुले गर्ने फरक व्यवहारले मनै कुडिन्छ !
न आफू अनुकुल विद्यालयको भौतिक संरचना छ न साथी भाईले संगै मिसाएर खेलाउँछन् !
मैनाका दाइ माने, आफ्नी बिहीनीले पाएको हैरानीका कारण विद्यालय नै नपठाउने टुङ्गोमा पुग्छन् ।
‘यस्तो गाह्रो छ स्कुलमा यसले दुःख मात्रै पाउने भई । यसको कुरा बुझ्ने मास्टर नै छैनन्’ माने भन्छन् ‘जहिल्यै स्कुलबाट रुँदै आउँछे । यसले दुःख पाई भनेर मलाई पनि नराम्रो लाग्यो । स्कुलमा न राम्रा पुर्वाधार छन् । डेक्सबेञ्च, ट्वाइलेट, पानी केही गतिलो छैन । दिन थालेको सेनिटरी प्याड पनि दिन छाडेछन् ।’
तर, मैनाकी आमालाई आँखा नदेख्नेलाई पनि शिक्षाले आँखा दिन्छ भन्ने थाह छ ।
‘मैले पछि थाहा पाउँदै गएँ, आँखा भएर पनि मेरा आँखा नै रहेनछन् । त्यै भएर मैले आफूले दुःख गरेर पनि तिमिहरुलाई पढाएको हुँ, गाह्रो भयो भनेर पढाई नै छोड्नु हुँदैन ।’ छोरा छोरीलाई सम्झउँदै उनी भन्छिन् ‘पढेर ठूलो मान्छे बन्नुपर्छ ।’
आमाको ललाई फकाई पछि मैना विद्यालय जान्छिन् । साथीहरु भविष्यमा के बन्ने भन्ने खेल खेल्दै आआफ्ना सपना सुनाउँदै थिए ।
कोही हिरो बन्छु भन्छन्, कोही डाक्टर बन्छु भन्छन्, कोही खेलाडी बन्छु भन्छन्, कोही न्यायाधिस बन्छु भन्छन् ।
मैनालाई बोल्नै दिन्नन् !
तर, मैनाकी एक जना साथीले उनलाई साथ दिन्छिन् । अनी मैना भन्छिन् : म वैज्ञानिक बन्ने ।
अरु साथीहरुले उल्याउँछन् । त्यत्तिकैमा कक्षामा आएका हेडसरले ती विद्यार्थीलाई गाली गर्छन् । बोल्न धकाउने मैनाले सानो चिर्कटो हेडसरलाई दिन्छिन् ।
जहाँ लेखिएको थियो : मलाई स्कुल आउन मन लागे पनि स्कुलको वातावरण सम्झेर आउन मन लाग्दैन । म के गरौं सर ? मैले मेरो मनका कुरा, मेरा समस्या राख्ने ठाऊँ पाइरहेको छैन । हाम्रोमा गुनासो राख्ने बक्स पनि छैन । चर्पी र यहाँको संरचना मेरो लागि निकै कठिन बनेको छ ।
मैनाका भावना बुझेर हेडसर विद्यालय सुधारका लागि आवश्यक बजेट उपलब्ध गराउन पालिकाको बैठकमा कुरा उठाउने बताउँछन् ।
त्यस पछि बसेको पालिकाको बैठकमा बाटो घाटो बनाउने कुरा हुन्छ, विडम्वना शिक्षा प्राथमिकतामा पर्दैन । शिक्षाका लागि छुट्याएको ८ प्रतिशत बजेटले विद्यालय भवन रंगरोगन गरेर चिटिक्क पार्नु पर्ने पालिका अध्यक्षले प्रस्ताव राख्छन् !
तर, हेडसरले विद्यार्थीले पाएको हैरानी उनीहरुकै मुखबाट सुन्न आग्रह गर्छन् । अनी विद्यार्थीले गाउँछन् साङ्गीतिक समूह ‘राल्फा’ का सदस्य रामेश र मञ्जुलले संकलन गरी तत्कालीन पञ्चायती व्यवस्था भित्र उत्पीडनमा परेकाहरुको पीडा झल्काउन गाएको कालजयी सांस्कृतिक–राजनीतिक गीत – गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन..... को भाकामा आफ्ना पीडा र भोगाइ !
...
गाइ त बाध्ने ढुङ्ग्रोमा मोही छैन, मोही छैन, विद्यार्थीको गुनासो सुन्दिने कोही छैन
पन्ध्रुप्याँको खाजा छ पुर्याउँछम् करैले, केरी जित्नु फुटबल गेम मोजाको बलैले
छात्रवृत्ति वर्षको चार सय रुप्पे छ, ड्रेस कि कलम के किन्नु महँगीमा के पुग्छ
सिँढी उस्तै अप्ठेरो बेच अनि ट्वाइलेट, सेनिटरी प्याड खोज्दा भेटिनँ मैले त
साइन्स ल्याबमा उस्तै छ सामान छैन खाली छ, ट्वाइलेट पनि के भन्नु न चुकुल न पानी छ
असार लाग्छ लाग्दैन हातमा किताब, पूरा छैनन् स्कुलमा विषय शिक्षक
डिजिटलको जमाना एआई र प्रविधि, मार्कर बोर्डले ए सरकार के सिक्छन् विद्यार्थी
विद्यार्थीका कुरा सुने पछि पालिका प्रतिनिधि पनि गीतकै भाकामा भन्छन् : हाम्ले प्रयास गर्दा नि किन चित्त बुझेन, यसपाली त शिक्षालाई बजेट नै पुगेन
जनप्रतिनिधिका कुरा सुने पछि हेडसर, विद्यार्थी र अभिभावक उसैगरी भन्छन् : शिक्षा कमजोर भएमा आफैँ पछि परिन्छ, हामी होइन ए हजुर नीति नै गरिब छ
सबैलाई होस् बेलैमा सुनोस्, खुलोस् चेत, विकास हुन्न घटेमा शिक्षाको बजेट ।
...
विद्यार्थी आफ्ना भविष्यका सपना भन्दै भेला हुन्छन् । दियो बाल्छन् । हावाहुरी आउँछ, यद्यपी उनीहरुले दियो बचाउने प्रयास गर्छन् । प्रधानाध्यापकले दियो बोकेर आउँछन् । त्यही दियोबाट अरु सबै दियो बल्छन् ।
...
कुञ्ज नाटकघर शिल्पशालाका कलाकारहरुले शिक्षालाई व्यवहारमा प्रभावकारी बनाउने उद्देश्यले मञ्चन गरेको नाटकको दृष्य हो यो । जहाँ अपाङ्गता भएका, सीमान्तकृत समुदायका तथा शिक्षामा पछाडी पारिएका बालबालिकाको शिक्षामा पहुँच, सहभागिता र सिकाइ सुनिश्चित गर्न माग गरिएको छ ।
कैलाश कुमार कार्कीको लेखन निर्देशन रहेको उक्त नाटकमा मैनाको भूमिकामा कलाकार रेनुका आचार्य थिईन् । उनको दाईको भूमिकामा निर्देशक कार्की थिए । चाँदनी शाही, प्रकाश कार्की, अमृता खनाल, मिनल कोइराला विद्यार्थीको भूमिकामा थिए भने हेडसरको भूमिकामा दिपेश पाठक, पालिका अध्यक्षको भूमिकामा दिपेन्द्र पौडेल, पालिका सदस्यको भूमिकामा इभा गिरी र गाउँलेको भूमिकामा सुमन आचार्य थिए । नाटकको संगीत दिक्षान्तको थियो ।
मैनाको स्कुल र समावेशी शिक्षा शिर्षकको उक्त नाटक शिक्षा प्रणालीमा समान पुहँच, सहभागिता र उपलब्धि हासिल गर्दै कुनै पनि बालबालिका पछाडी नपार्ने सुनिश्चित गर्न शुरु गरिएको पहुँच परियोजनाका बारेमा सांसद र सरोकारवालाहरु बिच सोमबार आयोजित कार्यक्रमको शुरुमा मञ्चन गरिएको हो ।
उक्त परियोजना अन्र्तगत मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहहरुमा सीमान्तकृत तथा वञ्चित बालबालिकालाई समावेशी, सुरक्षित, पहुँचयुक्त, सम्मानजनक र गुणस्तरीय शिक्षा प्रदान गर्न नागरिक समाज, विद्यालय, समुदाय र स्थानीय सरकारको सहकार्यमा काम भईरहेको छ । यूरोपेली युनियनको सहयोगमा पिपुल ईन निड, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, नेपाल अपाङ्ग महिला संघ र एकाउण्टेविलिटि ल्यावको साझेदारीमा उक्त कार्यक्रम सञ्चालित छ ।
कार्यक्रमले समावेशी शिक्षाका क्षेत्रमा गरेका अभ्यासहरुका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरुले अब बन्ने ऐन कानूनमा यो विषयलाई गम्भिरताका साथ समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद भूमिका श्रेष्ठ, नेकपा एमालेकी सांसद यशोदा बराल, नेकपाका सांसद रमेश मल्लले समावेशी शिक्षाको पहुँच अभिवृद्धिका लागि आआफ्नो तर्फबाट प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया