Edukhabar
शुक्रबार, ०२ असोज २०८३
गतिविधि

'भद्रगोल' ईमिस व्यवस्थित गर्न विद्यार्थीको सत्यापन गरिने

उपस्थित र ईमिसमा भएको विवरण फरक भए नियमित विद्यार्थीको विवरण कायम गरी अन्य विद्यार्थीलाई विद्यालयमा नभएको उल्लेख गर्नु पर्ने, नियमित उपस्थित विद्यार्थीको अभिलेख नभए अद्यावधिक गर्नु पर्ने, छात्रवृत्ति व्यवस्थित गर्न निजीलाई पनि परिपत्र

शुक्रबार, ०२ असोज २०८३

भक्तपुर - विद्यार्थी संख्याको विवरणमा हुँदै आएको 'भद्रगोल' व्यवस्थित गर्न शिक्षा विभागले विद्यार्थीको सत्यापन गर्ने भएको छ । विद्यालय तहका विद्यार्थीको यकिन विवरण राख्न झण्डै तीन दशक अघि शुरु गरिएको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईमिस)  मै 'भद्रगोल' भए पछि विभागले व्यवस्थित गर्न लागेको हो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको यकिन विवरण राख्न विभिन्न दातृ संस्थाहरुको सहयोगमा झण्डै तीन दशक अघि सरकारले यो प्रणाली शुरु गरेको थियो । 

तर, प्रणालीमा नै 'भद्रगोल' देखिए पछि विभागले विद्यार्थीको सत्यापन गर्न सबै सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ । शुक्रबार गरिएको परिपत्रमा विभिन्न सञ्चार माध्यम तथा अन्य माध्यमबाट गुनासा र उजुरीहरु प्राप्त भएको उल्लेख गर्दै विभागले विद्यालयका वास्तविक विद्यार्थीको विवरण असोज मसान्त सम्ममा अद्यावधिक गर्न भनेको छ । 

विद्यालयको कक्षा कोठामा उपस्थित विद्यार्थी र ईमिसमा भएको कक्षागत विद्यार्थी विवरण फरक रहेमा विद्यालयमा नियमित अध्यपनरत विद्यार्थीको मात्र विवरण कायम राखी अन्य विद्यार्थीलाई विद्यालयमा नभएको उल्लेख गर्न भनिएको छ । यसैगरी विद्यालयमा नियमित उपस्थित रहेका विद्यार्थीको अभिलेख ईमिसमा नरहेको भए त्यस्ता विद्यार्थीको अभिलेख अद्यावधिक गर्न पनि परिपत्रमा भनिएको छ । 

यही प्रणालीमा प्रविष्ट भएका विद्यार्थी संख्याका आधारमा सरकारले छात्रवृत्ति, पोशाक, पाठ्यपुस्तक, खाजा लगायतको प्रति विद्यार्थी लागत अनुदान खर्च उपलब्ध गराउँदै आएको छ । ईमिस डाटा भेरिफिकेशन गर्ने भनेर विभागले विशेष कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । तर, यो प्रणालीमा धेरै नै त्रुटि रहेको विभिन्न अध्ययनले देखाएको छ । 

गत बर्ष एडुखबरले गरेको अध्ययनले विद्यालयहरुको ईमिस प्रणालीमा गम्भिर त्रुटि फेला परेको  थियो । उक्त अध्ययनको तथ्याङ्क विश्लेषण गर्दा पहाडी क्षेत्रको तुलनामा मधेसका विद्यालयमा ईमिस प्रणालीमा दोब्बर त्रुटि रहेको  तथ्य फेला परेको थियो । 

ईमिस प्रणालीमा देखिएका सामान्य त्रुटिलाई मात्रै सच्याउने हो भने पनि कूल शिक्षा बजेटको १० देखि १२ प्रतिशत सम्म रकम तत्काल जोगिने उक्त अध्ययनले देखाएको छ । 

उक्त अध्ययनका क्रममा ईमिस प्रणालीका विषयलाई विभिन्न ८ उपशिर्षकमा केन्द्रित गरिएको थियो ।

उक्त अध्ययनमा फेला परेको तथ्य अनुसार २० प्रतिशत विद्यार्थीको नाम ईमिसमा दोहोरिएको छ । ईमिसमा नाम भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थी सबै भन्दा धेरै २६ प्रतिशत रहेको उक्त अध्ययनले फेला पारेको थियो ।

विद्यालयमा विद्यार्थी भए पनि ईमिसमा नाम प्रविष्ट नगरेका १३ प्रतिशत र हाजिरी कापीमा नाम भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थी चार प्रतिशत फेला परेका थिए । यसैगरी ईमिसमा नाम नभएका तर, हाजिरी कापीमा नाम लेखिएका भए पनि त्यस्ता विद्यार्थी अरु नै विद्यालय वा टाढाका जिल्लामा गएको विद्यालयले दावी गरेको पनि उक्त अध्ययनले फेला पारेको थियो । यस्ता विद्यार्थीको संख्या छ प्रतिशत छ । एउटा कक्षामा उपस्थित भएका विद्यार्थीको अर्कै कक्षाको ईमिस भरिएको पनि फेला परेको  थियो । यस्ता विद्यार्थी सात प्रतिशत देखिएको छ । यसैगरी २० प्रतिशत विद्यार्थीको ईमिसमा नाम दोहोरिएको फेला परेको थियो । यो ईमिसमा नाम भएर पनि विद्यालयमा अनुपस्थित हुने विद्यार्थी संख्या पछि दोश्रो सबैभन्दा धरै त्रुटि भएको उपशिर्षक हो ।  हाजिरी कापीमा उपस्थित देखिएका विद्यार्थी विद्यालयमै नआउने गरेको पनि फेला परेको थियो । यस्ता विद्यार्थी नौ प्रतिशत रहेको अध्ययनले फेला पारेको थियो । 
ईमिसमा विद्यार्थीको विवरण भर्ने मुख्य दायित्व विद्यालयका प्रधानाध्यापकको हो । तर कतिपय विद्यालयका प्रधानाध्यापकहरुले उक्त जिम्मेवारी आफूले निर्वाह नगरी तेश्रो व्यक्तिलाई दिने गरेको समेत अध्ययनले फेला पारेको थियो । 

पढ्नुहोस् उक्त अध्ययनको विस्तृत विवरण 

भद्रगोल ईमिस

विद्यार्थी विवरण गलत राखिनु कानुनी रुपमा समेत दण्डनीय रहेको तथा यसका लागि प्रधानाध्यापक, फोकल पर्सन र लेखा सम्बन्धी काम गर्ने व्यक्ति जिम्मेवार हुने परिपत्रमा स्मरण गराईएको छ । 

यसै गरी विभागले ईमिस प्रणाली व्यवस्थित गर्न निजी विद्यालयहरुलाई पनि परिपत्र गरेको छ । विद्यार्थी संख्याका आधारमा निजी विद्यालयहरुले दिने छात्रवृत्तिलाई व्यवस्थित गर्न उक्त परिपत्र गरिएको हो । 

पाँच सय जना सम्म विद्यार्थी भएका निजी विद्यालयले १० प्रतिशत, पाँच सय देखि आठ सय सम्म विद्यार्थी भएकाले १२ र आठ सय भन्दा धेरै विद्यार्थी भएकाले १५ प्रतिशत सम्म छात्रवृत्ति दिनु पर्ने व्यवस्था छ । उक्त व्यवस्था स्मरण गराउँदै विभागले विद्यार्थी विवरण सत्यापन गर्न निजी विद्यालयहरुलाई पनि परिपत्र गरेको हो । 

प्रतिक्रिया