सिराह - शिक्षामन्त्री सहभागी कार्यक्रममा भएको विवाद उनको टिमको हतारोले गर्दा भएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम अन्तर्गत शनिबार औरही गाउँपालिकामा भएको कार्यक्रममा मन्त्री पोखरेल बोल्न थाले लगत्तै हो-हल्ला शुरु भएपछि उनी कार्यक्रम छाडेरै निस्कनु परेको थियो ।
मन्त्री भन्दा अघि बोल्ने पालो राखिएका जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोलाई समय नदिए पछि विवाद शुरु भएको हो । आफूलाई बोल्न किन नदिएको ? भन्दै प्रश्न राख्दा मन्त्रीसँगै आएका सचिवायलका सदस्यहरुले रुखो बोले पछि आफूलाई चित्त नबुझेको महतोले एडुखबरलाई बताए । कार्यक्रम विहान १० बजेबाट शुरु हुने भनिएकोमा मन्त्री नै १२ बजे पछि मात्रै आएका र कार्यक्रम सक्न हतार गरेका कारण कार्यक्रम व्यवस्थापन भद्रगोल भएको उनको भनाई छ ।
‘घण्टौं सम्म पर्खेर बसेकाहरुले बोल्न नपाउँदा प्रश्न गर्नु त स्वभाविक नै हैन र ? जिल्ला समन्वय समितिको सभापति भनेको जिल्लामा रहेका तीन दर्जन समितिको अध्यक्ष हो, यसमा शिक्षा पनि पर्छ, अनि शिक्षाका विषयमा अध्यक्षले बोल्नै नपाउनु भन्ने पनि हुन्छ त ?’ महतोले भने ‘प्रश्न गर्ने वित्तिकै केही व्यक्तिहरुले किन बोल्नु पर्यो ? भन्दै चर्को स्वरमा कराए पछि चित्त बुझेन । ती व्यक्ति मन्त्रीका सचिवालयका हुन् भन्ने कुरा पछि थाहा पाएँ । मन्त्रीले त केही अब्जेक्सन गर्नु भएन तर ती व्यक्तिले निकै चर्को स्वरमा कराईरहँदा त्यहाँ उपस्थित अरुहरुलाई पनि चित्त बुझेन ।’
कार्यक्रम सामान्य रुपमै चलिरहँदा अकस्मात हो-हल्ला भएको तर खास समस्या नभएको बताउँछन् गाउँपालिकाका अध्यक्ष शिवजी यादव । कार्यक्रम चलिरहँदा बिचमै उद्घोषक परिवर्तन भएका कारण पनि समस्या भएको उनको बुझाई छ ।
मन्त्री आउनु अघि देखि नै कार्यक्रम चलिरहेको थियो, सहभागीहरुले आआफ्ना कुराहरु राखिरहेका थिए, त्यतिञ्जेल सम्म पालिकाको शिक्षा शाखा समेत सम्हाल्दै आएका प्रशासन प्रमुख सन्तोष कुमार यादवले कार्यक्रम सञ्चालन गर्दै थिए ।
‘मन्त्री आएपछि काठमाडौबाटै आएका कर्मचारीले कार्यक्रम सञ्चालन गर्न थाले, यस अघि को को बोले, अब कसको बोल्ने पालो भन्ने भन्दा पनि हतार हतार कार्यक्रम सकौं भन्ने तिर लाग्दा अलमल भएको मात्रै हो, यो खास ठूलो समस्या हैन ।’ यादवले भने ।
हो-हल्ला चर्किन थाले पछि मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले ‘केही सुझाव भए लिखित रुपमा पनि दिन सकिने’ बताईरहेका थिए । तर पनि केही सहभागीहरुले हो-हल्ला थप चर्काए पछि मन्त्री पोखरेल आफ्ना कुरा छोट्याएर कार्यक्रम स्थलबाट बाहिरएका थिए । उक्त घटनाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाईरल भएको छ । सत्ताधारी दलका आलोचकहरुले आम मानिसमा सरकार प्रतिको वितृष्णाका रुपमा ब्याख्या गरेका छन् । तर मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि जनाएको तर्क गर्दै सामाजिक सञ्जाल मार्फत् नै स्पष्टिकरण दिएका छन् ।
‘आज सिरहा र सप्तरीमा सय जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो । तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’ उनले लेखेका छन् ‘त्यही घटनाको एक मिनेट भन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ । तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन ।’
भ्रामक प्रचारले शिक्षा सुधारको आफ्नो मूल उद्देश्यलाई रोक्न नसक्ने बताउँदै उनले सो घटना पछि पनि सिरहा स्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गरेको उल्लेख गरेका छन् ।
‘आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव सङ्कलन गरेका छौँ । भोलि सप्तरीबाट मोरङतर्फ लाग्दैछौँ’ उनले लेखेका छन् ।
संघीय शिक्षा मन्त्रालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सुझाव संकलन गर्न भदौ २४ गते देखि ३० गते सम्म देशका विभिन्न २८ ठाउँमा कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रम अन्तर्गत शनिबार सिराह र सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेल सहभागी भएका हुन् ।
प्रतिक्रिया