देश बाढीको प्रलयले आक्रान्त छ । हिमाली सुनामीका कारण रसुवा, नुवाकोट र धादिङको नदी किनारको सामाजिक जीवन ध्वस्तप्रायः छ । संरचनामा ठुलो बज्रप्रहार भएको छ । समाज नै विथोलिएको छ । थिलथिलो भएको छ । शिक्षा स्वभावतः ध्वस्त प्रायः छ । पछिल्ला केही दिन यताको लगातार झरीका कारण आएको बाढी, पहिरोले थप क्षती बढाईरहेका खबर आईरहेका छन् । यसबाट माथि उठ्ने उपायको खोज, उद्दार र राहतमा सबै तहको सरकार लागि परेका छन् । यस्तोमा शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषय सदा चुनौतिपुर्ण हुने गर्छ । हाम्रो जस्तो देशमा । कसैले बास पहिले भन्छन् । कसैले गास । कसैले औषधि । धेरैका धेरै कुरा सुनिन्छन् । स्वभाविक हो ।
समन्वयको चुनौति ठुलो हुन्छ । भैरहेको छ । समन्वय भन्न सजिलो । गर्न गाह्रो विषय हो । शिक्षा धेरैको ध्यानमा पुग्दैन । यो पहिलो महत्वमा पर्दैन । तर यो दुखाईबाट माथि उठ्ने ठुलो उपाय पनि शिक्षा नै हो । जब शिक्षा नियमित हुन्छ; यसले मनोसामाजिक असरमा सकारात्मक प्रभाव पार्न शुरु गर्छ । दुःख विर्साउन सहयोग गर्छ । समाज दुःखबाट बौरिन शुरु हुन्छ । बालबालिकाहरुले सुरक्षित महशुस गर्छन् । स्वभावतः अभिभावकहरुले पनि राहतको महशुस गर्छन् । सामग्रीले मात्र राहत हुँदैन । दुःखमा आउने आँसु एक प्रतिशत हो । बाँकी ९९ प्रतिशत त मन रुने हो, भन्छन् यसका विशेषज्ञहरु । रुने मन सम्हाल्ने कुरा चानचुने होईन । मनोसामाजिक प्रभाव ठुलो हुन्छ, यस्तो बेला । त्यसमा मल्हम लगाउने पनि शिक्षा हो ।
विपद्को समयमा तिव्र र व्यवस्थित सेवा प्रवाहका लागि गृह मन्त्रालयको समन्वयमा विभिन्न ११ वटा क्लष्टरले काम गर्छन् । आ–आफ्नो क्षेत्रमा । त्यस मध्ये शिक्षा क्लष्टर एउटा हो । आजको दिनमा विपद् व्यवस्थापन प्राधिकरणको समन्वय महत्वपुर्ण हुन्छ । सही तथ्याङक व्यवस्थित गर्नु, विष्लेषण गर्नु, गलत सुचना प्रवाह हुन नदिनु, त्यसमा सचेत हुनु, सबै क्लष्टरका फोकल व्यक्तिहरुको सही समन्वय गर्नु, त्यसलाई व्यवस्थित गर्नु, क्षतिको लागत अनुमान र तत्कालिन र दीर्घकालिन योजना निर्माण गर्नु, सरकारको बलियो हात बन्नु, यसको जिम्मेदारी हो ।
क्लष्टरको चुस्तता नाप्ने समय पनि हो यो ।
यो बेला बालबालिका बढी प्रभावित हन्छन् । किनकि उनीहरु आफ्नो हेरचाह आफै गर्न सक्षम हुदैनन् । बृद्द, अपाङ्गता भएका व्यक्तिहरु, सुत्केरी, गर्भवतिहरु, अल्पसँख्यक बढी जोखिममा हुन्छन् । जिम्मेदारको पहिलो प्राथमिकतामा ती समुदाय हुनुपर्छ ।
यस्तो बेला किन शिक्षा छिटो नियमित हुनुपर्छ ?
यसले बालबालिकाको सुरक्षा प्रदान गर्छ । यो बालबालिकाको अधिकार हो । समुदायले छिटो यसको व्यवस्थापन चाहन्छ । यसले अन्य सहयोग कार्यक्रमसँग पनि सम्वन्ध राख्छ । हामी संयुक्त राष्ट्रसंघको बालवचाउ अभियानको हस्ताक्षर राष्ट्र पनि हौँ । यो बाल अधिकारको कुरा हो । यो मानव अधिकारको कुरा हो । यसले बाल मनोसामाजिक असर कम गर्छ । धनले भन्दा पहिले मनले हो उठाउने । लडे पनि फेरि उठ्न सक्ने बनाउने । शिक्षाले उठाँउछ । जुध्न सक्ने बनाउँछ । त्यसैले यो छिटो शुरु हुनुपर्छ ।
विपदमा शिक्षा नियमित जस्तो हुँदैन । त्यँहा व्यथा छ । कथा छ । बालबालिका आफन्तसँग विछोडिएका छन् । टाढिएका छन् । टुहुरा छन् । यस्तो बेला नियमित पाठ्यपुस्तकको पढाईको अर्थ हुँदैन ।
यी प्रश्नको उत्तर हामी सँग छ ?
यो तवाहीमा कति बालबालिका, कति शिक्षक हताहत भए ? कति बालबालिका विद्यालय जानबाट वञ्चित छन् ? यो बेला हामीलाई चाहने आवश्यक स्रोत कति नपुग भो ? कति मानव स्रोत चाहिने भो ? कति पाईयो ? कति शिक्षक विस्थापित भए ? कसरी पुर्ति हुन्छ ? हाम्रो सञ्चार सन्यन्त्रले कति काम गर्यो ? कति गरेन ? विपद् व्यवस्थापन सञ्जालले कति काम गर्यो ? सञ्जाल प्रयोग भयो ? यसमा कमजोरी कहाँ भए ? हामी SOP-Standard Operation Procedure अनुसार काम गर्यौँ कि मनमौजी ? हाम्रा स्थापित संस्था सक्रिय भए कि व्यक्ति ? हाम्रो शिक्षाको आपतकालिन योजनाले कति काम गर्यो ? कहाँ कमी भयो ?
यस्ता प्रश्नहरुको उत्तर खोज्ने समय पनि हो यो । ता की हाम्रो तयारीको यथार्थ अवस्था बाहिर आओस् । ता कि भोलिका लागि यस्ता बिपद्मा हाम्रो तयारी पुर्ण होस् । व्यक्ति बलियो भएर सेवा टिकाउ हुँदैन । सँस्था बलियो हुनुपर्छ । चुस्त हुनुपर्छ । व्यवसायिक हुनुपर्छ । यो कति भयो ?
एक द्वार भन्यौँ, हामीले । सबै क्लष्टरको काम प्रमुख जिल्ला अधिकारीले गर्ने बुझियो कि ? सम्बन्धित क्लष्टरको संयोजकले काम गर्न पायो ? औषधि लिएर गएको सहयोगी खाद्य सँकलन केन्द्र पुग्यो ! त्यो केन्द्रले औषधि बुझेन । उ रेडक्रसको बुथमा पुग्नुपर्ने कुराको समन्वय हुन सकेन । समन्वय क्लष्टर यसमा किन चुक्यो ? कि यो कुराको सुचना नै भएन ? यस्तोमा सबैले सबै काम गर्ने हैन । जिम्मेदारले मात्र गर्ने हो । यसमा हामी चुकेको देखियो ।
चीनले पनि ठुलो बाढी ब्यहोर्यो, यसपाली । तर उसको सुचना छताछुल्य भएन । काम अस्तव्यस्त भएन । समाचारमा आए अनुसार एक हप्तामा आपत्कालिन सडक नै व्यवस्थापन गर्न सक्षम भयो । उसको स्रोत पर्याप्त थियो, एउटा पाटो हो । तर यो भन्दा वढि व्यवस्थापन चुस्त थियो । तयारी राम्रो थियो । त्यहाँ SOP ले काम गर्यो । हामीले सिक्ने त्यो हो ।
हाम्रोमा कस्तो भयो ? गलत सुचनाको बाढी आयो । सबै समाजसेवी निस्के, विदेशि दातृराष्ट्रको सहयोगका लागि समययमै आव्ह्वान भएन । यस्तो बेला पल पलको महत्व हुन्छ । जीवन बचाउन । यसमा हामी कतै चुक्यौ की ! हामी सबै एक ढिक्का देखिन त देखियौँ, खासमा एक ढिक्का भएनौँ । छरपष्ट भयौँ । धेरैले धेरै कुरा गर्यौँ । समाचारको ट्रोल बनायौँ । सामाजिक सञ्जालामा राख्नै नहुने कुरा पनि टिआरपी बढाउने ध्यानमा राख्यौँ । छताछुल्ल । यसले धेरैलाई दुखायो । तर्सायो । डराउने बनायो । बुझ्दै नबुझि यस्ता कुरा सेयर गर्नु गैरजिम्मेदारीको पराकाष्टा हो । एक किसिमको अपराध हो । कतिले बुझ्यौँ । कतिले बुझेनौँ । यसमा हाम्रो सञ्चार क्लष्टरले काम गर्न पाएन कि ! काम गर्दा गर्दै चुक्यौ
यसको पनि गहन समिक्षा जरुरी छ ।
कसैले नाङ्गो बच्चाको फोटो सेयर गरेको छ ! सहानुभुतिका लागि ! अचम्म !
भनिन्छ–बिनासले बिकास पनि सँगै लिएर आँउछ । सकारात्मक सोँच्ने हो भने । आज हामीले बिकासको नयाँ थालनी गर्ने मौका पनि हो, यो ।
कसैले लासबाट गहना लुछेको फोटो सगर्व सेयर गरेको छ ! यो समाज कता जाँदैछ ? कसै ले एआई जेनरेटेड । कसैले फेरि ठुलो पहिरो भन्दै अन्यत्रैको भिडियो हाल्दै तर्साएको छ ! आतङ्क मच्चाएको छ । यो छाडापनले पराईका अगाडि हाम्रो हैसियत छताछुल्य नाङ्गियो । बैरी हाँस्यो । कानुन बनाउने मान्छे फ्रण्टलाईनमा जाने कहाँ लेखेको छ ? अझै उनिहरु कै ट्रोल बढी छ ! त्यो कामको जिम्मा स्वतन्त्र सुरक्षा निकायको हो । घटनाको द्रुत (IRA–Initial Rapid Assessment) लेखाजोखाको जिम्मा रेडक्रसको हो । यो एक द्वार हुनुपर्छ । अरु छेउका सहयोगि मात्र हुन् । हामीले किन यो बुझाउन सकेनौँ ? अबको बिस्तृत लेखाजोखा (MIRA–Multi Sectoral Initial Rapid Assessment) सम्बन्धीत क्लष्टरले गर्ने हो । आज सम्म त्यो लेखा जोखा भैसक्नु पर्ने हो । यो विषयमा हाम्रो अवस्था के छ ? अन्य क्लष्टर कति सक्रिय छन् ?
विपद्को बेला सही समन्वय हुन सकेन भने सबै भएर पनि केहि नभए जस्तो हुन्छ । सबै कुरा विदेशिले गरिदिँदैन । सहयोगको हात वढाउने मात्र हो । यस्तो कुरामा जहिले सम्म हामी व्यवसायिक हुँदैनौ; आपतको बेला सही समयमा हाम्रो उद्दार, राहत, पुनस्र्थापना सम्भव छैन । कथा मात्र हुन्छ ।
विपदमा शिक्षा नियमित जस्तो हुँदैन । त्यँहा व्यथा छ । कथा छ । बालबालिका आफन्तसँग विछोडिएका छन् । टाढिएका छन् । टुहुरा छन् । यस्तो बेला नियमित पाठ्यपुस्तकको पढाईको अर्थ हुँदैन । उनीहरु यसका लागि तयार हुँदैनन् पनि । उनीहरुलाई नियमित पढाईका लागि तयार पार्नुपर्छ । पहिले । खुशी तुल्याउनु पर्छ । पहिले । यसका लागि विषय फ्लेक्जिवल हुनुपर्छ । समय फ्लेल्क्जिवल हुनुपर्छ । त्यहाँ । खेल हुनुपर्छ । कथा हुनुपर्छ । गित हुनु पर्छ । नाच हुनुपर्छ । नियमित बालबालिकासँग राख्ने वित्तिकै पनि उनिहरु सिक्नका लागि तयार हुन्छन् भन्नु गलत बुझाई हो । उनिहरुलाई सिकाइका लागि तयार पार्नुपर्छ ।
यस्तो बिषयवस्तु तयार छ ? यसका लागि स्रोतव्यक्ति तयार छन् ? बालबालिकाहरुलाई विभिन्न विद्यालयले होस्टलमा राखेर पढाउन तयार छन् । सुन्नमा आएको छ । राम्रो कुरा हो । तर त्यहाँ पनि उनीहरुलाई माथि भनिएका पढाईको सुविधाको उपलव्धता हुन्छ भन्ने सुनुश्चितता छ ?
यो हुनुपर्छ । सकेसम्म बालबालिकालाई उनीहरुको समाजबाट बाहिर लान हुँदैन । यो मनोसामाजिक कुरा हो । मनको कुरा हो । भावनाको कुरा हो । बालबालिकाको पढाई प्रतिको रुची जगाउने कुरा हो । रुची नजगाई उनीहरुलाई समाजमा घुलमिल गराउन मुस्किल हुन्छ । यो पाटो महत्वपुर्ण छ । हामी कहाँ छौँ? यो बिषयमा ।
कोशि बाढीमा बगेर निस्के पछी फेरी बगरमै स्कुल बनाएका छौँ । हामीले । यसपाली बगेन । कुनै दिन अर्को प्रलयमा पर्न सक्ने निश्चित प्रायः छ । ०७२ को बारपाक भुकम्पमा पुनस्र्थापनामा हिसाब नगरी लाप्राक बनायौँ । अरवौँ खर्च गर्यौँ । त्यसको उपादेयता के भो ? आज लाप्राकमा घर मात्र छन् । बस्ति छैन । समाज बिहिन छ । बस्ति उही जोखिममा बसिरहेको छ । टालटुल गरेर । नेपालीहरु ज्याद्रा छन् । तितो कुरा हो । सत्य पनि हो । आज अर्को प्रलयले आक्रान्त हामी हिजोकै तालमा फेरी खोलामै भासिन्छौँ कि ! नयाँ सोच्छौँ ? यसमा जिम्मेदार निर्मम हुनुपर्छ । सुन्नु सबैको पर्छ । निर्णय लहडमा हैन । विद्वतामा हुनुपर्छ ।
भनिन्छ–बिनासले बिकास पनि सँगै लिएर आँउछ । सकारात्मक सोँच्ने हो भने । आज हामीले बिकासको नयाँ थालनी गर्ने मौका पनि हो, यो । आज हामी त्यो ठाँउमा पुगेका छौँ । सबै पुर्वाधारको डिपिआर बनाएर । नयाँ सिर्जनामा पुगेका छौँ । यो बिपद प्रतिरोधी हुनेछ । यो समावेशी हुनेछ । यो जात भातको हुनेछैन । यो मानवीय हुनेछ । यो नमुना हुनेछ । यो मौका हो । हामी यसलाई सदुपयोग गर्ने छौँ । यसको शुरुआत एकत्रित समाज भित्र बहुप्राविधिक स्कुल बाट शुरु गर्नेर्छौँ । देर होला । अव दुरुस्त हुनेछ । नकारात्मक भावना फैलाउनेलाई जिरो सहनशीलता अपनाएर कारवाही गर्ने छौँ। नयाँ नेपाल बनाउन सवै एक भयौँ भने एक जिल्लाले सय बिद्यार्थीको जिम्मा लिए हामीलाई बाह्य सहयोग नआएपनि राम्रो स्कुल बन्छ । राम्रो समाज बन्छ । राम्रो समाज बनाउने यो मौका राम्रो स्कुलको शिलान्यासबाट शुरु गरौँ ।
प्रतिक्रिया