Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

मातृभाषा संरक्षणमा बढ्दो चिन्ता

आइतबार, २१ माघ २०७४

काठमाडौं २१ माघ / चितवनकी अस्मिता श्रेष्ठलाई जन्मजात नेपाल भाषा बोल्न आउँदैन तर उनी आफ्नो माृतभाषा सिक्दैछिन् । पाटन दरबार क्षेत्रमा बसिरहेका बूढापाखासँग नेवारी भाषामा कुराकानी गरिरहेको अवस्थामा बुधबार अस्मिता भेटिइन् । उनी भन्छिन्, ‘नेपाल भाषा–संस्कृति नेवार समुदायको मात्र सम्पत्ति होइन, मुलुककै गहना हो ।’

लोप हँुदै गएका भाषालाई संरक्षण गर्नुपर्ने भन्दै उनले भनिन्, ‘नेपाल भाषाको महत्त्व बुझेर विदेशीहरू डलर खर्चेर मुलुकमा अध्ययन गर्नेको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ ।’

त्रिभुवन विश्वविद्यालयमा एमए पहिलो वर्षमा नेपाल भाषाको अध्ययन गरिरहेकी उनले नेवा: एमफम कीर्तिपुरबाट अन्य समुदायलाई पनि नेवारी भाषा सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । ‘पहिलो भागमा नेपाल भाषामा शरीरका अंगहरूलाई के–के भनिन्छ भन्नेबारेमा कार्यक्रम गर्ने योजना बनाएकी छु,’ उनले सुनाइन् । नेपाल भाषा बोल्न र सिक्न श्रेष्ठलाई सहकर्मी कीर्तिपुरकी विनीता खड्गीले साथ दिएकी थिइन् । खड्गी नेवा एफएममा कार्यक्रम सञ्चालिका हुन् । उनले नेपाल भाषा सिक्न इच्छुक गैरनेवार समुदायका व्यक्तिलाई एमफममार्फत बोलीचालीको भाषा सिकाउँदै आएकी छन् ।

दक्षिण दुर्गम पहाडी भेग प्युटारका प्रकाश थिङ तामाङ भाषाबाट प्रकाशन हुने ‘तामाङ डाजाङ’ साहित्यिकमासिकका व्यवस्थापक हुन् । थिङका अनुसार आर्थिक व्यवस्थान गर्न नसकेकाले अधिकांश तामाङ भाषाबाट प्रकाशित हुने पत्रपत्रिका बन्द भइसकेका छन् । ‘आफ्नो भाषा, धर्म र संस्कृति प्रेमीहरूको मायाले गर्दा डाजाङ जेनतेन सञ्चालनमा छ,’ उनले चिन्ता व्यक्त गरे, ‘भाषा मुलुकको सम्पत्ति हो तर राज्यले संरक्षणमा चासो दिएको छैन् ।’

सांस्कृतिक नेवारी पत्रिका ‘तिकि झ्या’ का सम्पादक रत्नकाजी महर्जनले भक्तपुर र ललितपुरभन्दा काठमाडौंमा नयाँ पुस्तामा नेपाल भाषा बोल्नको संख्या उल्लेखनीय रूपमा कम भएको बताए । सम्पादक महर्जनले पत्रपत्रिकामार्फत मात्र होइन आफ्नो घरमा पनि नेपाल भाषा अनिवार्य गरेका छन् । ‘नयाँ पुस्ताले नेपाल भाषा मात्र होइन, अन्य खस र अगं्रेजी सिकेर बहुभाषिक बन्नुपर्छ,’ उनले भने, ‘सरकारले मातृभाषा संरक्षण गर्न योजनाबद्ध तरिकाले अगाडि बढ्न अत्यन्त जरुरी भइसकेको छ ।’ उनले गुठियारको घर परिवारमा मात्र नभई देवाली, व्रतबन्ध, विवाहदेखि मृत्यु संस्कारसम्मका मातृ भाषा बोल्न छाडिसकेकोमा चिन्ता व्यक्त गरे ।

नेवा: पत्रकार राष्ट्रिय दबूले एक साताअघि पाटनमा मातृ भाषाद्वारा प्रकाशित हुने मुलुकभरका सञ्चार माध्यमलाई एउटै ठाउँमा जमघट गरे । मातृभाषाबाट प्रकाशित हुने पत्रपत्रिका उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले भेला आयोजना गरिएको थियो । जमघटमा वाम्बुले राई, लिम्बू, तामाङ, तमू (गुरुङ), वान्तवा (राई) भाषाबाट प्रकाशित हुने पत्रपत्रिकाका प्रतिनिधि उपस्थित थिए । मातृभाषा मुलुकको मात्र नभई विश्व मानव जातिको गहना भएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीले यसको संरक्षण प्रवद्र्धन गर्ने दायित्व अब स्थानीय सरकारमा आएको बताए ।

‘माृतभाषाद्वारा प्रशारण/प्रकाशन हुने पत्रपत्रिकाले भाषाको संरक्षण मात्र नभई प्रवद्र्धनपनि गर्छ,’ उनले भने, ‘स्थानीय सरकारलाई भाषिक पत्रिकाको बारेमा ध्यानाकर्षण गराउन जरुरी छ ।’ नेवारको छाता संस्थाका रूपमा नेवा: देय दबू छ । यो संस्थाअन्तर्गत नेवार जातिभित्रका २८ जातीय संस्था र संगठन सदस्य छन् । नेवा: दे दबूका अध्यक्ष नरेश ताम्रकारले भाषाको संरक्षण गर्न दबूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताए । ‘नयाँ पुस्ताले छोडदै गएको मातृभाषा बोल्न लगाउन राज्यले नीति नै बनाउन आवश्यक छ,’ उनले भने । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार मुलुकमा नेवारको संख्या १३ लाख २१ हजार ९ सय ३३ छ । जुन कुल जनसंख्याको ४ दशमलव ९ प्रतिशत हो । दबूको अध्यक्ष ताम्रकारले अहिले ३० प्रतिशतभन्दा बढीले मातृ भाषा बोल्न छाडिसकेको बताए ।

नेवारहरूको प्रमुख पहिचान गुठी परम्परालाई मानिन्छ । सामाजिक, धार्मिक, आर्थिकसँगै भाषिक सम्बन्धहरू गुठीअन्तर्गत सञ्चालन हुन्छन् । त्यसको मुख्य व्यक्ति थकाली हुन्छ । ताम्रकारले कतिपय गुठीका थकाली नै आफ्नो मातृ भाषा कम बोल्न थालेको बताए । सरकारले सूचीकृत गरेका ५९ आदिवासी छन् । प्रायको मातृभाषा लोप हुँदै गएका छन् । संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्नै लागेको छ । भाषाको स्थिति अध्ययन रहेर सरकारी कामकाजको भाषा तोक्ने जिम्मेवारी पाएको आयोगमाअझै सदस्य नियुक्ति भएको नभएको सरोकारवालाले चिन्ता व्यक्त गरे ।

कान्तिपुरबाट

प्रतिक्रिया