Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

पालिकामा खटिएका शिक्षाका कर्मचारीको प्रश्न : 'अछुत' भनेर बासै दिन्नन् कसरी बसौं ?

आइतबार, ११ चैत्र २०७४

कैलाली - पालिकामा शिक्षा विभाग प्रमुखको जिम्मेवारी पाएका विद्यालय निरीक्षक वीरबहादुर नेपालीले 'अछुत' भनेर बास समेत नपाउँदा आफूले काम गर्न नसकेको गुनासो गरेका छन् । धनगढी उप–महानगर र चुरे गाउँपालिकाको शिक्षा विभाग हेर्ने गरी जिम्मेवारी तोकिएका नेपालीले गाउँपालिकामा बास समेत नपाउँदा काम गर्न नसकेको दावी गरेका छन् ।

चुरेको अलाडमा रहेको पालिका कार्यालय वरीपरी ब्राम्हण समुदायको बस्ती छ । ओझा बाहुनको बस्ति रहेको उक्त गाउँमा आफूलाई सार्की भनेर बासै नदिने अवस्थाले गर्दा बसेर काम गर्न नसकेको उनले एडुखबरसँग गुनासो गरे ।

'मलाई धनगढी र चुरेको जिम्मेवारी दिने वित्तिकै मैले चुरे जान नसक्ने बताएको हुँ, तर त्यो निर्णय अहिले सम्म सच्याईएन' नेपालीले भने,  'धनगढीमा त मेरो आफ्नै घर छ, यहाँ समस्या भएन, काम गरिरहेकै छु, तर चुरेको अवस्था विल्कुल फरक छ ।'

गत मंसिरमै चुरेमा खटाइएका नेपाली गाउँपालिकामा नहुँदा  शिक्षा सम्बन्धि गरिने कामकाज जटिल बन्दै गएको छ । तर, तत्काल गर्नु पर्ने काम भए विहान जाने दिन भरी काम गरेर राती अवेर भए पनि घरै फर्कने गरेको उनले बताए । यस विचमा पालिकामा नेपालीकैै उपस्थितीमा चार वटा बैठक बसेको छ ।

'खटिएको कर्मचारी नहुँदा काममा प्रभाव परेको त मलाई पनि थाह छ, तर के गर्ने अवस्था नै फरक छ' उनले भने 'म नहुँदा श्रोत ब्यक्ति मार्फत् दैनिक काम सञ्चालन गर्न भनेको छु ।'

श्रोत व्यक्ति नवराज अवस्थी मार्फत् अन्य काम सञ्चालन भईरहेको उनले बताए ।

'जिम्मेवारी त मेरै हो, मैले जसरी पनि पुरा गर्नु पर्छ त्यो मलाई थाह छ' उनले भने 'तर सामाजिक अवस्थाका बारेमा जानकारी नराखी हल्ला गर्नेहरु बढ्न थाले पछि मैले चुरेमा अर्को ब्यवस्था गर्न लिखित रुपमै विभागमा आग्रह गरेर पत्र पठाएको छु ।'

जिल्ला शिक्षा कार्यालयमा रहेका तीन विद्यालय निरिक्षकहरु धरम सिंह ऐर, प्रताप धामी र गणेश राज मिश्र मध्ये एकलाई चुरेको जिम्मेवारी तोकिदिदाँ हुने गरी ब्यवस्था गर्न आफूले विभागमा सुझाव दिएको पनि उनले बताए ।

मिश्र सरले त ईच्छा पनि देखाउनु भएको छ, त्यही ब्यहोरा खुलाएर मैले विभागमा पत्राचार गरेको छु, नेपालीले भने, चैत २८ पछि जिशिका नै नरहने हुँदा त्यस अघिनै निर्णय भई दिए हुन्थ्यो भन्ने लागेको छ ।

विभेदको भुक्तमान

सुदुर पश्चिमको बझाङ्, शिक्षा र चेतनाका हिसावमा पिछडिएको ठाउँ । ५ दशक अघिको समाज जातीय विभेदको चरम भुक्तमानमा हुर्केको एक विद्यार्थी एसएलसी पास भए पछि उच्च शिक्षाका लागि २०४१ सालमा काठमाडौ पुग्छ । उसले सोचेको थियो, देशको राजधानी, शिक्षा र चेतनामा अघि रहेको ठाउँमा पुगेपछि त पक्कै यस्ता विभेद सहनु पर्दैन ।

तर उल्टो भयो । सार्की भन्ना साथ कोठै पाउन मुस्किल । विरानो ठाउँ झन् धेरै भुक्तमान ।

'आफ्नो थर बताए त खान बस्नै नपाउने भएपछि मैले काठमाडौंमा धेरै झुट बोलेँ' विगत सम्झदैं नेपाली भन्छन्, 'जात थरको कुरा आएपछि के के भन्दै टार्नुको विकल्प हुन्थेन ।'

०४६ सालमा स्नताक र ०४९ सालमा स्नताकोत्तरु सकेपछि ०५१ सालमा अछामबाट नायव सुव्वाका रुपमा उनको सरकारी सेवा शुरु भयो ।

उनलाई फेरी आशा जाग्यो, अब त सरकारी कर्मचारी भईयो विभेद सहनु पर्दैन ।

यहाँ पनि सुल्टो भएन !

जागिरकै सिलशिलामा गाउँ घर पुग्दा आफू संगै गएका सहकर्मी र आफूलाई छुट्टै भात भान्सा र ओच्छ्यानको बन्दोबस्त उनले धेरै भोगे, खपे ।

'विभागबाट हाकिमसावहरु सहित सुदुर पश्चिमका जिल्लाहरुमा जाँदा मेरा लागि छुट्टै भात भान्सा र ओच्छ्यान तयार भएको देख्ने सरहरु अझै सेवामै हुनुहुन्छ' उनले भने, 'कतिपय ठाउँमा त यस्ता विभेद हटाउन सकिन्छ की भनेर सरहरुसँगै खाने बस्ने गरेर पनि देखाईयो तर, अझै पनि सुधार हुन सकेन ।'

देशमा गणतन्त्र आयो, काठमाडौंको सिंहदरबार गाउँ गाउँमा पुग्यो । तर राजनीति जुन रफ्तारमा अघि बढ्यो, राजनीतिक दल र नेताहरुले सामाजिक सोच र चिन्तनमा परिवर्तनको अभियान छेड्न सकेनन् ।

'मुहानमा भएको फोहर नै हटेन' नेपाली भन्छन्, 'जातीय विभेदको कुरा आयो भने सांसद मन्त्रीहरु घुमाउरो भाषा प्रयोग गर्नु हुन्छ, अनी समाजमा कसरी परिवर्तन आउँछ ?'

पछिल्लो भोगाइले बदलिन नसकेको समाजमा भोग्नु पर्ने भुक्तमान कहिले सम्म हो यसै भन्न सक्ने अवस्था नरहेको नेपाली बताउँछन् । 

चुरेमा पुगेको सिंहदरबारमा बसेर शिक्षाका काम गर्नु पर्ने एक जना सरकारी कर्मचारी यो भुक्तमान र भोगाइमा छ भने हामीले ल्याएको राजनीतिक परिवर्तनले समाजमा के प्रभाव पारेछ ? गम्भीर भएर सोच्नु पर्ने देखिएको छ  । र, संगै अर्को कुरा स्थानीय तहमा कर्मचारीको खटन पटन अघि प्रशासनिक कुरा मात्रै सोच्ने की सामाजिक अन्तर्य पनि बुझ्ने ? राज्य सञ्चालकहरु माथि यो प्रश्न निकै पेचिलो र जटिल बनेर उभिएको छ ।

प्रतिक्रिया