भक्तपुर - यस वर्षको कक्षा १० को अन्तिम परीक्षा आउँदो चैत १९ देखि २९ गते सम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डले तय गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । जस अनुसार पहिलो दिन अनिवार्य अँग्रेजी र दोश्रो दिन अनिवार्य नेपालीको परीक्षा हुने छ ।
२२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ए्ेच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्धितीय विषयका परीक्षा हुने छन् । २७, २८ र २९ गते प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका कारण यस बर्षको परीक्षा केही दिन पछि सारिएको हो । निर्वाचनको लागि आवश्यक मतपत्र र परीक्षाको प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रबाटै छाप्ने तय भए पछि परीक्षाको समय सार्नु पर्ने बोर्डका अधिकारीहरुले तर्क गर्दै आएका थिए । यस अघिका बर्षमा प्राय चैत पहिलो साता परीक्षा हुँदै आएको थियो । गत बर्ष पनि चैत ७ गतेबाट परीक्षा सञ्चालन गरिएको थियो ।
यस बर्ष परीक्षा दिन पाँच लाख १७ हजार विद्यार्थीले आवेदन भरेको बोर्डले जनाएको छ । गत बर्ष गतको परीक्षामा नियमित तर्फ चार लाख २१ हजार पाँच सय ८५ र ग्रेड वृद्धि तर्फ ७५ हजार पाँच सय ३९ जना विद्यार्थी सहभागी भएका थिए ।
२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरे पनि बोर्डले पुरानै ढाँचामा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । ऐनले विद्यालय शिक्षाको संरचना बदलेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरे पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नाममा यो परीक्षालाई साविकको एसएलसीकै जस्तो निरन्तर राखिएको छ ।
ऐनमा विद्यालयको अन्तिम परीक्षा कक्षा १२ मा हुने व्यवस्था छ । ऐनको दफा ४ ट को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ । तर तदनुरुप संरचना निर्माण गर्न शिक्षा मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व सहित बोर्डका अधिकारीहरु ईच्छुक नहुँदा परीक्षाको उही शैली बर्षौ देखि निरन्तर छ ।
यो परीक्षाका नाममा हुने आर्थिक गतिविधि र यही परीक्षाको नतिजाका आधारमा निजी विद्यालयहरुले गर्दै आएको व्यापारको 'जञ्जाल' चिर्न राज्य अक्षम हुँदा यो परीक्षा निरन्तर राखिएको भन्दै आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया