Edukhabar
आइतबार, २८ मंसिर २०८२
विचार / विमर्श

मेरा गणितका गुरू !

शनिबार, १७ चैत्र २०७४

७ वर्ष निजी विद्यालयमा पढाएर शिक्षणको समेत अनुभव लिएका कवि हुन्, शरद पोख्रेल। त्यसो त उनको कुनै संग्रह प्रकाशित छैन, तर विभिन्न पत्रपत्रिकामा उनका फुटकर कविता कथा लेख गजल प्रकाशित छन् । दाङको घोराही उपमहानगरपालिका २ रामपुरमा पुष्पा र नवराज पोख्रेलका सन्तानका रुपमा २०४६ सालमा जन्मेका उनी हाल जापान बस्छन् । बसाई जहाँ भए पनि भोगाईले नै कविलाई जीवन्त राख्ने बताउने उनले शिक्षण र शिक्षकसँग सम्बन्धित भएर लेखेको कविता यो साताको शिक्षा साहित्यमा :

 

मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
ए र बि का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउँदा कैयौँ चोट पाएका थिए यी हातले
कैयौँ मुर्गा बनाइएका थिए चौरमा
कैयौँ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौँकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो

तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म ?
बाको रसिला आँखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?

'माइनस्' 'माइनस्' 'प्लस' हुने सुत्रमा
'दु:ख' 'दु:ख' 'सुख' हुन नसकेर फेरि 'दु:ख' नै हुनु पर्ने
'आँसु' 'आँसु' 'हाँसो' नभएर पुन 'आँसु' नै हुनु पर्ने
यो कुन नियम हो
जो मलाई सिकाउँदै सिकाइएन ।

ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एङ्गल एङ्गलमा नापियो
तर जिन्दगी त  हजारौँ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहस्य र जालझेलका करोडौँ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एङ्गल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तैँले यसरी पनि बाँच्नु पर्छ भनी ।

सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिँडेको
लाहुरेको गरूंगो पाइलाको ओएट (भार) कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाँको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आँसु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन् ?

मेरा गणितका गुरू !
मलाई माफ गर्नुहोस् है
तपार्इंको गणितमा जसोतसो उत्तिर्ण भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले उत्तारित पनि हुन नसकेर
लत्तारित भैरहेको छु।

गुरू !
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है !

प्रतिक्रिया