Edukhabar
मंगलबार, ०३ भदौ २०८२
खबर/फिचर

भर्ना अभियानको दोस्रो चरण, घर–घर पुगेर भर्ना गरिने

सोमबार, २१ जेठ २०७५

काठमाडौं - पहिलो चरणको भर्ना अभियानमा छुटेका बालबालिकालाई विद्यालय भित्र्याउन सरकारले घर–घर पुगेर सर्वेक्षण फाराम भरी बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने अभियान शुरु गर्ने भएको छ । आईतबार बसेको मन्त्री परिषदको बैठकले दोस्रो चरणको भर्ना अभियान शुरु गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय भित्र्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई लक्षित गरी नयाँ कार्यक्रम शुरु गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए । उक्त अभियान अन्र्तगत कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने, सबै प्रदेशका सामाजिक विकास मन्त्री र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरुको बैठक राखेर बालबालिकाहरुलाई भर्ना गराउने कार्यक्रम गर्ने योजना छ । प्रत्येक घर–घर पुगेर सर्वेक्षण फाराम भर्ने, अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्गताको प्रकृति हेरी स्रोत कक्षा सञ्चालन भएका नजिकका विद्यालयमा भर्ना गराउने र तराईका जिल्लाहरुमा स्वयं सेवक परिचालन गरी बिशेष अभियान सञ्चालन गर्ने तयारी रहेको शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।  

सरकारले हालै सार्वजनिक गरेको बजेटमा पनि विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान उल्लेख गरेको छ । उक्त अभियानलाई सफल बनाउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।
विद्यालय बाहिर रहेका ३ लाख १३ हजार २ सय ९८ मध्ये पहिलो चरणको भर्ना अभियानको क्रममा २ लाख ५६ हजार ५ सय ५६ विद्यार्थी विद्यालय भित्रिएको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय आउन बाँकी रहेका ५९ हजार ७ सय ३३ बालबालिकालाई पनि बिद्यालयमा ल्याउने उद्येश्यले दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो ।

“एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व” भन्ने नाराका साथ शुरु गरिएको पहिलो चरणको अभियानमा प्रधानमन्त्री, मन्त्री सहित राजनीतिज्ञ, जनप्रतिनिधि, कलाकर्मी लगायत राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुले विद्यालय जान नपाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।

प्रतिक्रिया