काठमाडौं - स्वास्थ्य शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने गरी जारी अध्यादेश अनुसार नै विधेयक ल्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
सांसद दिलेन्द्रप्रसाद वडुले दर्ता गरेको प्रस्तावको समर्थकमा अतहर कमाल मुसलमान र पार्वती डिसी चौधरी छन् । प्रस्तावमा स्वास्थ्य र शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने गरी जारी भएको अध्यादेश अनुसार नै विधेयक ल्याउन माग गरिएको छ । यसका लागि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न उक्त प्रस्तावमा माग गरिएको छ ।
आफ्नो उक्त प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख कृष्णबहादुर महराले संसद नियमावली उदृत गर्दै सम्बन्धित मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए पनि काँग्रेस सांसदहरुले विरोध जारी राखेपछि सभामुखले बोल्ने समय दिएका थिए । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको अवस्था गम्भीर भएको भन्दै शुक्रबार नै छलफल गर्नु पर्ने माग गरे ।
संसद बैठक आधा घण्टाको लागि स्थगित गरिएको सभामुखले घोषणा गरेका छन् ।
अध्यादेशमा भएको ब्यवस्था कटाएर संसदमा पेश भएको विधेयकमा आफू अनुकलका ब्यक्तिको लगानीका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रपञ्च गरिएको भन्दै सरकारको चौतर्फि विरोध जारी छ ।
अपडेट
आधा घण्टाका लागि स्थगित भएर शुरु संसद बैठकमा समेत काँग्रेस सांसदहरुले उक्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै बैठक अबरुद्ध गरेका छन् । काँग्रेस सांसद बडुले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा पनि सरकारको ध्यानाकर्षण नभएको भन्दै आपत्ति जनाए । डा. केसीको स्वास्थ अवस्था प्रति सरकार गम्भिर नभएको भन्दै उनले कडा आपत्ति समेत जनाए ।
सभामुख महराले उक्त प्रस्ताव प्रति सदन र सरकारको ध्यानाकर्षण भाएको र सम्बन्धित मन्त्रीसँग थप परामर्श गरेर अर्को दिनको बैठकमा कार्यसूचीमा पर्ने बताए पनि काँग्रेस सांसदहरुले उभिएर विरोध जारी राखे । उक्त प्रस्तावमा छलफल नभएसम्म संसद चल्न नदिने भन्दै काँग्रेस सांसदहरु उभिएर विरोध जनाए पछि बैठक स्थगित भएको छ । अर्को बैठक सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया