Edukhabar
आइतबार, ३० कार्तिक २०८२
खबर/फिचर

सत्ताधारी दलका विद्यार्थी र युवा भन्छन् - निजी कलेजलाई राष्ट्रियकरण गर !

आइतबार, ०६ साउन २०७५

काठमाडौं - सत्ताधारी दलका विद्यार्थी तथा युवा संगठनहरुले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् । चिकित्सा शिक्षाका बेथिती विरुद्ध अनसनरत प्रा.डा. गोविन्द केसीका पक्षमा समर्थन बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टि आवद्ध युवा र विद्यार्थी संगठनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

संविधानले अंगिकार गरेको समाजवाद उन्मुख ब्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संबैधानिक ग्यारेण्टिको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामूखि ट्रष्टमा रुपान्तरण गर्न उनीहरुको माग छ । 

तत्कालिन नेकपा एमाले निकट युवा संघका अध्यक्ष रमेश पौडेल र विद्यार्थी संगठनकी अध्यक्ष नविना लामा तथा तत्कालिन माओवादी निकट पाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्ले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । 

उच्च स्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी स्वास्थ्य शिक्षामा देखिएका समस्याको दिर्घकालिन समाधान गर्न माग गर्दै उक्त विज्ञप्तिमा सबै प्रदेशमा सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल हुनु पर्ने तथा चिकित्सा शिक्षाको छात्रबृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदायमा आधारित बनाई पारदर्शि ढंगले वितरण गर्न माग गरिएको छ । 

यसैगरी विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा हुँदै आएको बन्द हड्तालमा प्रतिबन्ध लगाउँदै सेवा नदिने अधिकारीलाई कारवाहीको माग समेत गरिएको छ । संसदलाई छलफल र निकासको साझा थलो बनाउन माग गर्दै विज्ञप्तिमा आयोग मार्फत् समस्या निरुपण हुने भएकोले केसीसँग वार्ता गरी अनसन स्थगित गर्न माग गरिएको छ । 

केसीको आन्दोलनमा भएको समर्थनलाई राजनीतिक घुसपैठ, अराजकता र दण्डहिनताको संज्ञा दिदैं उक्त अवस्थाको अन्त्य गर्न माग गरिएको छ । यसैगरी विद्यार्थी तथा युवाले विभिन्न प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका ईन्स्टिच्युटलाई छानविन गरी कारवाहीको माग गरिएको छ ।  

 

प्रतिक्रिया