Edukhabar
आइतबार, ३० कार्तिक २०८२
खबर/फिचर

करारमा शिक्षक भर्ना गर्दै पालिका, स्थायी आएपछि हट्ने

सोमबार, ०७ साउन २०७५

भक्तपुर - सूर्यविनायक नगरपालिकाले करारमा शिक्षक भर्ना गर्न आवश्यक परीक्षा सञ्चालन गरिरहेको छ । पालिका भित्र रहेका विद्यालयहरु मध्ये ४ वटामा शिक्षक नियुक्तिको प्रकृया शुरु गरिएको हो । ती विद्यालय मध्ये २ वटामा यस अघि नै लिखित र अन्तर्वार्ता सकेर शिक्षक नियुक्ति गरिसकिएको छ भने २ वटामा सोमबार लिखित परीक्षा भएको छ । 

नङ्खेलका श्रीराम आधारभूत विद्यालय र भूवनेश्वरी माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति गर्न सोमबार लिखित परीक्षा लिईएको हो । यी दुई विद्यालयमा १ १ जना शिक्षक करारमा नियुक्त हुने छन् । 
भगवती आधारभूत विद्यालय चित्तपोल र बाल चेतना आधारभूत विद्यालयमा यस अघिनै सबै प्रकृया सकेर १ १ जना शिक्षक नियुक्त गरिसकिएको छ ।

यी चार वटै विद्यालयमा प्राथमिक तहका शिक्षक नियुक्तिका लागि प्रकृया सञ्चालन गरेको पालिकाकी पूर्व शिक्षा शाखा प्रमुख सविता दंगालले बताईन् । पालिकाले पारित गरेको ऐन नीयम भित्र बसेर शिक्षक नियुक्तिका लागि प्रकृया शुरु गरेको उनले बताईन् । शिक्षक सेवा आयोगले खोलेको विज्ञापनबाट स्थायी शिक्षक नियुक्त भई आए पछि अहिले करारमा नियुक्त शिक्षकहरु स्वतः हट्ने उनले बताईन् । 

'शिक्षकको अभावमा विद्यार्थीको पठन पाठन अवरुद्ध नहोस् भनेर पालिकाको  ऐन नियममै भएको ब्यवस्था अनुसार शिक्षक नियुक्तिको प्रकृया शुरु गरेका थियौं' हालसालै उपसचिवमा बढुवा भएर शिक्षा मन्त्रालयमा हाजिर गर्दै आएकी दंगालले भनिन्, 'आयोगले खोलेको विज्ञापनको सबै प्रकृया सकिन ६ महिना १ बर्ष पनि लाग्ला त्यतिञ्जेल सम्म विद्यार्थीको पठन पाठन रोक्ने भन्ने कुरा त भएन, त्यसैले शिक्षक नियुक्तिको प्रकृया शुरु भएको हो ।'

प्रतिक्रिया