Edukhabar
आइतबार, ०१ भदौ २०८२
खबर/फिचर

विधेयक संसदीय प्रक्रियामा, शिक्षा मन्त्रीद्धारा प्रस्ताव

आइतबार, १३ साउन २०७५

काठमाडौं - चिकित्सा शिक्षा विधेयक संसदीय प्रकृयामा गएको छ । आईतबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यस लगत्तै उक्त प्रस्ताव माथि भएको छलफलमा  सत्तारुढ र विपक्षी दुवै दलका सांसदहरुले भाग लिएका थिए । 

चिकित्सा शिक्षाका बेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा गोविन्द केसीसँग सरकारले गरेको सहमती अनुसार उक्त विधेयक  संसदीय प्रक्रियाबाट अघि बढेको हो । केसी र सरकारबीचको सहमतिपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि प्रतिनिधि सभाममा सैद्धान्तिक छलफल सुरु भएको छ ।  

उक्त सैद्धान्तिक छलफल पछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका छन् । उक्त विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पारित गरेसँगै साउन १६ गते बुधबार बस्ने गरी बैठक स्थगित भएको छ । 

यस अघि अध्यादेशमा भएको ब्यवस्था काटेर आफ्ना निकटका ब्यक्ति पोस्ने गरी विधेयक ल्याएको भन्दै डा. केसीले सत्याग्रह शुरु गरेका थिए । २७ दिन लामो उनको सत्याग्रह पछि सरकारले केसीसँग सहमती गरेको थियो । सोही सहमतीका आधारमा विधेयक पारित गर्ने गरी संसदीय प्रकृया शुरु भएको हो । 

यस अघि छलफलमा भाग लिदैं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीलाई ‘हत्यारा’ को संज्ञा दिईन् ।

सांसद चौधरीले छलफलमा भाग लिदैं भनिन्, ‘डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’

डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको भन्दै उनलाई हत्यारा भनेकी हुन् । कांग्रेस सांसद डिला संग्रौलाले चौधरीको अभिव्यक्ति प्रति नियमापत्ति गरेकी थिईन् । तर सभामुख महराले ‘बोल्न दिनुस्’ भनेपछि चौधरी उल्टै संग्रौला माथि खनिएकी थिईन् । 

‘कुन नियमले आपत्ति गर्दै हुनुहुन्छ ?’ चौधरीले झेक्किदैं संग्रौलालाई भनिन् ‘उहाँहरुले गर्न चाहेको चाहिँ ठीक, सरकारले गर्न चाहेको चाँहि बेठिक ? यो कुरा हेक्का राख्नुस्, तपाईहरुकै पालामा उब्जिएको समस्या हो ।’
डा. केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको ज्यान गएको भन्दै उनले यस्ता घटनाको जिम्मेवारी कांग्रेसले लिन्छ कि गोविन्द केसीले ? भन्दै प्रश्न गरिन् । 

प्रतिक्रिया