म्याग्दी - बाढिले बगाएको धवलागिरि आधारभूत विद्यालय भवन पुर्ननिर्माण गर्ने मेलो मेसो नपाए पछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्वुजा पुन दुई दिन यता वेचैन भएका छन् । संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत त गर्यो तर न श्रोत छ न त जनशक्ति ! उनी अन्यौलमा परेका छन् ।
तत्कालका लागि रेडक्रसले उपलब्ध गराएको १० वटा त्रिपाल टाँगेर सुरक्षित ठाउँमा अस्थायी कक्षा कोठा निर्माण गरिएको छ । पालिकाले ३ लाख रुपैंया सम्म खर्च गरेर विद्यालय सञ्चालनको वातावरण बनाउने निर्णय भएको उनले बताए । जनप्रतिनिधि र स्थानीय बासिन्दा मिलेर टहरा निर्माण भएको छ ।
'तर, यो त अस्थायी कुरा भयो, स्थायी रुपमा कसरी पक्कि विद्यालय भवन बनाउने ? हामीसँग त कुनै श्रोत छैन' उनले भने, 'म मगरको छोरो पढ्न नपाएको पिडा छ, त्यसैले मेरो क्षेत्रका बालबालिकाले शिक्षा पाउनु पर्छ भनेर शिक्षालाई प्राथमिकतामा त राखेको छु , तर यस्ता विपत्ति आईलाग्दा केही नै पो गर्नै सकिने रैन्छ ।'
विद्यालय सँगै आमा समूहको भवन बगायो, मन्दीर बगाउन ठिक्क पारेको छ । ९ घरका बासिन्दा जोखिममा छन् । तर अधिकार सहितको स्थानीय सरकारका प्रमुख पुन भने हार गुहार गर्दै सिडियोलाई भेट्न जिल्ला सदरमुकाम ओर्लेका छन् !
'सिंहदरवारको अधिकार आँगनमै आयो भनेर हल्ला गरियो, तर बाढिले मान्छेको बासै उठायो, न उनीहरुलाई घर बनाउन सहयोग गर्न सकिन्छ न बगाएको एउटा विद्यालय बनाउन नै, हल्ला र गफ मात्रै पो भएको रहेछ' एडुखबरसँग दुखेसो पोख्दै उनले भने, 'म त फौजि मान्छे ठ्याक ठ्याक काम गर्नु पर्छ भन्ने सोच्ने तर यत्ति समेत गर्न नसक्ने हालत देख्दा मलाई त रुन मात्रै पो आउँछ ।'
यही बेचैनी बोकेर उनले प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन र संघीय संसदका सांसद भुपेन्द्र थापालाई समेत हार गुहार गरेको जनाए । स्थानीय सरकारले मात्रै गरेर संरक्षण र रोकथाम हुने नदेखिएको भन्दै उक्त जानकारी गराएको उनको भनाई छ ।
'२-४ सय बाँडेर र सँधै चन्दाबाट कसरी सिंहदरबार गाउँमा आउँछ ?' प्रश्न गर्दै उनले भने, 'एक बर्ष वितिसक्यो काम गर्ने कर्मचारी समेत पुरा पठाएको छैन, कर्मचारी ८० जना चाहिने हो तर अहिले १७ जना मात्रै छन्, त्यही पनि सबै सँग अनुभव छैन ।'
वेनीबाट मुस्ताङको झम्सुङ् जाने बाटोमा सञ्चालन हुने ठूला मालवहाक गाडि र हाईड्रो पावरका गाडिहरु चल्दा नदी छेउको बाटा थप भासिने र नदीको वहावमै प्रभाव पर्ने देखिएको उनले बताए । अन्नपूर्ण पदमार्गमा पर्ने कोप्चेपानीको बाटो कोरोला नाका सम्म पुग्छ ।
गत बुधबारको बाढीले उक्त पालिकाको वडा नम्बर ४ कोप्चेपानीमा रहेको धवलागिरि आधारभूत विद्यालय बगाएको थियो । निरन्तर वर्षाका कारण नदीले धार परिवर्तन गरेको थियो । उक्त बदलिएको धारमै नदीको बाढी बगेपछि भएको कटानले ६ कोठे भवन सहितको २० विद्यार्थी अध्ययनरत विद्यालय बगाएको हो ।
पढ्नुहोस् : बाढीले बगायो विद्यालय
कोप्चेपानी सहित पालिका भित्रका नदी तटीय क्षेत्रका गुईंठे, आगम लगायतका बस्तिमा पनि बाढिको त्रास कायमै रहेको पुनले बताए ।
प्रतिक्रिया