काठमाडौं - गुम्बा मार्फत् हुँदै आएको पठन पाठन प्रति राज्यले वेवास्ता गरेको आरोप लगाउँदै सत्ताधारी दलकै सांसदले सरकारको ध्यानाकर्षण गरेकी छन् । शक्तिशाली बुद्ध जन्मेको ठाउँ भनेर नेपालको विश्वमा फैलिएको परिचय स्मरण गराउँदै राष्ट्रिय सभामा नेकपाकी सांसद यूटोल तामाङ्ले राज्यले बौद्ध धर्मावलम्बीलाई 'अछुतै' मान्ने गरेको आरोप पनि लगाईन् ।
'गुम्बामा शिक्षा दिने गुरुहरुको लागि नेपाल सरकारबाट के उपलब्ध छ ? तलब दिएको छ की के दिएको छ ?' मंगलबारको बैठकमा विशेष समयमा बोल्दै उनले प्रश्न गरिन्, 'बौद्ध धर्मावलम्विहरुको शिक्षामा पहुँच पुर्याउन गुम्बा शिक्षाका बारेमा के सोचेको छ सरकारले ? बालबालिकाहरुको पठन पाठन, खाजा र छात्रवृत्तिमा के गर्दै छ सरकार ?'
देशलाई वहु साँस्कृतिक भने पनि देशमा धार्मिक शासन रहेको भन्दै उनले सरकारले गुम्बाहरुलाई योजना दिन नमानेको गुनासो पनि गरिन् । सरकारले धार्मिक शोषण गरिरहेको भन्दै सांसद तामाङ्ले ०७२ सालको भुकम्पले काठमाडौं रसुवा सिन्धुपाल्चोकको २५ २६ सय गुम्बा भत्काए पनि अझै पुर्ननिर्माण गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरिन् ।
'न सरकारले सुन्यो न सांसदले सुन्यो, गुम्बा भनेको धार्मिक ठाउँ मात्रै हैन शिक्षा दिने ठाउँ पनि हो, त्यहाँ ५ सय देखि ६ हजार सम्मको विद्यार्थीले पठनपाठन गरेको छ, पालेको छ' उनले भनिन् 'शिक्षा नियमावलीमा पनि गुम्बा धर्मको शिक्षाका बारेमा विद्यार्थीको छात्रवृद्धिको ब्यवस्था गरोस् भनेर ध्यानाकर्षण गर्न चाहन्छु ।'
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकमा सांसदले उठाएका सवालमा सम्बन्धित मन्त्री मार्फत् जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया