काठमाडौं - शिक्षा तथा स्वास्थ संसदीय समिति अन्र्तगतको उपसमितिको बैठकमा सांसदहरु नै नआए पछि १ घण्टा कुरेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेल फर्केका छन् । चिकित्सा शिक्षा विधेयकका बारेमा छलफल गर्न आवश्यक रहेको भन्दै बिहबिार विहान सवा १० बजेका लागि उपसमितको बैठक तय गरिएको थियो । तर सवा ११ बजे सम्म पनि सांसद नआए पछि मन्त्री फिर्ता भएका हुन् ।
बुधबार बसेको समितिको फुल बैठकले विहीबारको बैठक तह गरेको थियो । जहाँ उपसमितिमा रहेका ११ मध्ये ५ जना सदस्य उपस्थित थिए । तर अघिल्लो दिन उपस्थित मध्ये बिहीबारको बैठकमा खगराज अधिकारी र एकवाल मियाँ मात्रै उपस्थित भए ।
बुधबारको बैठकमा चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनका आधारमा मात्रै किन हुनु पर्ने ? भन्दै सत्ताधारी दलकै सांसदहरुले प्रश्न उठाएका थिए ।
पढ्नुहोस् : सांसदको प्रश्न : माथेमाकै प्रतिवेदन ३२ गुणले युक्त कसरी भयो ?
सांसदहरुको उक्त प्रश्नले विधेयकको विषय थप पेचिलो बन्ने छनक दिएको थियो । बिहीबारका लागि बैठक तय गर्दा उपस्थित सांसदनै बैठकमा नआए पछि उक्त छनक पुष्टि भएको छ । तर सांसदहरु नआए पछि बैठकमा कोरम नपुगेको समितिकी सभापति जयपुरी घर्तीले बताईन् ।
'यसमा शंका गर्नु पर्ने कुरा छैन, सांसदहरु नआए पछि बैठक बस्न सकेन' घर्तीले भनिन् 'मलाई रिपोर्ट आए अनुसार सांसदहरु कोही बाहिर जानु भएको छ रे कोही अन्य काममा ब्यस्त हुनु भएको छ रे ।'
तर बैठक तय गर्दा उपस्थित सांसद समेत किन नआएका ? भन्ने प्रश्नमा घर्तीले आफूलाई थाह नभएको बताईन् ।
सांसदहरु अञ्जना विंशेखे, भैरवबहादुर सिंह, योगेश कुमार भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगन कुमार थापा र चित्रलेखा यादव बैठकमा आएनन् । उनीहरुलाई बुधबार नै खबर गरेको समितिको कार्यालय श्रोतले जनाएको छ ।
उपसमितिले प्रतिवेदन तयार पारेर मंसिर २ गते बस्ने समितिको बैठकले टुङ्ग्याएर संसदमा दर्ता गर्ने समितिले कार्यतालिका तय गरेको थियो । तर, उपसमितिको बैठकनै बस्न नसकेपछि उक्त काम कहिले हुने भन्ने अन्यौल भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रका वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा. डा. गोविन्द केसीले विधेयक संसद्बाट पास गर्न ढिलाइ भए फेरी सत्याग्रह गर्ने चेतावनी दिदैं आएका छन् ।
फाईल फोटो
प्रतिक्रिया