काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी भएको निधनमा शोक मनाउन सरकारले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक विदाको निर्णय गरेको हो । यो निर्णय सँगै बिहीबार देशभरका शैक्षिक संस्था सहित कार्यालयहरु विदा हुने छन् । देशभर र विदेश स्थित कूटनीतिक नियोगहरुमा विदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने पनि मन्त्रीपरिषद्को निर्णय छ ।
घटनालाई अकल्पनीय, अप्रत्यासीत र दुःखद भन्दै मन्त्रीपरिषद्ले उक्त घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको बताएको छ ।
बुधबार दिउँसो ताप्लेजुङमा भएको दुर्घटनामा मन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार ७ जनाकै निधन भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको हो ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षण पछि मन्त्री अधिकारी सहितको टोली पाथीभरा देवीको दर्शनमा गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
उक्त अकल्पनीय दुर्घटनामा मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुवदास भोछीभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको हो ।
खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी मन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार सबैको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को आकमिस्क बैठकले दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित चार सदस्यीय समितिमा सहायक रथी दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् । समितिलाई यथाशिघ्र सुझाव सहितको प्रतिवेदन बुझाउन निर्देशन दिईएको छ ।
प्रतिक्रिया