Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

आन्दोलनका नाममा पठन पाठन बन्द नगर्न आग्रह

मंगलबार, २४ कार्तिक २०७२

ललितपुर २४ कात्तिक / आन्दोलनका नाममा विद्यालय बन्द हुँदा बालबालिकाहरुको पढ्न पाउने अधिकार कुण्ठित भएकोे भन्दै शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले विद्यालय सञ्चालनको वातावरण बनाउन सम्बद्ध सबैमा अपील गरेको छ । संविधान जारी भए लगत्तै तराई आन्दोलनका कारण ८४ दिनदेखि विद्यालयहरु बन्द छन् ।

बालबालिकाहरुको पढ्न पाउने अधिकार कुण्ठित भएकोे भन्दै अभियानले विभिन्न अन्र्तराष्ट्रिय मञ्चहरुमा नेपालले गरेका प्रतिवद्धता स्मरण गर्न सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।

नेपालको संविधान सहित संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि, विद्यालय शान्तिक्षेत्र राष्ट्रिय कार्यढाँचा र कार्यान्वयन निर्देशिका लगायत अन्य नीतिहरुले सुरक्षित र भयरहीत वातावरणमा पढ्न पाउने अधिकारको प्रत्याभूति गरेको छ ।

बालबालिकालाई कुनै पनि प्रकारको र कुनै वहानामा द्धन्द्धको हिस्सेदारी बनाउन नहुने तथा उनीहरुको शिक्षा पाउने अधिकारलाई प्रत्याभूत गर्न माग गर्दै अभियानका अध्यक्ष राजकुमार गन्धर्वद्धारा जारी विज्ञप्तिमा शिक्षाको पहुँचमा हुने रोकावटले बालबालिकाहरु विद्यालय बाहिर रहने संभावन रहने तर्फ सजग गराईएको छ ।

'बन्द, हड्तालले सिर्जना गरेको हिंसात्मक वातावरणले एकातिर बाल मनोविज्ञानमा नकारात्मक असर पारेको छ भने अर्कोतिर बालबालिकाहरु सधैंको लागि विद्यालय बाहिर हुने जोखिमलाई बढावा दिएको छ'  विज्ञप्तिमा भनिएको छ, 'बालबालिकाहरुको भविष्यप्रति खेलवाड भएको र उनीहरुको मानव अधिकार तथा शिक्षा पाउने अधिकार हनन् भएको ठहर गर्दै जस्तोसुकै अवस्थामा पनि विद्यालय सञ्चालन गर्ने वातावरणको निर्माण गर्न सबै पक्षसँग माग  गर्दछौं ।' अभियानले बालबालिका तथा बिद्यालय शान्तिक्षेत्र हुन् भन्ने आम मान्यताको सम्मान गर्न पनि आग्रह गरेको छ ।

शिक्षा नियमावलीले तोके अनुसार वर्षमा कम्तिमा पनि २ सय २० दिन विद्यालय सञ्चालन भएको हुनुपर्छ । तर तराईमा जारी आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन अभावका कारण पठन  पाठनमा समस्या हुँदै आएको छ ।

विद्यालय बन्दका कारण उब्जिएको समस्याका बारेमा राष्ट्रिय मानव अधिकार आयोगले अन्र्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराईसकेको छ ।

आयोगद्धारा स्थिती पत्र सार्वजनिक, नाकाबन्दीले शिक्षाको अधिकार हनन् भयो

यस अघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यूनेस्को सम्मेलनमा पनि आन्दोलन र नाकाबन्दीका कारण पठनपाठनमा भईरहेको समस्याका बारेमा अन्र्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराईसकेका छन् ।

शिक्षामन्त्री भन्छन् “छिमेकीका कारण पठनपाठन अवरुद्ध भयो”

प्रतिक्रिया