पोखरा - शैक्षिक सत्र पर धकेल्ने शिक्षा मन्त्रालयको निर्णयलाई वडा तहबाट पनि अवज्ञा शुरु भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर २१ ले सोमबारबाट भर्ना अभियान शुरु भएको घोषणा गरेको छ । यस्तै बुधबारबाट नयाँ शैक्षिक सत्रको औपचारिक पठनपाठन शुरु गर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र शुरु गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुको माग आएपछि सोमबार बैठक राखेर वडाले उक्त निर्णय गरेको हो । शैक्षिक सत्र समयमा शुरु हुन नसक्दा सयौं अभिभावक र विद्यार्थी अन्योलमा रहेको र बारम्बार गुनासो आईरहेकोले यस्तो निर्णय गरेको वडाध्यक्ष दिपक प्रसाद सुवेदीले बताए ।
'लामो समय विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयहरु झन् कमजोर हुने, विद्यार्थी निजी तिर जाने भन्दै प्रअ र अध्यक्ष ज्यूहरु आउनु भयो त्यसैले हामीले विद्यार्थीको हितलाई ध्यानमा राखेर शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेका हौं' उनले भने ।
वडामा १३ वटा सामुदायिक, एक निजी र एक गुठिबाट सञ्चालित विद्यालयमा एक हजार हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।
वैशाख २ देखि शुरु हुने शैक्षिक सत्र १५ मा सार्नुको तात्विक कारण नदेखिएको भन्दै विभिन्न स्थानीय सरकारहरुले भर्ना अभियान र पठनपाठन शुरु गर्न थालेको खबरहरु आईरहेका बेला वडा तहबाटै शिक्षा मन्त्रालयको निर्णयको अवज्ञा शुरु भएको हो ।
मन्त्रालयले कारण नखुलाई शैक्षिक सत्र पछाडि सार्दा निजी विद्यालयले विद्यार्थी तान्ने र भर्ना गर्ने अवसर पाउने र सार्वजनिक विद्यालयमा विद्यार्थी घटाउने नियत राखेको भन्दै विज्ञहरुले आलोचना गरेका छन् । शैक्षिक सत्र पछाडि सार्ने शिक्षा मन्त्रालयको निर्णय संविधानले निर्दिष्ट गरेको विद्यालय स्थानीय सरकार मातहत हुने व्यवस्था प्रतिकुल रहेको भन्दै आलोचना भईरहेको छ । यस्तै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय पनि संविधान र संघीयताको मर्म एवम् देशको भौगोलिक विविधता र आवश्यकतालाई विचार नगरी हचुवामा गरेको भन्दै विज्ञहरुले आलोचना गरिरहेका छन् । अमेरिका इरान युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असन्तुलनलाई कारण देखाउँदै शुरु गरिएको दुई दिने विदा विद्यालयका हकमा उपयुक्त नहुने विज्ञहरुको तर्क छ । विद्यार्थी ओसार्न बसको प्रयोग नै नहुने कतिपय पालिकामा पनि समान नियम लगाउनुको साटो पालिकाले आफ्नो भौगोलिक अवस्था र आवश्यकताका आधारमा शैक्षिक गतिविधि गर्न सक्ने संवैधानिक प्रवन्धको विपरित भन्दै आलोचना भएको हो ।
प्रतिक्रिया