Edukhabar
मंगलबार, २९ बैशाख २०८३
गतिविधि

शिक्षा मन्त्रालयले गर्‍यो पठनपाठनको कार्यघण्टा निर्धारण

प्रार्थना र खाजा समय कटौती, बर्खे र हिउँदे बिदा ३० दिन सहित ६ बुँदे सर्कुलर

मंगलबार, २९ बैशाख २०८३

काठमाडौ - नयाँ शैक्षिक सत्र शुरु भएको एक साता पछि शिक्षा मन्त्रालयले दुई दिने बिदाको कारण पठनपाठनमा हुने क्षती व्यवस्थापनका लागि कार्यघण्टा निर्धारण गरेको छ । मन्त्रालयले गरेको निर्णयलाई ६ बुँदामा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यालयहरु, स्थानीय तह र जिल्लाहरुलाई सर्कुलर गरेको छ । 

अब प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गर्ने र हिउँदे र बर्खे बिदा अवधि ३० दिन कायम गर्ने निर्णय भएको छ । यस अघि उक्त बिदा ४५ दिन हुँदै आएको थियो । 

यसैगरी पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्नलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका

'१२ दिनलाई उपयोग गर्ने तय गरिएको छ । स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा समुदाय एवम् परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य शुक्रबार दिने र आवश्यकता अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गर्ने' केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्यले गरेको सर्कुलरमा उल्लेख छ ।

परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२ बाट समेत सहयोग लिन सकिने छ । यसका लागि स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटी परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने जनाईएको छ ।  

नयाँ सरकार गठन सँगै सरकारले गत चैत २२ गते साताका शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयले पाठ्यघण्टा नपुग्ने भन्दै कतिपय पालिकाले यस अघि नै साताको ६ दिन नै पठनपाठन गर्ने निर्णय गरिसकेका छन् । 

प्रतिक्रिया