Edukhabar
शनिबार, २७ असार २०८३
खबर/फिचर

पूर्व मन्त्रीको कलेजमा क्रान्तिकारीद्धारा तोडफोड

विहीबार, ०९ पुस २०७२

काठमाडौं - राजधानीको मध्यबानेश्वर स्थित एपेक्स कलेजमा विप्लब निकट अखिल क्रान्तिकारीले बिहीबार बिहानै तोडफोड गरेको छ । तोडफोडबाट कलेजका झ्यालका सिसा फुटेका छन् भने केही डेस्क बेञ्चमा समेत क्षति पुगेको छ ।

कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालको समेत शेयर रहेको भनिएको उक्त कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै तोडफोड गरेको संगठनले जनाएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स कलेजले भूकम्पपीडित विद्यार्थीलाई छात्रबृत्ति नदिएको तथा आफूहरुसँग यस अघिनै भएको सम्झौता पालना नगरेको भन्दै कारवाही गरिएको संगठनका केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालयका संयोजक हरिश भट्टले बताए ।

गत साउन महिनामा अखिल क्रान्तिकारीले एमबिए तहमा शुल्क बढाउन नहुने मुख्य माग सहित ८ बुँदे मागहरु कलेजमा पेश गरेको थियो । आफ्ना मागहरु पुरा नगरे पछि यो कदम उठाउन बाध्य भएको उनले बताए ।
कलेजले हाल एमबिए तहमा ५ लाख ६० हजार शुल्क लिने गरेको त्यो घटाउनुपर्ने मुख्य माग क्रान्तिकारीको थियो ।

प्रकाशित मिति २०७२ पुस ९ गते

प्रतिक्रिया