Edukhabar
शुक्रबार, २१ बैशाख २०८१
खबर/फिचर

शिक्षा सचिवमा श्रेष्ठ : मालपोतको खरिदार देखि शिक्षा सचिव सम्म

विहीबार, १६ भदौ २०७३

- श्रीधर पौडेल / काठमाडौं - शिक्षा मन्त्रालयको सचिवमा शान्तबहादुर श्रेष्ठ नियुक्त भएका छन् । यस अघि प्रधानमन्त्री कार्यालयमा रहेका श्रेष्ठलाई बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शिक्षामा सरुवा गरेको हो । शिक्षा सचिव भए संगै श्रेष्ठले शिक्षा क्षेत्रको नियमन तथा सामुदायिक शिक्षाको गुणस्तरीयता अभिवृद्धिमा ध्यान दिने बताएका छन् ।

'शिक्षा भनेको सामाजिक क्षेत्र हो, यसमा राज्यको दायित्व महत्वपूर्ण छ' उनले भने, 'सामुदायिक शिक्षा गुणस्तरीय नहुँदा यहाँ धनी र गरीबको शिक्षा भने जस्तो भएको छ, त्यसैले सबैलाई गुणस्तरीय शिक्षा कसरी प्रत्याभूत गर्ने भन्ने तर्फ मेरो ध्यान केन्द्रित हुने छ ।'

अहिले शिक्षामा गरिने लगानी ८० बर्ष पछिको लागि हो भन्ने मान्यतामा लगानीलाई सही क्षेत्रमा केन्द्रित गर्नु आवश्यक रहेको उनको भनाई छ । भर्खरै जारी भएको शिक्षा ऐनका लागि आवश्यक नियमावली निर्माण, समग्र शिक्षा क्षेत्रको नीयमन तथा भूकम्पका कारण क्षतीग्रस्त विद्यालय भवन पुर्ननिमाण आफ्नो प्राथमिकतामा रहने उनले बताए ।

तनहुँ गजरकोट गाविसमा २०१८ सालमा जन्मेका श्रेष्ठ २०३७ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ् पोखरा स्थित मालपोत कार्यालयमा भएको थियो ।

०४१ सालमा नायव सुब्बा, ०४३ सालमा अधिकृत, ०५३ सालमा उपसचिव, ०६० सालमा सहसचिव र ०६९ सालमा सचिवमा बढुवा भएका श्रेष्ठसँग शिक्षा मन्त्रालय अन्र्तगतका कुनै पनि निकायमा काम गरेको अनुभव भने छैन ।

सचिव भएको ४ बर्षमा उनी सबै भन्दा पहिला स्थानीय विकास र त्यस पछि स्वास्थ्य मन्त्रालयमा सचिव थिए । पछिल्लो समय उनी प्रधानमन्त्री कार्यालयमा थिए । प्रधानमन्त्री कार्यालयमा हुने सचिवलाई निजामतीमा जगेडाका रुपमा हेर्ने गरिन्छ ।

उमेर हदका कारण तत्कालिन शिक्षा सचिव विश्वप्रकाश पण्डितको अवकाससँगै गत साउन पहिलो साता देखि शिक्षा मन्त्रालय निमित्त सचिवको भरमा थियो ।

नयाँ सरकार गठन भए संगै शिक्षा मन्त्री धनिराम पौडेलले उनै जगेडाका सचिव श्रेष्ठलाई मन्त्रालयमा सचिवका रुपमा भित्र्याएका छन् । मन्त्रीले अब खाली भएका शिक्षा विभागको महानिर्देशक, परीक्षा बोर्डका सदस्य सचिब, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सीटीईभीटीका सदस्य सचिवको नियुक्ति गर्ने छन् ।

विभागका महानिर्देशक खगराज बराल र बोर्डका सदस्य सचिव डा. लवदेव अवस्थीको सचिबमा बढुवा भएसँगै उक्त निकाय प्रमुख विहीन भएका छन् । बोर्डमा अध्यक्षको नियुक्ति भने लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित समितिले गर्ने सिफारिसका आधारमा हुने छ । सीटीईभीटीका सदस्य सचिव डा. रामहरी लामिछाने कोलम्बो प्लानमा छनौट भएर राजिनामा दिएसँगै सीटीईभीटी पनि सदस्य सचिव विहीन छ ।

उक्त निकायहरुमा नियुक्ति र सरुवाका लागि मन्त्री आन्तरिक जोड घटाउमा ब्यस्त छन् भने कर्मचारी पनि आआफ्नो पुहँच प्रदर्शनमा ब्यस्त छन् ।

बिहीबारको मन्त्री परिषद् बैठकले केही सचिवको सरुवा संगै सहसचिव पूर्णचन्द्र भट्टराईलाई सचिवमा बढुवा गरेर सामान्य प्रशासन मन्त्रालयमा खटाएको छ । सरुवा हुने सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  सचिव शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ भने अख्तियारमा उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई पठाइएको छ ।

त्यस्तै गृह मन्त्रालयमा अर्थ सचिव लोकदर्शन रेग्मीलाई पठाइएको छ । गृह मन्त्रालयका सचिव नारायण प्रसाद मलेगोलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई स्थानीय विकास मन्त्रालयमा पठाइएको छ । स्थानीयका महेन्द्रमान गुरुङ्लाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति २०७३ भदौ १६ गते

प्रतिक्रिया