Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

‘छाक टार्न गाह्रो छ, कसरी पढाउँ

सोमबार, ०५ असार २०७४

काठमाडौं ५ असार/ बारेकोट गाउँपालिका २ लिम्साकी मनसरी रोकायाले आठ वर्षअघि जिल्लामा महामारीको रूपमा फैलिएको झाडापखालाबाट पति गुमाउनु परेको पीडा अहिले पनि भुल्नुभएको छैन । पति गुमेपछि मनसरीको जीवनमा ठूलो बज्रपात परेको छ । दुई नाबालक छोराको पठनपाठन र लालनपालनको सम्पूर्ण जिम्मेवारी उहाँमाथि आइलाग्यो । दैनिक गुजरा चलाउनसमेत उहाँको परिवारलाई धौधौ परिरहेको छ ।
२०६६ साल जेठ २ गते पति मानबहादुरको मृत्यु हुँदा मनसरी २४ वर्षकी हुनुहुन्थ्यो । उपचारको अभावमा ३२ वर्षको उमेरमा पतिको मृत्यु हुँदा जेठो छोरो ४ र कान्छो छोरो २ वर्षका थिए । सम्पत्तिको नाममा पाखो बारी मात्र थियो । त्यसले खानलाउन नपुग्ने र बच्चालाई पनि पढाउनुपर्ने भएपछि आफू कामको खोजीमा भौतारिँदै रुकुम पुगेको उहाँको भनाइ छ । ‘त्यहाँ एउटा बोडिर्ङमा काम गर्दै छोराहरू पढाउन थालेको थिएँ । त्यहीँ जेठो छोरो आशीष बिरामी पर्‍यो । रुकुममा उपचार हुन सकेन । छोरालाई काठमाडौं लानुपर्‍यो', उहाँले भन्नुभयो, ‘ऋण गरेर छोराको उपचार गराएँ ।
त्यसपछि जाजरकोट सदरमुकाम आएर गुजराका लागि ज्याला मजदुरी गर्न बाध्य छु । कहिले गिट्टी कुट्छु । कहिले ज्याला मजदुरी गरेर छोरालाई पढाइरहेकी छु । जेठो सात कक्षामा पढ्छ । कान्छो दुईमा पढ्छ । कापी, कलम र विद्यालयको शुल्क तिर्न नसकेर हैरान छ ।' पेट पाल्नै गाह्रो छ, म यी छोरालाई कसरी पढाउँ ? ' उहाँले भन्नुभयो, ‘यिनीहरूलाई आफ्नै खुट्टामा टेक्ने बनाउन पाए पति वियोगको पीडा कम हुने थियो । छोराहरूलाई पढाउन कसैले सहयोग गरिदिए ठूलो राहत हुने थियो ।'
छोराको उपचारमै गाउँमा रहेको सम्पत्ति सकिएको उहाँको भनाइ छ । सदरमुकाममा कोठा भाडामा लिएर बस्नुभएकी उहाँले दैनिक गुजरा चलाउन निकै समस्या परिरहेको बताउनुभयो । ‘दुई छाक खान र यी दुई छोरालाई पढाइ खर्च जुटाउन निकै संघर्ष गर्नुपरेको छ', उहाँले भन्नुभयो, ‘मेरो पनि शरीर हो, दैनिक मजदुरी गरेर कतिदिन गुजरा चल्ला र ? ' दुःख, पीडा र अभावले ३२ वर्षको उमेरमै उहाँलाई बुढ्यौलीले छोप्न थालिसकेको छ । जवानीमै विधवा हुनुपरेको पीडा एकातिर छ, त्यसमा पनि गरिबीले गर्दा बिहान बेलुकाको छाक टार्न र छोराको पढाइ खर्च जुटाउन नसक्नुको पीडाले उहाँलाई थप पिरोलिरहेको छ ।
सरकारले झाडापखाला पीडित परिवारलाई दस हजार रुपैयाँका दरले राहत दिएको थियो तर उहाँले राहत रकमसमेत नपाएको गुनासो गर्नुभयो । ‘अरू सबैले राहत पाए । मैले पनि राहतका लागि निवेदन दिएकी थिएँ तर दिएनन् । मेरा लागि बोलिदिने कोही भएन', उहाँले गुनासो पोख्दै भन्नुभयो ।
२०६६ सालमा महामारीको रूपमा जाजरकोटमा फैलिएको झाडापखालाबाट तीन सयभन्दा बढीको ज्यान गएको थियो । ज्यान गुमाउनेमा दलित, जनजाति र विपन्न समुदायका मानिस थिए । अधिकांश पीडित परिवारको अवस्था एकदमै नाजुक छ । दैनिक घर व्यवहार चलाउन मुस्किल छ तर राज्यका तर्फबाट अहिलेसम्म कुनै सहयोग ती परिवारले पाएका छैनन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया